सङ्खुवासभाका ४ सहित कोशीका १८ हिमताल जोखिममा
खाँदबारी : कोशी प्रदेशमा रहेका १८ हिमताल जोखिममा रहेका देखिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसीमोड)ले शुक्रबार सरोकारवालाहरूसँगको अन्तर संवाद कार्यक्रममा इसीमोडका सरदप्रसाद जोशीले सङ्खुवासभाका ४ सहित कोशीका १८ हिमताल जोखिममा रहेको तथ्यांक सार्वजनिक गरेका हुन्।
नेपालका २ हजार ६९ हिमताल मध्ये सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जको तल्लो वरुण हिमनदी क्षेत्रमा अवस्थित तल्लो वरुण(ठुलो ताल) हिमताल हिमालय क्षेत्रकै उच्च जोखिमपूर्ण तालका रूपमा रहेको इसीमोडको प्रतिवेदनमा उल्लेख छ।
इसीमोडका विज्ञसहित त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकको टोलीले सन् २०२० दुई हप्तासम्म वरुण हिमतालको अध्ययन गरेको थियो। इसीमोडको अनुसन्धान प्रतिवेदन अनुसार महालङ्गुर हिमाल (सोलुखुम्बु र सङ्खुवासभा जिल्ला)क्षेत्रमा रहेका ३४५ तालहरूमध्ये तल्लो वरुण हिमतालसहित ७ तालहरू उच्च जोखिमपूर्ण देखिन्छ।
इसीमोड प्रतिनिधि जोशीका अनुसार तल्लो वरुण हिमताल हाल ३ किलोमिटर लामो रहेको छ। केही भाग २०६ मिटर गहिराइसम्म रहेको यस हिमतालको छेउछाउमा १५ देखि २५ मिटर गहिराइ रहेको जोशीले जानकारी दिए। सन् २०२० लम्बाइ २.८ किलोमिटर र चौडाइ ०.७ मिटर रहेको वरुण हिमतालको क्षेत्रफल करिब २.३ वर्ग किलोमिटर रहेको थियो। सन् १९७९ मा ०.३ वर्ग किलोमिटर मात्रै रहेको ताल अहिले २.३ वर्ग किलोमिटर पुगेको छ।
मकालु गाउँपालिकामा रहेको वरुण हिमनदी पग्लिएर घट्दो अवस्थामा रहेकाले हिमतालको क्षेत्रफल बढ्दै जाँदा जुनसुकै अवस्थामा विस्फोटन हुने खतरा बढेको इसीमोड प्रतिनिधि जोशीले बताए। जोशीले भने, ‘माथिल्लो वरुण हिमताल पनि नजिकै रहेकाले माथिल्लो वरुण फुट्दा पनि तल्लो वरुणले बढी क्षति पुर्याउन सक्ने सम्भावना बढ्छ। जलवायु परिवर्तनले असरले हरेक वर्ष नेपालमा वार्षिक रूपमा औसत तापक्रम वृद्धिले हिमनदी पग्लने दर पनि बढेको छ।’
तल्लो वरुण हिमतालको उत्तरपट्टि रहेको पार्श्व मोराइन ड्याम वरुण नदीले काटिरहेको देखिन्छ। त्यसकारण पनि यस हिमताल विस्फोटनको जोखिम बढेको छ। वरुण नदीको कटानका कारण बाँधको मोटाइ पनि घट्दो अवस्थामा रहेको छ। यस हिमतालको क्षेत्रफल बढ्दो अवस्था देखिएकाले जोखिम आउन सक्ने जनाइएको छ।
तालको अगाडिको मोराइन बाँधको मोटाइ लगभग ६ सय मिटर रहेको छ। मोराइन बाँधको उचाइ लगभग ८० मिटर मात्रै रहेको इसीमोडले जनाएको छ। कमजोर बाँधका कारण कुनै पनि समय मोराइन बाँध फुटेर वरुण नदीमा पुग्ने अरुण उपत्यकाका धेरै बस्ती र संरचना उच्च जोखिममा रहेको उनले बताए।
जोखिम बढेकै कारण जल तथा मौसम विज्ञान विभाग र यूएनडीपी नेपालको सहकार्यमा वरुण हिमताल सहित नेपालका ४ हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयन प्रक्रिया अघि बढिरहेको इसीमोडले जनाएको छ।
मकालु गाउँपालिकाको माथिल्लो र तल्लो वरुण हिमताल तथा भोटखोला गाउँपालिकाको २ हिमताल जोखिममा रहेका छन्। त्यसैगरी चीनमा रहेका १३ वटा हिमतालको पनि जोखिम उत्तिकै रहेको छ। ती हिमनदी पनि अरुण नदीमा नै वहने गरेका छन्। चीनबाट आएको अरुण नदीमा वरुण नदी पनि मिसिएको छ।
हिमतालको जोखिम अध्ययन, अनुगमन गदै अरुण नदी आसपास पूर्वसूचना प्रणाली जडान गरेर क्षति कम गराउन सकिने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए। प्रमुख शाक्यले अध्ययन प्रतिवेदन अनुसार अब जोखिम न्यूनीकरण लाग्नुपर्ने बताए। जलवायु परिवर्तनले पारेको असर अन्तर्राष्ट्रिय फोरममा उठान गर्दै त्यसको असरको न्यूनीकरणमा जोड दिनुपर्ने भनाइ राखे।
हिमाली क्षेत्रमा निर्माण कार्य गर्दा हिमनदी र हिमतालको जोखिमको विश्लेषण गरेर मात्रै संरचना निर्माण गरिनु पर्ने शाक्यले बताए। सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले इसीमोडको पूर्ण प्रतिवेदन जिल्ला तहमा पनि उपलब्ध गराउनु पर्ने बताइन्। थपलियाले भनिन्, ‘सो प्रतिवेदनका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले भावी कार्य योजना तयार गर्ने छौं। प्रभावित हुन सक्नेहरुमा त्रास भन्दा पनि जनचेतना फैलाउनु पर्छ।’
कोशी प्रदेशमा कोशीका १८ सहित ४२ हिमतालको जोखिम रहेको इसीमोडकी हिमनदी तथा जलप्रकोप प्रमुख डा. निरा श्रेष्ठ प्रधानले बताइन्। जसमा जोखिम युक्त २४ हिमताल तिब्बतमा रहेका छन्। हिमतालको क्षेत्रफल बढ्दै गाएकाले जोखिम बढ्ने हुँदा तल्लो तटीय क्षेत्रमा रहेको बस्ती र भौतिक संरचनामा क्षति हुने प्रधान बताउँछिन्। विपदमा सबैभन्दा बढी असक्त, महिला र बालबालिकामै जोखिम हुने भएकाले चेतना अभिवृद्धि तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनु पर्ने उनको भनाइ छ।
सन् २०१७ मा लाङ्माले हिमताल विस्फोटन हुँदा ठूलो क्षति भएको थियो। लाङ्माले हिमताल विस्फोटन भई वरुण नदीमा बाढी केही गोठ र पुलसमेत बगाएको थियो। वरुण दोभान गोलामा ठूलो ताल समेत बनेको थियो। लाङ्माले हिमताल तल्लो वरुण हिमतालभन्दा धेरै सानो ताल थियो तर यसको क्षति धेरै देखिएको थियो।
प्रतिक्रिया दिनुहोस !