पर्यटकको पर्खाइमा हात्ती छहरा
भीमेश्वर नगरपालिका-७ को साखिनेदेखि झण्डै साढे चार किलोमिटरको सडक यात्रा पार गरेपछि घना वनको साँघुरो बाटो हुँदै एक घण्टा ३० मिनेटको पैदलयात्राले यात्रुहरूलाई एक अद्भूत दृश्यमा पुर्याउँछ। त्यो हो, हात्ती छहरा।
भीमेश्वर नगरकै सबैभन्दा अग्लो मानिने यो छहरा सातवटा मुहानबाट बग्ने पनि मिसिएर छाँगा बनी झरेको छ। सृष्टिले बनाएको एक सुन्दर कलाकृति जस्तो देखिने हात्ती छहराको उचाइ १५० मिटरभन्दा बढी रहेको अनुमान गरिएको भीमेश्वर नगरपालिका-७ का वडाध्यक्ष विनोद तामाङले बताए।
झरनाबाट बग्ने पानी स्वच्छ र पिउन योग्य मानिन्छ। छहराबाट निस्कने आवाज, वरिपरिको हरियो डाँडाकाँडा र धूवाँजस्तै पानीका फोहोराहरूले यहाँ पुग्ने जो–कसैलाई मोहित पार्छ। छहरालाई ‘हात्ती छहरा’ भन्ने नाम एक रोचक किंवदन्तीमा आधारित छ। झरना बग्ने ढुंगाको आकार हात्तीको सुँडझैँ देखिने भएकाले यो नाम रहेको स्थानीयहरूको भनाइ छ।
साखिनेदेखि छहरा पुग्ने बाटो आफैंमा रमाइलो अनुभव हो। बाटामा हरियो घनाजंगल, भीरमौरी, मृग, घोरल, थारजस्ता जङ्गली जनावरहरू देख्न सकिन्छ। डाँफे, मुनाल, कालिज जस्ता रंगीन पन्छीहरू पाइने वडाध्यक्षको भनाइ छ।
हात्ती छहरामा घुम्न सबैभन्दा उपयुक्त समय असोजदेखि कात्तिक मानिन्छ। यो समयमा मौसम खुला, बाटो सुरक्षित र झरनाको सौन्दर्य पूर्ण रूपमै देख्न सकिन्छ। वर्षातमा पानी अत्यधिक बग्ने भएकाले झरना झनै शक्तिशाली देखिन्छ भने हिउँदमा पानी केही सुक्ने गर्दछ।
यद्यपि यस्तो सुन्दर प्राकृतिक सम्पदा अझै पर्याप्त रूपमा चिनिएको छैन। उपलब्ध प्राकृतिक सौन्दर्यलाई पर्यटनको दृष्टिले विकास गर्न पानीका मुहानहरूको संरक्षण, पदमार्ग सुधार, दिशा सूचक बोर्डलाई व्यवस्थित गर्न स्थानीय निकायको ध्यान जान आवश्यक रहेको छ।
प्रतिक्रिया दिनुहोस !