मावली हजुरबाको व्यक्तित्वलाई झलझली सम्झिरहेको छु। मेरा मावली बा गोरो वर्ण, अग्लो कद, शिरमा नेपाली ढाकाटोपी, दौरासुरुवाल, इष्टकोट लगाएर घरबाहिर हिँड्ने गर्नुहुन्थ्यो। मावली बा बेतको लौरो हातमा लिएर घर बाहिर हिँड्ने गर्नुहुन्थ्योे। काशी–वनारस हिन्दु संस्कृत विश्वविद्यालयबाट संस्कृत शिक्षा लिनुभएको थियो। पुर्खाले तत्कालीन श्री ५ को सरकारबाट पूर्व २ नं. सिन्धुलीगढी सुनकोशीको छेउ घोक्सिलामा बिर्ता पाई त्यहाँ ठूलो पोखरी खनाएर बसोबास गर्न लागेकाले त्यस गाउँलाई पोखरी गाउँ भनी प्रख्यात भएको कुरा मावली बाले आफ्नै हस्ताक्षरले डायरीमा उल्लेख गर्नुभएको छ।
उक्त डायरी मावली बा दिवंगत हुनु भएपछि उहाँले किताब, कापीहरू राख्ने सानो काठको दराज खोलेर हेर्दा किताबहरूको माझमा उक्त डायरी फेला परेको थियो। त्यो डायरी मेरो माइला मामाले सुरक्षित साथ राख्नुभएको रहेछ। डायरीको पानाहरू छुट्टिएर बाहिर निस्केको जीर्ण अवस्थामा देखें। जिज्ञासा राखेपछि मामाले यो डायरी मेरो बुवाले लेख्नु भएको हो भन्नुभयो। पढ्ने उत्सुकता देखाएपछि मामाले यो डायरीमा तिम्रो हजुरबाको युवावयदेखि बुढेसकालसम्मको सम्पूर्ण इतिहास यो डायरीमा लेख्नु भएको छ भन्नुभयो। म झन् उत्सुक भएँ। घरमा ल्याएर उक्त डायरीमा मावली बाले आफू किशोर युवा भएदेखि बाँचुञ्जेल देखेभोगेका अनि आफ्ना अनुभव सबै कुरा नछुटाई क्रमबद्ध लेख्नु भएको पढें। मावली बाले आफ्नो जन्म थिति र मिति, पाँच छोराछोरीको समेत तिथि मिति लेख्नु भएको रहेछ। मावली बाको जन्ममिति १९७५ जेठ ८ गते मंगलबार (वैशाख शुक्ल एकादशी) तिथि परेको दिन पूर्व २ नं. सिन्धुलीगढी सुनकोशी छेउ नयाँखर्क पोखरी गाउँ भन्ने ठाउँमा भएको रहेछ। ग्वालटारमा पनि बराल थरको बस्ती र त्यसै वरपर ठूलो संख्यामा रहेको उल्लेख छ।
मावली बाको प्रारम्भिक शिक्षा आफ्नै स्थानीय गुरुकुलबाट सुरु भयो। बालिग उमेर भएपछि काशी–वनारस गएर उच्च शिक्षा संस्कृत पढ्नु भएको रहेछ। काशी वनारसबाट उच्च शिक्षा लिई घर फर्केपछि पहाडबाट (मधेस) तराईतर्फ (हाल जिल्ला महोत्तरी, गौशाला नगरपालिकाको गौशाला (गाईको संरक्षण र पालन गर्ने घर) नजिक स्थानीय ठूलो हाटबजार लाग्ने ठाउँको बीच बस्तीमा बसोबास आरम्भ गरेको भनी लेख्नु भएको छ। मावली बाले आफ्नो विवाहको बारेमा डायरीमा लेख्नु भएको अनुसार २००३ फागुन २७ गते भएको रहेछ। मावली बाको आफ्नै विवाहका बारेमा पढ्न पाउँदा त झन् पो दंगदास भएँ। डायरीमा लेखिएका अक्षर र वाक्यहरू राम्रो र स्पष्ट शुद्ध रूपमा लेखिएको पढ्न पाउँदा हर्षको सीमा रहेन। अनुभव गर्न पाएँ कि मावली बाको स्मरण शक्ति सुदृढ र अविस्मरणीय रहेछ।
विगतका दिनहरूलाई शेषपछि इतिहासको रूपमा थाहा जानकारी सन्तानले सजिलै पाउन् भनी दूरदृष्टि राख्नु खुसीको कुरो हो। जुन अध्ययन गर्दै जाँदा मावली बाका पाँच सन्तानमध्ये सबैभन्दा ठूलो जेठी छोरीको छोरा म नातिले एक शिक्षित पुर्खाको सन्तानको कोखबाट मेरो जन्म भएको रहेछ। यसरी, इतिहासको पाना पढेर गौरवान्वित भई सुखद अनुभव गर्ने अवसर पाएँ।
मावली बाको युवा उमेर कसरी ? अघि बढ्दै गयो भन्ने बारेमा कौतुहल उत्सुक मनले डायरीको पाना पल्टाउँदै पढ्दै जाँदा मावली बाले आफ्ना युवावयलाई अघि बढाउन ज्यादै मेहनत परिश्रम र संघर्षपूर्ण जीवन व्यतित गर्दै जानु परेको रहेछ। डायरीमा लेख्नु भएका धेरै उहाँका दैनिकी अभिव्यक्त गर्ने क्रममा लेखनकलालाई रोचक र सरल शैली बनाउनु भएको रहेछ भन्ने अनुभूति भयो।
मावली बा शिक्षित योग्य नागरिक हुनु भएकाले तत्कालीन समय (राजा महेन्द्रको शासनकाल) अवधिमा बडाहाकिम अञ्चलाधीश गौशाला (गाई पाल्ने घर)को निरीक्षण अवलोकन गर्न आएको सन्दर्भ उल्लेख छ। त्यसबखत मावली बालगायत अरू शिक्षित भएका भद्रभलादमी मानिस भेला भई बडाहाकिमसँग भेटघाट र परिचय कार्यक्रम भएछ। त्यसपछि गौशालाको कार्यालय कक्षभित्र मावली बालाई बडाहाकिमले बोलाएछन्। भनेछन्, आजको मितिदेखि लागू हुनेगरी यस गौशाला परिसर (गौ–संरक्षण र स्याहार गर्ने घर)मा म्यानेजर व्यवस्थापक भई कार्य सञ्चालन गर्ने भनी लेखिएको व्यहोरा (नियुक्ति पत्र) बडाहाकिमले दिएछन्। यस क्षेत्रका रोगी, गरिब, अनाथ, असहाय, विपन्न टुहुरा भएका यस समुदाय वरिपरिका जनतालाई गाईको दूध नि : शुल्क वितरण गरिदिनू भनेछन्।
गाईबाट जन्मिएका बाच्छा वा बाच्छी हुर्किएर बढेपछि बाच्छीलाई गोठमै हुर्काएर बढाउने र बाच्छाहरूलाई बहर गोरुको रूपमा खेतबारी जोत्न उपयोगमा ल्याउन स्थानीय हाटबजारमा बिक्री गर्न भनेछन्। जसबाट आएको आयस्रोतले गौशालाको कार्यालय सुसञ्चालन गर्न बैंकमा रकम जम्मा गरिदिने व्यवस्था भएछ। गाईहरूको सेवा टहल गर्ने गाईचरुवा आवश्यकता अनुसार राख्ने र (वेतन) तलब दिने र गौशाला परिसरभित्रका खाली जग्गाहरूमा खेतीबाली लगाउन ठेक्का प्रथाद्वारा उब्जनीको प्रबन्ध मिलाउने आदि जिम्मा तपाईंलाई दिएको छु भनी निर्देशन भएको रहेछ। यी कुरा मावली बाले डायरीमा लेख्नुभएको पढ्न पाउँदा म नातिको मन फुरुंग हुने नै भयो।
यो २०१८ साल (राजा महेन्द्रको शासनकाल अवधि) को समय थियो। २०१५ सालमा भएको संसदीय आमनिर्वाचनबाट देशको सबैभन्दा ठूलो पार्टी नेकाबाट चुनिएका बीपी कोइराला प्रधानमन्त्री (१६ महिना अवधि) लाई अपदस्थ गर्ने काम भयो। २०१७ पुस १ गते नयाँ पञ्चायत व्यवस्था लागू गरी संसदीय व्यवस्था खारेज गरिएको समय रहेछ त्यो। त्यहाँ रहेको गौशाला (गौ–संरक्षण र स्याहार गर्ने घर)को व्यवस्था बन्दोबस्त आरम्भ गर्ने पहिलो कार्य १९८३ सालमा राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जबराले स्थापना गर्न लगाएका रहेछन्। यी सबै कुरा मावली बाले आफ्नो डायरीमा उल्लेख गर्नुभएको रहेछ। यसरी एउटा अभिलेख नै तयार भएको आभास भयो। मानौं, त्यो नलेखिएको पुस्तक हो।
मावली बाले गौशालाको संरक्षण र संवद्र्धन कार्य सुव्यवस्थित ढंगले गर्नु भएको कार्यकुशलता देखेर तत्कालीन बडाहाकिमले अब तपाईंले यो नयाँ पञ्चायत व्यवस्थालाई अघि बढाउने कुशल र योग्य पञ्च भई पञ्चायतको निर्वाचनमा सहभागी उम्मेदवार हुनुपर्छ भनी भन्ने सल्लाहसुझाव मेनेजर भएको केही समय बितेपछि दिएका रहेछन्। त्यसपछि मावली बा पञ्चायत व्यवस्थाको निर्वाचनमा सहभागी भएर स्थानीय तत्कालीन गाउँ पञ्चायतको चुनावमा उपप्रधानपञ्च पदमा विजयी हुनु भएछ। त्यो समय राजा महेन्द्रको २०२८ सालमा निधन भएपछि युवराज वीरेन्द्र राजा भएपछिको समय थियो (त्यो कुरा २०२९ सालतिरको हो)।
पाँच वर्ष उपप्रधानपञ्च भई कार्य अवधि सकिएपछि अर्को स्थानीय पञ्चायत निर्वाचनताका मावली बाको स्वास्थ्य बिगिँ्रदै गएका कारण स्थानीय जनतालाई पुन : सेवा दिन असमर्थ भएँ भनी सुनाए। त्यसपछि स्थानीय वडाध्यक्ष पदमा तपाईंलाई निर्विरोध सर्वसम्मतिले हामी तपाईंलाई चुनावमा जिताउँछौं भनेपछि मावली बा राजी हुनुभयो। सर्वसम्मतले उहाँ वडाध्यक्ष पदमा रही स्थानीय जनतालाई सेवा दिन थाल्नुभएछ। वडाध्यक्ष हुनुभएको एक वर्ष बितेपछि उहाँको स्वास्थ्य झन् बिगिँ्रदै गयो। शरीरको अंग नाकको भागमा क्यान्सर रोग देखियो। तत्कालीन समयमा हाम्रो देश नेपालमा क्यान्सर रोगको उपचार गर्ने सफल विधि थिएन।
त्यस कारणले भारतको पटना गएर उहाँले उपचार गराउनु भयो। उपचार सफल नभएपछि क्यान्सर रोग बढ्यो। अन्तत : २०३४ मंसिरमा निधन भयो। मावली बाको डायरी पढेर महेन्द्रको शासनकाल अवधि २०१२ देखि २०२८ सालसम्मका घटनाक्रम थाहा पाएँ। वीरेन्द्रको राज्यारोहण भएको २०३१ देखि २०३४ सालसम्मको हाम्रो नेपाल देशको सामाजिक र राजनीतिक गतिविधि (ऐतिहासिक कालखण्ड)लाई बाका आँखाबाट अध्ययन गर्न पाएँ। मावली बा पूर्णप्रसाद उपाध्याय बरालज्यूमा शब्द श्रद्धासुमन अर्पण गर्दछु।
प्रतिक्रिया दिनुहोस !