बेमौसमी वर्षाले किसानलाई नोक्सानी, नार्कले दियो जोगिने तरिका
काठमाडौं : बर्सेनि बेमौसमी वर्षाका कारण किसानहरूले वर्षभरिका लागि लगाएको बाली भित्र्याउने बेलामा नोक्सानी बेहोर्नुपरेको छ। यसका लागि पूर्वतयारीदेखि थुप्रै सतर्कता अपनाउन सरकारका सम्बन्धित निकायहरूले ध्यानाकर्षण गर्दै आएका छन्। तर, सम्बन्धित किसानसमक्ष यस्ता सूचना समयमा नपुग्दा थुप्रै हानि बेहोर्नुपरेको छ। यसपटक भने किसानलाई उत्पादन जोगाउन नेपाल कृषि अनुसन्धान परिषद्ले बालीअनुसारको सुरक्षा अपनाउन सुझाव दिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वजानकारी अनुसार कात्तिक १३ गते दिउँसोदेखि १५ गते बिहानसम्म बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ। ‘उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ,’ विभागले ध्यानाकर्षण गरेको छ, ‘कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना समेत छ।’
हालैको विश्लेषणअनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार विशेष गरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी’ र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।
यसकारण वर्षाको सम्भावना भएका क्षेत्रहरूका कृषकहरूका लागि राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र (नार्क)ले सूचना जारी गर्दै किसानहरूलाई विशेष प्राविधिक सल्लाह दिएको छ। जसअनुसार वर्षाको समयमा कृषि कर्महरू गर्दा ध्यान दिन भारी वर्षा/हिमपातको समयमा खेतबारीमा काम नगर्न भनिएको छ। यदि गर्ने परेमा वर्षा/हिमपातबाट जोगिन विशेष सावधान अपनाउन अनुरोध गरिएको छ।
भारी वर्षाको सम्भावना भएका स्थानहरूमा पाक्न लागेका धान खेतहरूमा, तरकारी बाली तथा फलफूल बगैंचाहरू पानी निकासको उचित व्यवस्था गर्न भनिएको छ।
नार्कका अनुसार वर्षा वा हिमपात भइरहेको समयमा मल वा गोठे मल प्रयोग गर्दा मलको क्षति वा चुहावट हुन सक्ने भएकाले माटो हल्का सुक्खा भएपछि मात्रै मल हाल्नुपर्छ। ‘साथै, सबैखाले विषादीहरू प्रयोग गर्नु भएन। खास गरेर नदी, खोला छेउमा स्थित संरचनाहरू (कृषि फार्म, संरक्षित संरचना) बाढीको जोखिममा पर्न सक्ने, सम्भव भएसम्म भण्डारणमा रहेका खाद्यान्न तथा अन्य सामग्रीहरू सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्छ,’ नार्कले सुझाएको छ।
पाकेको धानबाली जोगाउने तरिका
बीउका लागि धानको बाला छुट्याउनुपर्ने भएमा मौसमको अवस्था हेरी वर्षा हुनुअगावै बाला छुट्याई ओभानो ठाउँमा राख्न नार्कले सुझाएको छ। यसैगरी, काटेर खेतमै छोडेको धानको पाँजोलाई संकलन गरी पानी नजम्ने अग्लो स्थानमा ओतको व्यवस्था गरी राख्न सकिनेछ। धान खेतबाट पानीको निकास राम्रोसँग गर्नुपर्नेछ र खेतको गराको विभिन्न ठाउँबाट कुलेसो काटी पानीको निकास गरिनुपर्छ। काटेर खेतमै छोडेको धानको पौजोलाई संकलन गरी पानी नजम्ने अग्लो स्थानमा ओतको व्यवस्था गरी राख्न आवश्यक छ।
हिउँदे बालीको रक्षा
नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकिएको ३–४ दिनपछि मौसमको अवस्था हेरेर मात्र धान काट्न नार्कले सुझाव दिएको छ।
यस अवधिमा गहुँ, तोरी, मकै, मुसुरो, आलुलगायत अन्य हिउँदे बालीहरू लगाउने कार्य रोक्न भनिएको छ। आलु लगाई सकेकाले आलु खेतबाट पानी निकासको व्यवस्था गर्नुपर्नेबारे ध्यानाकर्षण गरेको छ।
फलफूल/तरकारी बालीको संरक्षण
हावाहुरीबाट जोगाउन केराको बोटमा टेको दिन नार्कले ध्यानाकर्षण गरेको छ। यस्तै, विभिन्न तरकारी बालीको नर्सरी ब्याडमा पानी जमेर बेर्ना कुहिने रोग लाग्न सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न भनिएको छ। तरकारी बालीका नर्सरी, ब्याडका बेर्ना जोगाउन प्लास्टिक वा खर/पराल आदिको छानो लगाउन सकिन्छ। उखुबाली लगाएको जग्गामा लगातार २४–४८ घण्टासम्म डुबान भएमा उखुबालीमा रातो सडन रोग लाग्ने तथा उत्पादन घट्ने हुँदा पानीको निकासको व्यवस्था गर्न सुझाव दिएको छ।
यस्तै, पानी पर्ने तथा तापक्रम घट्ने सम्भावना रहेकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्दा उपयुक्त हुने भनिएको छ। साथै, घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकताअनुसार चिनी चास्नी बनाएर खुवाउन नार्कले सुझाएको छ।
चिसोबाट पशुचौपाया जोगाउनु
पशुचौपायालाई चिसोबाट जोगाउन खुला स्थानमा नराख्न भन्दै नार्कले उच्च पहाडी भेगका पशुवस्तुलाई मनतातो पानी खुवाउन भनेको छ। भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन भनेको छ। पानी परिरहेको, हावामा आर्द्रता बढी भएको वा खोर चिसो र हिलो भएको अवस्थामा कुखुराहरूमा सुलसुले, जुम्राजस्ता बाह्य परजीवीहरूको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्नुपर्ने छ।
यदि सुलसुलेजस्ता परजीवीहरू देखिएमा, बाह्य परजीवीनाशक विषादीहरू जस्तै– स्पिनोसाड, साइपरमेथ्रिन वा एमिट्राज दक्ष प्राविधिकको सल्लाहमा आवश्यकताअनुसारले प्रयोग गर्न भनिएको छ। माछापोखरीमा धमिलो पानी मिसिन नदिने, माछापोखरीको निकासद्वारमा माछाको साइजअनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस !