क्रिकेटले कस्दै सम्बन्ध
नेपाल र भारतको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध भन्दा पनि जनजनको सम्बन्धका रूपमा बढी हेरिने गरेको छ। सांस्कृतिक समानता र भौगोलिक निकटता छँदैछ। दुई देशका जनताबीच पारिवारिक सम्बन्धहरू प्रशस्त छन्। बिनापासपोर्ट र भिसाबिना सहज ओहोरदोहार मात्रले मात्र सम्बन्ध गाढा भएको होइन। दुई देशको सभ्यताको जरा एउटै हो। धर्म, संस्कृतिले दुई देशका नागरिकलाई जोडेको छ। राजनीतिक र सैनिक तहमा पनि पृथक् सम्बन्ध छ। नेपाली सेनाका प्रधानसेनापति भारतको सेनाको मानार्थ महारथी र भारतका सेनाका सेनापति नेपाली सेनाका मानार्थ महारथी हुने परम्परा छ। जब राजनीतिक तहमा समस्या आउँछ तब सैन्य तहको सम्बन्धले पनि समाधान निकालेका घटनाहरू छन्।
नेपाल र भारतबीच खेलले पनि सम्बन्धलाई जोडेको छ। कुस्ती, कबड्डी, खोखोजस्ता खेलहरू दुवै देशमा लोकप्रिय छन्। यी खेलहरूले पनि जनता जनताबीचको सम्बन्धलाई कसिलो बनाएको छ। पछिल्लो समय क्रिकेटले दुवै देशको सम्बन्ध अझ प्रगाढ भएको छ। भारतमा क्रिकेट निकै लोकप्रिय छ। नेपालमा पनि क्रिकेटको लोकप्रियता ह्वात्तै बढेको छ। एनपीएलमा देखिएको क्रेजबाट बुझिन्छ। क्रिकेटमा दुवै देशका जनताबीचको क्रेजसँगै सम्बन्ध पनि कसिँदैछ। यसले दुई देशको सम्बन्धको व्याख्यालाई अझ विस्तृत बनाएको छ। क्रिकेट कूटनीति नेपाल भारत सम्बन्धलाई अझ कसिलो र प्रभावकारी बनाउने माध्यम बनेको छ।
नेपालको क्रिकेट विकासमा भारतले महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। क्रिकेट खेलाडीहरूलाई विशेष तालिमको छात्रवृत्तिदेखि क्रिकेट सामग्री सहयोगका रूपमा प्रदान गर्दै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले बैंगलुरस्थित बीसीसीआई सेन्टर अफ एक्सेलेन्समा २० अगस्टबाट ४ सेप्टेम्बरसम्म तालिम लिने तय भएको छ।
आईसीसी पुरुष टी टेन्टी विश्वकप छनोटको तयारीका लागि यसलाई लिइएको छ। यो तालिमको सहजीकरण भारत सरकारले क्यान र बीसीसीआईसँगको सहकार्यमा गरेको हो। गत वर्ष नेपाल भ्रमणमा आउँदा भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली राष्ट्रिय टोली र क्यानका अधिकारीलाई भेटेका थिए। नेपालको क्रिकेट क्षेत्रको प्रगतिको प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता जनाएका थिए। नेपाली टोलीका लागि तालिमका क्याम्प, उमेर समूहमा क्षमतावान् क्रिकेट खेलाडी उत्पादनमा सहयोग गर्नेलगायतका प्रतिबद्धता जनाइए अनुसार कामहरू भइरहेका छन्।
भारतले यू १९ महिना क्रिकेट टोलीका लागि पनि सहयोग गरेको छ। तीन नेपाली युवा क्रिकेट खेलाडी एकमहिने तालिमको छात्रवृत्ति पाएर भारतमा तालिम लिइरहेका छन्। नेपाली महिला राष्ट्रिय खेलाडीहरूले यसै वर्ष दिल्लीमा विशेष तालिम प्राप्त गरे। विभिन्न समयमा भारतका तर्फबाट क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ। सन् २०१३ मा क्यानले भारतका तर्फबाट बससमेत अनुदानमा प्राप्त गरेको थियो।
भारतको आईपीएलमा खेल्ने सपना हुन्छ विश्वका हरेक क्रिकेट खेलाडीको। त्यस्तो सपना अहिलेसम्म नेपाली खेलाडी सन्दीप लामिछानेले मात्र साकार पारेका छन्। उनले दिल्लीबाट खेलेर सान, मान र धन आर्जन गर्न सफल भए। सन्दीप लामिछानेको नाम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा नेपाल भ्रमणका दौरान लिए। उनले आईपीएलले नेपाल र भारतका जनताबीच सम्बन्ध अझ प्रगाढ बनाउन योगदान दिएको बताएका थिए।
नेपाल भारतको निकै नजिकको मित्र हुँदै हो। भूगोल र संस्कृतिले समेत नजिक बनाएको नेपालको प्रगति भारतका लागि लाभदायक हुन्छ नै। नेपालमा विकसित भइरहेको क्रिकेट क्षेत्रलाई थप उचाइमा पुर्याउन भारतको सहयोग महत्त्वपूर्ण हुन्छ। नेपाली खेलाडीहरू आईपीएलजस्ता भारतको प्रतिष्ठित लिगहरूबाट खेल्न पाएमा सम्बन्ध अझ गाढा हुन पुग्छ। विगतमा सन्दीप लामिछानेले आईपीएल खेल्दा नेपालीहरूको भारतप्रतिको धारणा झन् सकारात्मक बनेको थियो। सन्दीपको खेल हेर्न बालकदेखि वृद्धसम्म नेपालीहरू आईपीएलको दर्शक बने। जनताबीचको सम्बन्धलाई खेलले अझ मजबुत बनायो।
क्रिकेट विश्वकै लोकप्रिय खेलमध्येको हुँदै हो। दक्षिण एसियामा यसको विशेष महत्त्व छ। दक्षिण एसियामा क्रिकेट प्रतिष्ठा, राष्ट्रवादमात्र नभई देश देशबीचको सम्बन्धको माध्यम पनि बनेको छ। विगतमा भारत, पाकिस्तान र श्रीलंका क्रिकेट महाशक्तिका रूपमा परिचित थिए। पछिल्लो समय बंगलादेश र अफगानिस्तान क्रिकेटका बलियो शक्ति बनिसकेका छन्। नेपालले पनि क्रिकेटमा बलियो उपस्थिति देखाउन थालिसकेको छ। भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिस्पर्धा रोचक र घोचक दुवै हुने गर्छ। प्रतिष्ठाको लडाइँका रूपमा प्रतिस्पर्धा हुनेगर्छ यी दुई देशबीच। भारतमा क्रिकेटले त्यहाँको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रलाई समेत प्रभावित पार्ने सामथ्र्य राख्छ। नेपालमा पनि क्रिकेटले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभई राजनीतिक क्षेत्रमा प्रभाव बढाउँदै लगेको छ। यो खेलमा लगानीको वृद्धिसँगै बढ्दो क्रेजका कारण बाह्य चासो पनि बढेको छ।
क्रिकेट खेलले नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत पार्ने दरिलो सेतुको भूमिका खेल्न सक्ने देखिइसकेको छ। क्रिकेटमा सहयोग आदानप्रदान चलिरहेको छ। दुई देशका खेलाडीहरूको ओहोरदोहोर चलेको छ। भारतका लोकप्रिय क्रिकेट खेलाडीहरू नेपालमा क्रिकेट लिग खेल्न आउन थालेका छन्। नेपाली क्रिकेट खेलाडीहरूले पनि आईपीएललाई सपनाका रूपमा हेरेका छन्। खेलाडीहरू तालिमका लागि जाने अवसर पाउन थालेका छन्। खेलाडी तहको यो सम्बन्धले दुई देशको सम्बन्धलाई अझ भावनात्मक बनाउन थालेको छ। नेपाली जनजनको मनमनमा क्रिकेट बस्न थालेको छ। भारतको लिगमा नेपाली क्रिकेट खेलाडीको निरन्तर सहभागिता हुने हो भने सम्बन्ध अझ गहिरो हुन पुग्दछ। जसरी सन्दीप लामिछाने खेल्दा दिल्लीको खेल हेर्न दसौं लाख नेपाली टेलिभिजन अगाडि हुन्थे त्यसरी नै आईपीएलमा फेरि नेपाली खेलाडी हुने हो भने नेपाली दर्शकमाझ क्रेज बढ्न सक्थ्यो।
भारतप्रति नेपालीहरूमा अझ सकारात्मक धारणा विकास हुन सक्थ्यो। विगतमा मोदीले सन्दीप लामिछानेको नाम लिएपछि दिल्लीबाट मैदानमा उत्रिएको हेर्न पाए नेपाली दर्शकले। त्यो घटनाले मोदीको नेपालमा लोकप्रियता बढेको थियो। इतिहासको यो तथ्यलाई बुझेर प्रतिभाशाली नेपाली खेलाडीलाई भारतको प्रतिष्ठित क्रिकेट लिगमा स्थान दिने वातावरण बनाउन सके दुई देशको सम्बन्ध अझ प्रगाढ हुन सक्छ।
भारतले खेलकूद कूटनीतिलाई नेपालसँगको साझेदारीको महत्त्वपूर्ण क्षेत्र भनी काठमाडौंस्थित राजदूतावासको वेवसाइटमै उल्लेख गरेको छ। त्यसमा पनि क्रिकेटको नाम नै छ। क्रिकेटमा सहयोग बढाउँदै लगेको छ। भारतीय राजदूतावासले प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता नै आयोजना गर्न थालेको छ। बहु क्षेत्रमा क्रिकेटको क्रेज बढाउन र दुई देशको सम्बन्ध सुदृढ बनाउन यस्ता प्रतियोगिता सफल सावित भएका छन्। भारतले क्रिकेट कूटनीतिलाई महत्त्व दिएको व्यावहारिक कदमको सन्देश पनि हुन सक्छ यस्ता प्रतियोगिताको सुरुवात। योसँगै तालिम छात्रवृत्तिदेखि नेपाली राष्ट्रिय खेलाडीको खेलस्तर अझ सुधार्न सामग्री सहयोग पनि बढेको छ। यसले भारतप्रति नेपाली खेल क्षेत्रको दृष्टिकोण अझ सकारात्मक बनेको छ।
एक्काइसौं शताब्दीमा देशहरूबीचको सम्बन्ध सुदृढीकरणको माध्यम आर्थिक र राजनीतिक मात्रमा सीमित छैन। खेलले पनि दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन सक्छ। कतिपय अफ्रिकी देशहरूको फ्रान्ससँग सम्बन्ध कसिलो हुनुमा फुटबल कूटनीति पनि हो। ब्राजिल, अर्जेन्टिनाजस्ता देशको युरोपसँगको सम्बन्ध कसिलो हुनुमा फुटबल कूटनीति पनि हो। खेल कूटनीतिको एक्काइसौं शताब्दीमा महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल र भारतबीच खेल कूटनीति चलिआएको छ। सिक्किममा नेपाल र भारतका महिला राष्ट्रिय खेलाडीबीचको मैत्रीपूर्ण खेल दुवै देशमा चासो बन्यो। सांस्कृतिक सम्बन्ध अझ प्रकट भयो। नेपालको तराई क्षेत्रको भारतको विहार र उत्तर प्रदेशसँग कुस्ती कूटनीतिको इतिहास लामो छ।
कबड्डी कूटनीति पनि आजपर्यन्त चल्दैछ। नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेटमा भारतको चासो र सहयोगले दुई देशको सम्बन्धको दरिलो नयाँ सेतु बनाउँदै लगेको छ। क्रिकेट कूटनीतिले जस्तोसुकै कठिन परिस्थितिमा पनि दुई देशको सम्बन्धलाई कसिलो बनाउने भूमिका निर्वाह गर्न सक्छ। खेल कूटनीतिले खेलाडीको ओहोरदोहोर दुवै देशमा हुन पुग्छ। दुई देशबीच खेल र खेलाडीका माध्यमले सम्बन्ध मजबुत बन्न पुग्छ।
प्रतिक्रिया दिनुहोस !