आयात–निर्यात अन्तर अधिक, व्यापार घाटा झन्डै ४ खर्ब
काठमाडौं : नेपालीको महान् चाड दसैं, तिहार र छठको मध्य महिना असोजसम्म आयात र निर्यात दुवै सुधार भएको छ । चालु आवको ३ महिनासम्म मुलुकले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
निर्यातमा गत आवभन्दा सुधार भएर वृद्धिदर ८९.६७ प्रतिशत देखिए पनि रकमका आधारमा भने आयातको आकार ठूलो छ । गत आवको तुलनामा विभिन्न मुलुकबाट नेपालले १९.७९ प्रतिशतले बढी अर्थात् ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने ७२ अर्ब ७८ करोड रुपैयाँको मात्रै भएको छ ।
यसरी आयातको तुलनामा निर्यातको आकार अन्तर अधिक हुँदा मुलुकको व्यापार घाटा अझै ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको छ । यस्तो व्यापार घाटा गत वषर्कको ३ महिनाको अवधिमा १२.१८ प्रतिशतले बढेको छ । गत आवको ३ महिनामा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । अघिल्ला वर्षहरूमा सरकारले आयातमा नियन्त्रण गरेका कारण तत्कालीन समयमा व्यापार घाटा घटेको देखिए पनि मुलुकबाट बाहिरिने वस्तुहरूको तुलनामा भित्रिने अधिक हुँदा व्यापार घाटा चुलिएकै थियो ।
कृषि उपजका वस्तुको आयात उच्च
भन्सार विभागको तथ्यांकलाई केलाउने हो भने, स्वदेशमै उत्पादन हुने कृषि उपजका वस्तुहरूको आयातसमेत उच्च छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म तरकारी मात्रै ८ अर्ब ६४ करोड २८ लाख ६१ हजार रुपैयाँको आयात भएको छ । सो अवधिमा तरकारीको निर्यात ३५ करोड ३५ लाख ६१ हजार रुपैयाँ बराबरको भएको देखिन्छ ।
यसैगरी, सोही अवधिमा खाद्यान्न मात्रै १२ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ बराबरको आयात भएको छ । तर, आयातको तुलनामा खाद्यान्नको निर्यात भने धेरै कम अर्थात् ३ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको मात्रै गरेको छ ।
प्रायः आयातमा सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थको छ । चैतसम्म पेट्रोलियम पदार्थ ६६ अर्ब ८७ करोड रुपैयाँ बराबरको भित्रिएको थियो । यसपछि दोस्रो बढी आयातमा वनस्पति, जीवजन्तुको घिउ/तेल ४० अर्ब २७ करोड रुपैयाँ बराबर आयात भएको छ । यस्तै, तेस्रो ठूलो आयातमा इलेक्ट्रिकल मेसिनरी तथा उपकरण र त्यसका पार्टपुर्जा रहेका छन् । यसको ३ महिनामा ३४ अर्ब १३ करोड रुपैयाँ बराबरको नेपाल भित्रिएको छ ।
चौथो बढी आयातमा फलाम र स्टिल रहेको छ । ३ महिनामा उक्त वस्तु मात्रै ३३ अर्ब ५५ करोड रुपैयाँ बराबरको भित्रिएको छ । यसपछि बढी आयातको पाँचौ स्थानमा सवारीसाधन देखिन्छ । यस अवधिमा २९ अर्ब ३३ करोड रुपैयाँ बराबरको सवारीसाधनको आयात भएको छ ।
सुन आयातमा उल्लेखनीय वृद्धि
सुनको मूल्य बढेसँगै पछिल्लो समय सुनको आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ६ सय ५ किलो सुन आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११४.६९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को सोहि अवधिमा १ सय १३.५ किलो सुन आयात भएकोदेखिन्छ । हुन त नेपाल राष्ट्र बैंकले सुनको खपत बढी हुने सिजन आएसँगै दैनिक सुनको आयात कोटा बढाएर २५ किलो पुर्याएको छ ।
यसअघि दैनिक २० किलो सुन मात्रै आयात गर्न पाउने व्यवस्था थियो । यसले गर्दा व्यवसायीहरूले सुन अभाव भएको गुनासो गर्दै आएका थिए । अहिले दैनिक कोटा बढाएका कारण पनि सुनको आयातमा बढोत्तरी आएको हुन सक्छ । तथापि, पछिल्लो समय सुनको मूल्य उच्च दरमा बढिरहँदा पनि माग भने घटेको छैन । यस हिसाबले पनि आयातमा उल्लेखनीय वृद्धि भएको हुन सक्छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा महालेखाको सुझाव
वैदेशिक व्यापारको प्रसंगमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि अर्थतन्त्रको विकासका लागि स्वदेशी लगानी, श्रम, सीप र कच्चा पदार्थमा आधारित राष्ट्रिय उद्योगधन्दाको संरक्षण र प्रवर्धन गर्नै सुझाव दिएको । यसका लागि निर्यात प्रवर्धन हुने गरी वस्तु तथा सेवाको मूल्य अभिवृद्धि गराई आयात व्यवस्थापन गर्न सुझाव दिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘अर्थतन्त्रको बलियो आधार स्थानीय अर्थतन्त्र भएकाले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन हुने, उच्च मूल्य अभिवृद्धि हुने, स्थानीय उत्पादनका लागि परम्परागत ज्ञान र सीप तथा स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योगका लागि वित्तीय उत्प्रेरणासहितको उत्पादन वृद्धिमा जोड दिने नीति तथा कार्यक्रम ल्याउनुपर्दछ ।’
वैदेशिक मुद्रा आर्जनको स्रोतमा आशातीत विस्तार हुन नसकेको र बढ्दो आयातको अवस्थाले शोधनान्तर स्थितिमा चाप पर्न गएकाले व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्ने गरी वित्तीय तथा मौद्रिक नीति लागू गर्नुपर्ने समेत औंल्याएको छ ।
प्रतिक्रिया दिनुहोस !