देशलाई निकास दिन निर्वाचनमा जानैपर्छ : कांग्रेस नेता थानी
वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता हृदयराम थानीले मुलुकको निकासका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन्। संसद विघटनपछि गृह जिल्ला सुर्खेत आएका कांग्रेस नेता थानीले पत्रकारहरूसँगको भेटघाटमा मुलुक अहिले जटिल अवस्थाका रहेको बताउँदै त्यसको निकास निर्वाचनको विकल्प नरहेको बताएका हुन्।
उनले लोकतन्त्रमा निर्वाचनबाट कुनै पनि राजनीतिक दलहरू भाग्न नहुने भन्दै नेपाली कांग्रेस आगामी फागुन २१ गते तोकिएकै समयमा निर्वाचनमा जान तयार रहेको बताए। उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो। निर्वाचनबाट भाग्न कसैले मिल्दैन। बरु वर्तमान सरकारले तोकिएकै समयमा निर्वाचन गर्न सफल होस्। त्यसका लागि दलहरूले वर्तमान सरकारलाई सहयोग गर्नु आवश्यक छ। यदि तोकिएको समयमा निर्वाचन हुन नसकेपछि मुलुक थप जटिलतातिर धकेलिने समस्या छ। त्यसो हुन दिनु हुँदैन।’
उनले निर्वाचन भन्दा अगाडि नै नेपाली कांग्रेसको पनि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए। उनले भने, ‘हरेक दलमा युवाहरूले उठाएको नेतृत्व परिवर्तनको सवाललाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ। नेपाली कांग्रेसले पनि तत्काल नेतृत्व परिवर्तन गर्नका लागि पार्टीको विधान अनुसार नियमित महाधिवेशन गर्नुपर्छ। त्यस विषयमा पार्टीको केन्द्रीय समितिको बैठकले आवश्यक निर्णय लिनेमा हामी विश्वस्त छौँ। अहिलेकै नेतृत्वमा पार्टी अगाडि बढ्न सक्दैन।’
नेता थानीले पार्टीमा उठिरहेको विशेष महाधिवेशनको सवालले पार्टी फुटको अवस्थामा पुग्ने हल्ला निराधार रहेको बताए। उनले भने, ‘नेपाली कांग्रेसको आफ्नै विशेषता छ। यो पार्टी भित्र भएका बहस र छलफलबाट पार्टी फुटको अवस्थामा पुग्दैन। यस विषयमा पार्टीका महामन्त्रीहरूले पनि सार्वजनिक रूपमा बोलिसक्नु भएको छ। पार्टीमा आफ्ना विचारहरू राख्ने र छलफलको विषय बनाउने कुरा स्वाभाविक हो। त्यसलाई कांग्रेस फुट्ने कुराको कल्पना गर्नु ठीक होइन।’ उनले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताए।
कांग्रेस नेता थानीले जेनजी पुस्ताहरूले उठाइरहेका सवालहरू भ्रष्टाचार नियन्त्रण र सुशासन जायज रहेको बताए। उनले भने, ‘जेनजी पुस्ताले उठाएका सवालहरू ठीक छन्। हामीले पनि विगतदेखि संसदमा वा समितिमा अहिलेकै अवस्थामा मुलुक अगाडि बढ्न सक्दैन भनेर भनेकै हो। अख्तियार ऐन बनाउँदा होस्, अन्य ऐन निर्माण गर्दा मुलुकमा सुशासन कायम गर्ने कुरा र जनअपेक्षा अनुसार काम गर्ने कुरा गम्भीर रूपमा उठाएकै हो। तर ती कुराहरू आफ्नै पार्टीको सरकारले सुनेन। वास्तवमा वर्तमान असफल नेतृत्वकै व्यवहार र कार्यशैलीका कारण आज मुलुक यो अवस्थामा आएको हो।’
प्रतिक्रिया दिनुहोस !