अराजकताको अन्त्य
गत भदौ २३ र २४ गते जेन-जी समूहका नामबाट भ्रष्टाचार, बेथिति तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अन्त्य हुनुपर्ने माग गरी प्रदर्शन भयो। आन्दोलनमा बालबालिकाका प्रयोगको विषय ओझेलमा पर्यो। जेन–जी आफैंमा असंगठित उमेरसमूह मात्र हो। जेन-जी समूहमा अहिले १३ देखि २८ वर्षसम्मका किशोरकिशोरी र युवा पुस्ता समेटिन्छन्। सामाजिक सञ्जालमा अभ्यस्त यस पुस्ताले सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध र भ्रष्टाचारलाई प्रदर्शनमा मुख्य मुद्दा बनाएका थिए। नेपाली परिवेशमा जेन-जी अभियान नितान्त नौलो अभियानका रूपमा स्थापित भएको छ।
त्यो शान्तिपूर्ण आन्दोलन सुरक्षा निकायद्वारा आवश्यक पूर्वसतर्कता नअपनाइँदा उग्र बन्दै गयो। राज्यपक्षबाट अत्यधिक शक्ति प्रयोग गरिँदा कलिला बालबालिकाले जीवन गुमाउनुपर्ने अवस्था सिर्जना भयो। बालबालिकाको मृत्युले भिडलाई उत्तेजित बनायो र तत्कालीन सरकारविरुद्ध बलियो जनमत पनि तयार भयो। कर्फ्यु घोषणा भए पनि स्वस्फुर्त प्रदर्शनहरू भए। स्थिति नियन्त्रणमा लिन कठिन हुने देखेपछि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि जेन-जीका आवरणमा नियोजित रूपमा सरकारी तथा निजी संरचना ध्वस्त पार्ने समूहको सक्रियता बढ्यो। घुसपैठ तथा आगजनीजन्य घटना घटाउने र यस्तै समूहलाई पृष्ठपोषण गर्नेहरूका विवरण र तथ्य अहिले सार्वजनिक भइरहेका छन्।
जेन-जी समूह तत्काल आफू सत्तामा जान वा आफूले लाभ लिन आन्दोलनमा होमिएको थिएन। यस समूहले सरकार परिवर्तन गरेर आफ्नै सरकार निर्माण गर्ने उद्देश्यसमेत राखेको थिएन। बरु राज्यमा मौलाएको भ्रष्टाचार अन्त्य गर्ने एवं सामाजिक सञ्जालमाथि लागेको बन्देज हटाउने नारासहित प्रदर्शनमा उत्रेकाले जेन-जी आन्दोलन दल विशेषको नभई सबै दलका भ्रष्टाचार विरोधीको नैतिक समर्थन प्राप्त युवा पुस्ताको अभियान बनेको थियो। नियोजित रूपमा विभिन्न रसायनको समेत प्रयोग गरी राष्ट्रिय सम्पदा ध्वस्त पारिएपछि जेन-जी समूहभित्रै असन्तुष्टि र बेमेलको अवस्था सिर्जना भयो। प्रदर्शनपछि आयोजक नेतृत्व को हो भनेर पहिचान गर्नसमेत गाह्रो भयो। जेन-जी समूहबाटै आन्दोलनको नेताका रूपमा फरकफरक समूह देखा परे। यद्यपि आयोजकका तर्फबाट आह्वान गरिएका सूचना र उनीहरूका बीचमा भएका विभिन्न बैठकका अन्तरवस्तु बाहिरिँदा बालबालिका अकारण अरूहरूका षड्यन्त्रको सिकार भएको महसुस पनि गरिँदै छ।
प्रदर्शनमा विद्यालय पोसाकका १३ वर्षका विद्यार्थीदेखि २८ वर्ष उमेरसमूहका जेन-जी पुस्ताको अत्यधिक सहभागिता थियो। २४ गतेको घटनामा भने जेन-जी मात्र सीमित भएनन् खास आक्रामक र ध्वंसात्मक गतिविधिमा अन्य समूह नै हाबी भएको देखियो। विध्वंस मच्चाउन २३ गते क्याटलिस्ट र कवचका रूपमा मात्र विद्यार्थीलाई प्रयोग गरिएको हो कि भन्ने आशंकासमेत चुलिँदै गएको छ। त्यसो त संसद् भवनलगायत सरकारी महत्त्वपूर्ण संरचना जलाउने काम जो कोहीले गरे पनि कुनै पनि अर्थमा स्वीकार्य हुने घटना होइन। तर अबोध नाबालकमाथि अन्य उपाय अवलम्बन नगरी अत्यधिक बल प्रयोग भएकाले सरकार विरोधी मत भने हाबी भएकै हो। दुई दिनकै प्रदर्शन अर्थात् २४ घण्टामै पूरै सत्ता कायापलट गर्ने यो घटना भने विश्वमै सायद पहिलो हुन सक्छ।
सुरक्षा संयन्त्रले आफ्ना जिम्मामा रहेका संरचना बचाउने कुरामा ध्यान नदिने एवं विद्यालय शान्ति क्षेत्र हुँदाहुँदै पनि अनुचित रूपमा विद्यार्थीलाई उचालेर ढाल बनाउने सम्भावना बढ्दै गएको छ। दल वा अन्य समूहले जेन-जीलाई आफू अनुकूल प्रयोग गर्न सक्ने अवस्थासमेत देखिन्छ। जेन-जी आन्दोलनले कलिला बालबालिका नै आयोजक बनी अग्रपंक्तिमा आए प्रहरी, सेनालगायत सुरक्षाकर्मीले कुनै प्रतिवाद गर्दैनन् भन्ने गलत भाष्य स्थापित भएको छ। नेपालमा अभ्यास गरिएको राजनीति सधैंभरि प्रतिशोधपूर्ण नै देखिएको छ। चाहे निर्वाचनमा निर्वाचित र पराजित व्यक्तिका बीच होस् वा सत्ता र सत्ताइतर दलका समूह वा दलका बीचमै किन नहोस् यस्तो अवस्थामा बालबालिकाको दुरूपयोग हुन सक्ने सम्भावना बढेको छ। हरेक समूहले एक अर्काका विरुद्ध जेन-जीका नाममा बालबालिका प्रयोग गर्न सक्ने अवस्था सिर्जना भएको छ। यसै उमेरसमूहका व्यक्ति विभिन्न राजनीतिक दल, समूह र पेसामा संलग्न छन्। उमेर समूहले मात्र उनीहरूलाई बलियो एकतामा राख्ने सम्भावना पनि देखिँदैन।
हरेक राजनीतिक दलका भ्रातृ संगठनका रूपमा विद्यार्थी संगठन रहेझैं भोलिका दिनमा जेन-जी समूह रहन सक्छन् अनि एक दलका जेन-जी र अर्को दलका जेन-जीबीच भिडन्त हुन थाल्यो भने उपलब्धि संस्थागत नहुन पनि सक्छन्। यसले राज्यलाई झनै अनिश्चितता, अविकास, भ्रष्टाचार र द्वन्द्वको भुँमरीमा पुर्याउन सक्छ। अबको जोखिम भनेकै जेन-जीका नाममा जे जस्ता अराजक र ध्वंसात्मक काम गरे पनि सुरक्षा निकायले केही गर्दैन भन्ने भाष्यलाई टेकेर देशलाई लामो समयसम्म अस्थिर बनाउने र अन्ततः: गृहयुद्धमै धकेल्नेसम्म रहेको छ।
बालबालिकालाई हतियार बनाई देशलाई गृहयुद्धमा धकेल्ने सम्भावनालाई निस्तेज पार्न सबै दल र नागरिक समाज सचेत हुनै पर्छ। देशको सुरक्षा अवस्था र विभिन्न समूहका क्रियाकलापमा राज्यका अंगद्वारा सूक्ष्म र गहन अनुसन्धान हुनु आवश्यक छ। भ्रष्टाचार विरुद्धका अभियानमा जेन-जी मात्र नभएर आम नागरिक एकजुट बन्न सक्ने वातावरण सिर्जना गर्नु जरुरी छ। आफ्ना बालबालिका गलत व्यक्तिका कारण अनुचित रूपमा प्रयोग नहोऊन् भन्ने कुरामा भने आम अभिभावक सचेत हुनुपर्छ। कवचका रूपमा बालबालिका प्रयोग गरी अराजकता मच्चाउन सकिन्छ भन्ने गलत भाष्य हटाउन सकिनेछ।
प्रतिक्रिया दिनुहोस !