यसरी सम्भव छ ‘सफल नेपाल’
नेपालको विफलता स्थायी होइन। बरु नेपाल असफल हुँदा हरेक नागरिक असफल भएको ठानौं।
सम्भावना नभएको केही छैन। गरे नहुने पनि होइन। तर नेपाल सदियौंदेखि विकासको गोरेटोमा यसरी घिस्रिरहेको छ, मानौं कुनै घाइते कछुवा एक्लै गन्तव्य लम्किरहेको छ। यो यस्तो देश हो, जसले महान् बन्ने सम्भावना नबोकेको पनि होइन। विडम्बना नै बलियो छ कि नेपाल आफ्नै व्यवस्था र बाध्यताले बाँधिएको छ। अर्थतन्त्र, उद्यमशीलता, शासन र समाज आदि जुनसुकै दृष्टिले पनि आशावादी देश मान्न सकिन्छ नेपाललाई।
हामी निराशाका कथाहरूमा मात्र रुमलिइरह्यौं। निराशा चिर्ने हतियार खोजेनौं र गरेनौं सत्प्रयासको आत्मपरीक्षण। निर्धक्क भन्न सकिन्छ कि नेपाल असफल हुनुको कारण साधनस्रोतको कमी होइन। बरु हो, शासनशैली, कानुनको अक्षरश : पालना अनि कल्पनाशीलता एवं सिर्जनशीलताको कमी। के छैन नेपालमा ? प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। जलविद्युत्को उस्तै अपार सम्भावना छ। पर्यटनका लागि ‘स्वनिर्मित’ भूगोल स्वयम् हाजिर छ। आफैं देश बनाउनुपर्छ भन्ने प्रतिभाशाली र जुझारु युवा छन्। अचम्मसँगै छ– तर किन देश आधारभूत सेवाका लागि पनि आजसम्म संघर्षरत छन् नेपाली ? जवाफ छोटो र मीठो छ, सत्तामा पुग्नेले सेवा दिनेभन्दा शक्तिको आडमा जनतालाई चुसे र मुठीभरलाई पोसे।
इतिहासको बोझ र उन्मुक्त दण्डहीनता : राणाकालदेखि आजका दलहरूले नेतृत्व गरेको गणतन्त्रसम्मलाई विश्लेषण गर्ने हो भने सजिलै भन्न सकिन्छ, संरचना बदलियो तर प्रवृत्ति बदलिएन। शासन परिवर्तन भयो, तर सोचाइ परिवर्तन भएन। भ्रष्टाचार कहिल्यै निको नहुने रोग बनेर नेपाल नामको शरीरमा मानौं निकाल्नै नसकिने गरी जरा गाडेर बसेको छ। प्रशासनिक लापरबाही जसले जति र जसरी गरे पनि हुन्छ। किनकि कानुनी दण्ड प्रणाली कमजोर छ।
दण्डहीनताको संस्कृति मौलाएका कारण त्यसले न्याय, उत्तरदायित्व र नैतिकता नष्ट गरिदिएको छ। अदालतहरूलाई झुकाउन राजनीतिक दबाब काफी छ। अपराधीहरू सजायबिनै स्वतन्त्र र निर्धक्क हिँड्छन्। दक्ष र इमानदार नागरिकहरू सधैं ओझेलमै पारिइन्छन् र अन्तत : निराशाको घुम्टो ओढेर विदेश पलायन हुन्छन्। गल्ती र अपराध गर्नेलाई सजाय नहुञ्जेल र राम्रो गर्नेहरूलाई अवसर नदिउञ्जेल नेपाल असफल भइरहन्छ।
अर्थतन्त्र सधैं अलमलमा : नेपालको आर्थिक अवस्था विरोधाभासपूर्ण छ। देशले हरेक वर्ष करिब एक अर्ब डलरभन्दा बढी विदेशी सहायता पाउँछ। र पनि अल्पविकसितकै सूचीमा छ नेपाल। थोमस बेललले पनि नेपाललाई सहायताको असफल प्रयोगको उत्कृष्ट उदाहरणसमेत लेख्न भ्याइसकेका छन्। झन्डै सात दशकदेखि दाताहरूले आर्थिक सहयोग गरिरहेछन्, तालिममार्फत क्षमता विकास गराइरहेका छन् र आवश्यक सल्लाहसुझाव दिइरहेछन् तर पनि नेपाल आत्मनिर्भर बन्न सकेको छैन।
अर्कोतर्फ, वैदेशिक रोजगारले अर्थतन्त्रको मेरुदण्ड धानेको छ। आखिर कहिलेसम्म ? जीडीपीको एक चौथाइ हिस्सा यसैले धानिरहेछ। यदि यसै हो भने तिनलाई सीपले दक्ष बनाएर ‘स्किलफुल म्यानपावर’ किन नपठाउने ? यसो गर्नेतर्फ कसैको सोचसम्म देखिन्न। यो ‘अस्थायी अक्सिजन’मा मक्ख पर्ने सरकार र प्रशासनले यसरी नै अर्थतन्त्र अल्मल्याइरहेछ। यही गतिमा हिँडिरहने हो भने यसले उत्पादनको सट्टा उपभोगमात्र बढाइरहन्छ। त्यसपछि बाँकी उद्योगहरू पनि बन्द हुन्छन् र युवा बिदेसिइरहन्छन् अनि आयातको ग्राफ उकालो लागिरहन्छ। यसरी देश घस्रिइरहन्छ, समयमै गन्तव्यमा पुग्दैन।
उद्यमशीलता– संघर्षभित्रको सम्भावना : उद्यमीहरू धेरै छन् जो कम सफल र बढी असफल भइरहन्छन्। त्यही असफलताको अनुभव बोकेर हिँड्नेहरूलाई नै चौतर्फी समस्या र दबाब खप्टिइन्छ। भन्नुको अर्थ, नेपालमै रहेर वा नेपाल फर्किएर व्यवसाय थाल्नेले आर्थिक संघर्ष त गर्छ नै त्योभन्दा दोब्बर संघर्ष प्रशासनिक झमेलाका कारण सामना गर्छ।
कानुनी प्रक्रिया जटिल बनाएर नेपाल सरकारले युवा जनशक्ति र लगानीकर्तालाई आजका मितिसम्म निरुत्साहित गरिरहेको छ। समस्या प्रक्रियाका कारणभन्दा पनि कानुन बनाउने र कार्यान्वयन गर्नेको सोचले पनि धेरै छन्। लगानीकर्ताले जोखिम होइन, सुरक्षा खोज्छ। सरकारी जागिर खानु उही युवाको सफलताको प्रतीक हो, नवप्रवर्तनलाई भने जोखिमपूर्ण हो, यही भन्छ समाज। अनि असफल हुनेबित्तिकै मानौं लाज पनि लजाउँछ नेपाली समाजमा। केही युवा यी पुराना सोचविरुद्ध विद्रोही बन्दैछन्। लाग्छ, यिनले सम्भावनाका ढोका खोल्दैछन्।
सही राजनीति र दूरदृष्टिको अभाव : अब राजनीतिक विश्लेषण कठोर ढंगले गर्नु जरुरी छ। किनकि राजतन्त्रदेखि गणतन्त्रसम्मका सत्ताहरूमा समेत कायापलट चाहिँ देखिएन नै। राजनीतिज्ञहरूले पनि सरकारलाई यसरी दुरुपयोग गरिरहेछन्, मानौं यिनले आफू अनुकूलको सुविधा वितरण केन्द्र बनाएका छन्। यिनले कम्तीमा दक्षिण कोरिया, चीन र भियतनामका उदाहरण त ग्रहण गर्न सक्थे। जहाँ नीति, त्यसअनुसारको जिम्मेवार नेतृत्व र नागरिक केन्द्रित कार्यान्वयनले देश बदलिएको छ।
नेपालमा पनि हरेक नयाँ सरकार नयाँ नीति त बनाउँछ तर त्यसले सार्थकता पाउँदैन। त्यसपछि आउने सरकारले अघिल्ला सबै राम्रा काम अन्देखा गर्छ। यस्तो अस्थिरताले केवल परियोजनामात्र होइन, आपसी विश्वासलाई पनि धुजाधुजा पारिदिन्छ। नेपाल किन असफल भयो ? जवाफ तयार छ, ‘राजनीतिक अनिर्णयको बन्दी र दूरदृष्टिको कमी।’ जबसम्म देशले स्थायी सरकार पाउँदैन, त्यसले दीर्घकालीन योजना ल्याउँदैन, तबसम्म देश विकास सम्भव छैन।
नेपाल असफल छ भन्नेहरूलाई आलोचना गर्यो भन्ने होइन, उसले त ऐना देखाएको हो। बरु त्यो ऐना हेरेर बिग्रिएको र भत्किएको सबै बनाउने हो। नेपाल त्यस्तो बनाउने हो, मानौं नेपालको अनुहार देखाउँदा ऐनाले पनि गर्व गरोस्।
सत्ता, कागज र ‘मिसिङ मिडल’ : नेपालको प्रशासनिक ढाँचा अझै सामन्ती शैलीमा अडिएको छभन्दा अत्युक्ति नहोला। संस्थागत कुनै काम गर्न लिनुपर्ने अनुमतिका लागि नागरिकले थुप्रै कार्यालय धाउनुपर्छ। सेवाप्रवाहमा सरकारी समन्वय सशक्त नहुँदा एउटै काम महिनौं लाग्छ। हरेक तहमा घुस खुवाउनुपर्ने अवस्था कायमै छ। राज्य नागरिकलाई सशक्त बनाउन होइन, नियन्त्रण गर्न बनेजस्तो आभास हुन्छ हरेक सेवाग्राहीलाई। जसले ‘मिसिङ मिडल’ (मध्यम आकारका उद्यमहरूको अभाव) देखाएको छ।
अर्थ र विकास अध्ययनको यो अवधारणा नेपालका लागि अत्यावश्यक छ तर आवश्यक ठानिएको छैन झैं आभास हुन्छ। साना अनौपचारिक व्यवसाय र ठूला राजनीतिक निकट समूहहरूबीच खाडल छ। मध्यम स्तरका यस्ता उद्यम नहुँदा रोजगारी र नवप्रवर्तन घट्छ भन्ने कसले बुझ्ने खै ? त्यसैले सरकार कानुनी प्रक्रिया सरलीकरण, डिजिटल प्रणाली र स्थानीय स्वायत्ततामा जानैपर्छ।
कृषि– आत्मनिर्भरताको भ्रम : कृषि नेपालको मेरुदण्ड हो, तर उत्पादन आशातीत र आवश्यकता अनुरूप छैन। ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छ तर हामी अन्न निर्यात होइन, आयात गर्छौं। करिब तीन प्रतिशत कृषकको आडमा इजरायलले आफूलाई विश्वको उदाहरणीय बनाएको छ। यो विरोधाभास राष्ट्रिय विडम्बना हो। सरकार किन कृषिमा आधुनिकीकरण गर्न र बजारलाई व्यवस्थित गर्न सक्दैन ? चाहँदैन ? धेरै केही परेन, एक पालिका एक उत्पादनको नीतिले मात्र पनि देशको मुहार फेरिन्छ। कृषिलाई अनुदानको विषय बनाउने होइन, उद्यमको विषय बनाउने हो। तर खै ? सरकार कहाँ सुतेको छ ? सरकारले अब मानसिकता परिवर्तन गर्नुपर्छ— आत्मनिर्भरता घोषणाले हुँदैन, उत्पादन र निर्यातले मात्र मापन हुन्छ।
पर्यटन– अपूर्ण सम्भावना : नेपालको पर्यटन सम्पदा विश्वमा अद्वितीय छ— हिमालहरू, लुम्बिनी, पोखरा, मुस्ताङ, मुगु, डोल्पा चितवन। नाम लिएर साध्य छैन। थकाली, थारू लगायतका अनेक संस्कृति। विश्वमा कहीँ नभएका जात्रा नेपालमा छन्। विश्वसूचीमा सूचीकृत कैयौं सम्पदा। तर पनि तिनको व्यवस्थापन र प्रचारप्रसारको अभावले पर्यटक तान्न सकेको छैन नेपालले। लाग्छ, सुनको कचौरामा भिख मागिरहेको छ नेपाल। भएको चिज चिन्न र प्रयोग गर्न नसक्दा, नजान्दा हामी असफल भएका हौं। कहिले अति प्रचार गर्ने अनि कहिले बेवास्ता गर्ने प्रवृत्तिले कुनै पनि कामले निरन्तरता पाउँदैन। नेपालले यी सबै पर्यटनलाई प्रवद्र्धन गरेर आत्मनिर्भरको बाटो रोज्न सक्छ।
नेपाल अवश्य सफल हुनेछ : विकासको बाटो सधैं ‘फास्ट ट्र्याक’ झैं हुनुपर्छ। अवरोधहरू आउँछन्, सहजै पन्छाउने अवस्था बनाउनु पर्छ। आर्थिक सुधारका लागि सामाजिक सुधार अत्यावश्यक हुन्छ। सामाजिक सुधारका लागि शैक्षिक सुधार हुनुपर्छ। त्यसअघि हरेक नागरिक मानसिक र शारीरिक हिसाबले फिटफाट हुनुपर्छ। महिला, दलित र सीमान्तकृत समुदायहरूलाई ‘भाग लिने’मा सीमित राख्ने होइन, ‘निर्णय गर्ने’ अधिकार दिनुपर्छ। नत्र, नयाँ नेपाल पुरानो नेपालकै प्रतिलिपि बन्नेछ।
असफलता नियति होइन, विकल्प हो। बैंकिङ सुधार, पुँजी परिचालन, नीतिगत स्थायित्व र उच्च मनोबलले नेपाललाई सफल बनाउन सकिन्छ। यतिबेला असफलतालाई सिकाइ र त्यो सिकाइलाई अवसरमा परिणत गर्ने आँखा चाहिएको छ। जसरी उद्यमी असफल भए पनि पुन : प्रयास गरे सफल बन्छ, त्यस्तै राष्ट्र पनि गल्तीहरूबाट पाठ सिकेर उठ्न सक्छ, दौडन सक्छ। नेपालका युवाले प्रवास भूमिहरूमा आफ्ना क्षमता प्रदर्शन गरेर विश्वलाई चकित बनाइसकेका छन्। नेपाली युवामा जोश छ, जाँगर छ, योग्यता र क्षमता छ, मात्र वातावरणको अभाव छ। अबका सबै सरकारले विकासका लागि चाहिने सबै वातावरण तयार पार्नेछन्। त्यसपछि असफलताका कथाहरूले कोल्टे फेर्नेछन् र बन्नेछन्, सफलता कथाहरू।
निष्कर्ष : कारण होइन, समाधान खोज्ने समय : नेपाल असफल छ भन्नेहरूलाई आलोचना ग¥यो भन्ने होइन, उसले त ऐना देखाएको हो। बरु त्यो ऐना हेरेर बिग्रिएको र भत्किएको सबै बनाउने हो। नेपाल त्यस्तो बनाउने हो, मानौं नेपालको अनुहार देखाउँदा ऐनाले पनि गर्व गरोस्। प्राकृतिक स्वरूपमा धनी तर ‘देश बनाऔं’ भनेर कस्सिनेमा गरिब छौं हामी नेपाली। त्यसैले अब सुधार बाहिर होइन, भित्रबाट सुरु गरौं। नेपालको विफलता स्थायी होइन।
बरु नेपाल असफल हुँदा हरेक नागरिक असफल भएको ठानौं। हाम्रा हिमालहरू जस्तै समग्र विकासका चुनौतीहरू ठूला छन् तर हामी एकजुट भयौं भने हामीबाट निस्कने शक्ति पनि त्यत्तिकै विशाल छ। अझ आत्तिने अवस्था छैन किनकि जनता जागेपछि राष्ट्रहरू अवश्य बन्छन्। जेन–जीले नेतालाई सबक सिकाइसकेका छन्। अब नेताको पछि होइन, नेतालाई पछाडि लगाएर देश विकासमा अघि बढौं। नागरिकको साहस र उत्तरदायित्वले विगत उल्टाउँदै नेपाल सफल बनाऔं। बहाना छोडौं, नयाँ नेपालका लागि निर्णय रोजौं। अब समय आएको छ, देशको अनुहार बदल्ने।
प्रतिक्रिया दिनुहोस !