टिओबी र तेन्जिनविरुद्ध प्रहरी अझै अनुसन्धानमा, खुलेन वास्तविक पहिचान

टिओबी र तेन्जिनविरुद्ध प्रहरी अझै अनुसन्धानमा, खुलेन वास्तविक पहिचान

काठमाडौं : टिओबी गुप्रका तेन्जिन दावा लामा यतिखेर प्रहरी हिरासतमा छन्। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाडौंमा विभिन्न तीन वटा कसूरमा अनुसन्धान भइरहेको छ। गत असोज २६ गते बुढानिलकण्ठ-११ कपनबाट पक्राउ परेका लामाको पूरा विवरण अहिलेसम्म खुलेको छैन। 

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार एक कार्यक्रम गरी टिओवी गुप्रको पूरा विवरण सार्वजनिक गर्‍यो। काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनीविरुद्ध लिखत सम्बन्धी कसूर, नागरिकता सम्बन्धी कसूर, राहदानी सम्बन्धी कसूर तथा लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीबाट बरामद गरिएका कागजात हेर्दा विद्यालयको प्रमाणपत्रदेखि नागरिकता, राहदानीसमेत नक्कली बनाएको देखिन्छ। कुनै पनि कागजात दर्ता भएको देखिँदैन।

उनले पढेको भनिएको स्कुलमा समेत उनको रेर्कड छैन। नागरिकता र राहदानीमा समेत गलत विवरण देखिन्छ। उनको बाबु आमाको बारेमा कुनै विवरण पत्ता लागेको छैन। २०१७ मा ट्याटु हाउसबाट सार्वजनिक भएका तेन्जिनले २०२४ अक्टोबरमा बाइकर्स ग्रुप बनाएको देखिन्छ। बौद्धमा रहेको फुलबारी कम्प्लेक्समा २०१७ देखी टिओबी नामको ट्याटु हाउस सञ्चालन गरी त्यहीँबाट टिओबीको धारणा सुरुवात भएको प्रहरीको अनुसन्धानले देखाएको छ। अहिलेसम्म यो गुप्र कहीँ दर्ता गरिएको छैन।  

यो गुप्रमा ५७ जना सदस्य थिए। अध्यक्षको रूपमा लामाले नै गुप्रको नेतृत्व गरेका थिए। मोटरसाइकल भएका साथीहरूबीच घुम्ने, भेटघाट गर्ने र सामाजिक सेवा गर्ने भनेर यो समूह अनलाइनमार्फत खोलिएको थियो। तेन्जिनसँगै यो गुप्रमा सोनाम शेर्पा र एरेन राई पनि जोडिन्छन्। तेन्जिनले प्रहरीलाई बयान दिएअनुसार टीओबीको अर्थ तिब्बेतियन ओरिजन ब्लड नै हो। उनीहरूले फेसबुक र इन्स्टाग्रामको पेजमा पनि द तिब्बेतियन ओरिजिन ब्लड लेखेका छन्। टीओबीको डिजाइनर तेन्जिन आफैं हुन्। प्रहरीले टिसर्ट नै देखाएर विभिन्न संस्था र व्यक्तिसँग बुझ्दा ड्रागनको चित्रले योद्धाको रूपमा चिनाउने गरेको जवाफ पाएको छ। आफ्नो ओरिजिनल ब्लडप्रति गौरव गर्ने योद्धाको रूपमा यो गुप्रले काम गर्न थालेको देखिन्छ। 

यो ग्रुपको लोगोमा भएको हाकिम भने टीओबीकै अर्का सदस्य सुरेन्द्र गुरुङ हुन्। भदौ २३ को जेन्जी आन्दोलनका क्रममा यो समूहबाट २० वटा मोटरसाइकलमा ३१ जना सहभागी भएका थिए। मोटरसाइकल चलाउने व्यक्तिले हाकिम लेखिएको टीओबी टिसर्ट लगाएका थिए।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार आन्दोलनमा टीओबीको टिसर्ट लगाएर बुलेट बाइक पड्काउँदै पुगेका अधिकांश व्यक्तिहरू विद्यार्थी छन्। तेन्जीनको अहिलेसम्म कुनै यकिन विवरण नखुले पनि यो गुप्रमा सहभागी अन्य व्यक्तिहरू भने नेपाली नै रहेको र उनीहरू विभिन्न कलेजमा पढ्दै गरेका छन्। प्रहरीले शंकास्पद् विभिन्न २६ जना व्यक्तिलाई निगरानी तथा निरन्तर सम्पर्कमा राखेको छ। प्रदर्शनमा लगिएका १४ वटा मोटरसाइकल पनि नियन्त्रणमा राखिएको छ। 

टीओबी हाकिम लेखिएको टिसर्ट १३ जना क्रमशः तेन्जिन, सिद्धार्थ तामाङ, विशाल तामाङ, एल्भिक घले, निमेश श्रेष्ठ, लाक्पा सोनाम शेर्पा, सम्वृद्ध कार्की, अनिल पराजुली, अपसन तामाङ, एरिन राई, विभुषण पन्थी, सम्राट खत्री र योगेश गुरुङसँग रहेको प्रहरीले फेला पारेको छ । चाबहिलस्थित लाभिस गार्डेन रेस्टुरेन्ट र गोपीकृष्ण हलनजिक ‘चिया बस्ती’ नामको चिया पसलमा उनीहरूको भेटघाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। भदौ २२ मा पनि उनीहरूले प्रदर्शनमा सहभागी हुने सूचना सार्वजनिक गरेका थिए। 

भदौ २३ गते बिहान ११ बजे चिया बस्तीमा भेट भएर उनीहरू २० वटा मोटरसाइकलमा बिजुलीबजारतर्फ गएका थिए। प्रवक्ता भट्टराईका अनुसार यो ग्रुपले १२ बजे बिजुली बजार पुलमा पुगेर बाइक पड्काउँदै नारा जुलुस लगाएर भीड उत्तेजित बनाएको थियो। त्यही बेला ‘मलाई मेरो देश फिर्ता चाहियो, मेरो देश मेरो शान’ भनेर नारा लगाएको थिए। उनीहरू सबैजनाले बाइक पड्काउँदै केही वेरसम्म नारा लगाइरहे। यसैक्रममा अर्को समूहले हानेको ढुंगाले लागेर तेन्जीनको टाउकोमा चोट लागेको थियो। 

हाकिम भनेर चिनिने सुरेन्द्र गुरुङले आफैंलाई टीओबी ग्रुपको रोलमोडल भन्ने गरेका छन्। तेन्जिनले पनि बयानमा सुरेन्द्रकै अनुमति लिएर लोगोको माथि हाकिम लेखेको उल्लेख गरेका छन्। सुरेन्द्र गुरुङ र्‍यापर हुन्। हाकम इन्टरटेनमेन्ट प्राइभेट लिमेटेड नामक कम्पनी चलाउँदै आएका हाकिम टिओवीसँग प्रत्यक्ष संलग्न भने छैनन्। उनीहरूले चिसोचिसो बोलको गीतको सुटिङको क्रममा भेट भएको र टिओवीलाई द ओरिजनल ब्रर्दस भनेर चिनाउन लगाएको बयान प्रहरीमा दिएका छन्।

यो ग्रुप ६/६ महिनामा उपत्यका बाहिर लामो यात्रामा निस्कने गरेको प्रहरीले जनाएको छ। हालसम्म मुस्ताङ, अपर मुस्ताङ, पोखरा गरेर नौपटक उपत्यकाबाहिर बाइक राइड गरेको उनीहरूले प्रहरीलाई बताएका छन्। काठमाडौं उपत्यकाभित्र भने यो ग्रुप सुन्दरीजल, तारेभिर र गोकर्ण पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.