देशले मुहार फेर्न सक्ला ?

देशले मुहार फेर्न सक्ला ?

केही वर्षयता पटकपटकका आन्दोलन र विद्रोहले थिल्थिलिएको छ देश। अहिले कुन अवस्थाबाट गुज्रँदै छ देश ? चिन्तन गर्ने बेला आएको छ। विश्वमा सुन्दर देश भनेर चिनिएको नेपालले केही वर्षदेखि घटनाकै मार बेहोरिरहनु पर्‍यो। राजनीतिक परिवर्तनसँगै २०३६ सालमा जनमत संग्रह भयो। २०४२ सालमा सत्याग्रह भयो। २०४६/४७ को जनआन्दोलन भयो। २०५२ देखि २०६२ सम्म १० वर्षे माओवादी जनयुद्धको सामना गर्नुपर्‍यो। त्यसमा १७ हजार नेपालीको ज्यान गुम्यो। २०६३ देखि २०७२ सम्म देशमा शान्ति कायम गराउन अनेक किसिमका आरोहअवरोह बेहोर्नु पर्‍यो। अनेकौं प्रयत्नपछि २०७३ मा नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भयो।

राजनीतिक घटनाले थिल्थिलिएर अस्थिर बनेको समयमा २०७२ को भूकम्पबाट धेरै धनजनको क्षति भयो। मानिसहरूका मनलाई समेत केही वर्ष हलचल ल्याइरह्यो। यस्तै विषम परिस्थितिमा फेरि विश्वव्यापी नरसंहारक कोभिड-१९ को प्रकोप सहनुपर्‍यो। त्यसलगत्तैको विश्व आर्थिक मन्दीले आजसम्म असर पारिरहेकै छ। २०८२ मा आइपुग्दा जेन-जी समूहको आन्दोलनबाट देशले आगजनी, लुटपाट, तोडफोड र हत्या बेहोर्नुपर्‍यो। यसरी २०३६ देखि अहिलेसम्मका घटनाहरू हेर्दा दुई प्रकारका घटना देशले बेहोरेको पाइन्छ। तीमध्ये एउटा हो, मानवनिर्मित अनि अर्को दैवीप्रकोप घटना।

अब उक्त घटनाले देखाएका गतिविधिको समीक्षा गर्ने हो भने केही तथ्य र केही सत्य उद्घाटन गर्न सकिन्छ। २०३६ देखि २०८२ को जेन–जी आन्दोलन र तिनका प्रवृत्तिलाई समीक्षा गरेपछि देशले कस्तो भविष्य बेहोर्ने छ भनी अनुमान गर्न सकिन्छ। त्यसैले, यहाँ तिनै घटनाको समीक्षा गरी भविष्यको उद्घोष गरिँदै छ। नेपालको राजनीति वर्षौंदेखि व्यक्ति केन्द्रित हुँदै आयो। संस्थाभन्दा व्यक्ति बलिया बने। विचारभन्दा स्थार्थ बलियो बन्यो। नेताहरूले राष्ट्रलाई भन्दा वैयक्तिक स्वार्थलाई माथि राख्दा राजनीतिक विकारको जन्म भयो। संविधान बनेको दशक बितिसक्दा पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेन। 

पटकपटक शासनसत्ता हत्याउने दाउपेचमात्र भयो। जनताले अपेक्षा गरेको सुशासन देशले पाउन सकेन। विभिन्न निकायमा नियुक्ति गर्दा पक्षपात गरियो। सुयोग्य मान्छेलाई किनार लगाइयो। सरकारी अस्पतालदेखि व्यक्तिगत अस्पतालसम्मका सबै अविश्वसनीय बने। शक्तिशाली नेता विदेशमा गएर उपचार गर्ने स्वदेशमा कमजोर व्यक्तिले मात्र उपचार गर्ने संस्कृतिले प्रश्रय पायो। गाउँका दूरदराजमा रहेका अस्पतालमा डाक्टरको अभाव भयो। 

यस्तै शिक्षा क्षेत्रमा विकृतिले जरो गाड्यो। कतिपय विद्यालयमा शिक्षकको अभाव भयो। कतिपय विद्यालयमा शिक्षक धेरै अनि विद्यार्थी न्यून हुन पुगे। रोजगारीको अभावले देशमा बाँच्ने सपना बुन्न सकेनन्। त्यसैले युवाको भिड आफ्नो पसिना बेच्न विदेश जान बाध्य भए। महिलाहरूले हिंसा र विभेदको राप सहनु पर्‍यो। चुनावका बेलामा भोट बटुल्न चर्का नारा र आश्वासन बाँड्ने अनि चुनावपश्चात् स्वार्थसिद्ध गरी सबै बिर्सिने प्रवृत्ति बढ्यो। भ्रष्टाचार व्यापक रूपमा मौलायो। फलस्वरूप राजनीतिका नाममा देखिएका व्यक्तिगत स्वार्थका कारण २०८२ मा जेन-जी आन्दोलनको उदय भएको हो। जेन-जी आन्दोलन अमेरिका र युरोपका केही देश, दक्षिण कोरिया र जापानसमेतका विकसित मुलुकहरूबाट सुरु भएको हो। ती देशमा राजनीति र अर्थतन्त्रमा देखिएका असन्तुलनका कारण यो आन्दोलन आरम्भ भएको थियो। यस आन्दोलनका युवाले स्वतन्त्रता, समानता र पारदर्शिताको माग गरे। यसरी यो आन्दोलन लोकप्रिय बन्दै विश्वभरि फैलियो। त्यस क्रममा यसको प्रभाव भारत, श्रीलंका र बंगलादेशमा पनि पर्‍यो। यसरी समुद्रपारिका देशबाट आरम्भ भई २०८२ मा नेपालमा पनि भित्रियो।

अन्य देशमा जस्तै नेपालमा पनि विकृतिका विरुद्ध जन्मिएको जेन-जी आन्दोलनले सर्वप्रथम देशमा मौलाएको भ्रष्टाचार अन्त्य गर्ने सपना देखायो। देशलाई भ्रष्टाचारविहीन तुल्याउने भन्दै भदौ २३ र २४ मा आन्दोलन गरे। भयो त्यसको ठीक विपरीत। छोटो समयमै दर्जनौं युवाको ज्यान गुम्यो। देशको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका ऐतिहासिक धरोहर जलाइए। नेता र व्यक्तिका घर जलाउनुका साथै कतिपय नेतालाई मार्ने उद्देश्यले प्रहार गरियो। भनेविपरीत काम हुँदा जनतामा जेन-जीप्रतिको विश्वासमा पनि तुषारापात हुन पुग्यो। घटनाक्रमले देशको राजनीतिक अस्तित्वमाथि गम्भीर प्रश्न उठ्यो। सत्ताको हानाथापले लोकतान्त्रिक अभ्यासमै गम्भीर खतरा छँदैछ। परिवर्तनका नाममा फेरि अस्थिरता बढेको छ। जनताको लोकतन्त्रको सपना तुहिँदैछ। जेन-जीका नाममा अहिले पनि सीमित व्यक्तिको स्वार्थ हावी भयो र देशको प्रणाली पुन: दिशाहीन हुन गयो। बदलिएको राजनीतिक परिवेशले मुलुकलाई दीर्घकालीन हित गर्नेमा अन्योल छ।

फागुन २१ मा हुने निर्वाचनमा केही दल र दलभित्रका पुराना अनुहार विस्थापित हुने सम्भावना बढेको छ। राजनीतिक दलहरूबीच स्वस्थ्य प्रतिस्पर्धा राष्ट्रहितमा हुनुपर्ने, त्यो अझै हुने देखिँदैन। बिचौलियाहरूको हस्तक्षेपमा निर्णय प्रवृत्ति बढेको जनमानसको बुझाइ र अनुभवको जरो उखेलिएकै छैन। न्याय प्रणालीमा निष्पक्षता घट्दै गएका परिणामहरू अभिव्यक्त छन्। यी यावत् कारणले देशको अर्थतन्त्र समय, प्रकृति र मानव निर्मित गतिविधिबाट प्रभावित भएको छ। विदेशी लगानी घट्दै जानु, युवा शक्ति पलायन हुनु, विकासका योजनाहरू कार्यान्वयन हुन नसक्नुजस्ता थुप्रै कारणबाट जनमानसको आक्रोश छँदैछ। तथापि सम्भावनाका ढोकाहरू अझै पहिल्याउन सकिन्छ। आशाको दियो निभ्न दिन हुँदैन। विश्वासको तेल थपेर जनताको मुहारका मुस्कान ल्याउन नेतृत्वले अब भने गन्तव्य बदल्नु पर्छ। नेताले जनताको आवाज सुन्नुपर्छ। युवालाई अवसर दिनुपर्छ। राज्य संयन्त्रलाई पारदर्शी र उत्तरदायी बनाउनु पर्छ।

यद्यपि सम्भावना अझै छैन। जनतामा परिवर्तनको चाहना पनि बाँकी छ। युवाहरूमा उत्साह पनि छ। महिला, दलित र सिमान्तकृत समुदाय अधिकारका लागि सचेत हुँदै गएका छन्। हो, नेपाल फेरि आशाको देश बन्न सक्छ, यदि नेतृत्व र नेताले यो आवाज बुझे भने। पारदर्शिता, जवाफदेहिता र नैतिकताको मार्ग अपनाएर मात्र यो सम्भव छ। नेपाल अनेक राजनीतिक चरण पार गरेको देश हो। इमान्दारीपूर्वक गर्ने व्यवहारले जनताको मन र विश्वास पुन: जित्ने समय आएको छ। समयमै दिशा बदलेर पारदर्शी र राष्ट्रहितमुखी नेतृत्व जन्माउन सकेमा मात्र यो सम्भव छ। भविष्यका पुस्ताका लागि स्थायी व्यवस्था तयार पार्न पुन: जनताको मनमा लागेका चोटको मलहम बन्नु वर्तमान सरकारको कर्तव्य हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.