काठमाडौं : निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। रक्षा सचिव अर्याललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ औं मुख्यसचिवमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएपछि सरकारले सुमन अर्याललाई बुधबारबाट लागू हुने गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
एकनारायणको मंसिर १० गते कार्यकाल सकिँदैछ। एकनारायणसँगै पहिलो नम्बरमा रहेका सचिव गोकर्णमणि दुवाडी पनि अवकाश हुनेछन्। प्रशासन सेवा तथ्यांक समूहका सुमन अर्याललाई सरकारले मुख्यसचिव बनाएको छ। शासकीय प्रबन्धका राम्रो जानकार अर्याल
सुमन अर्याल २०५३ साल वैशाख १९ गते तथ्यांक अधिकृतबाट सेवा प्रवेश गरेका थिए। २०६६ साल वैशाखमा उपसचिवमा बढुवा भए। उनी २०६८ माघमा सहसचिव भएका थिए।
२०७७ माघ १९ गते सचिव भएका थिए। सचिव भएपछि कोशी प्रदेशको प्रमुख सचिव भएका थिए। त्यसपछि महालेखा नियन्त्रक भए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए। त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय भए। रक्षापछि मुख्यसचिव बन्न सफल भए।
काठमाडौंको जोरपाटी घर भएका अर्यालले विज्ञानका विद्यार्थी हुन्। २०२५ असार २५ मा जन्मेका अर्यालले त्रिभुवन विश्वविद्यालयबाट तथ्यांक शास्त्रमा स्नातकोत्तर (एमएस्सी) गरेका छन्। मुख्य सचिवमा नियुक्त भएका अर्यालको कार्यअवधि करिब साढे ७ महिना हुनेछ। मुख्यसचिव अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।
मुख्य सचिवको प्रतिस्पर्धामा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर थिए। त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे छन्।
नेपालको पहिलो मुख्यसचिव चन्द्रबहादुर थापा हुन्। राजा महेन्द्रले उनले २०१२ असोज २८ गते नियुक्त गरेका थिए। उनी २०१६ असार १४ गतेसम्म कार्यरत रहे। थापापछि कुलशेखर शर्मा मुख्यसचिव भए। त्यसपछि कृष्णबम मल्ल, क्षेत्रविक्रम राणा, प्रद्युुम्नलाल राजभण्डारी, कृष्णबहादुर मानन्धर, भोगेन्द्रनाथ रिमाल मुख्यसचिव भए । कर्णध्वज अधिकारी, लोकबहादुर श्रेष्ठ, दामोदरप्रसाद गौतम, मधुसुदनप्रसाद गोर्खाली, डा.ईश्वरप्रसाद उपाध्यय, बलरामसिंह मल्ल, तीर्थमान शाक्य, केशवराज राजभण्डारी पनि नेपालका मुख्यसचिव छन्।
विमल कोइराला, लोकमानसिंह कार्की, मुकुन्द शर्मा पौडेल, डा. भोजराज घिमिरे, माधवप्रसाद घिमिरे, लीलामणि पौड्याल, डा. सोमलाल सुवेदी, राजेन्द्रकिशोर क्षेत्री, लोकदर्शन रेग्मी, शंकरदास बैरागी, डा. बैकुण्ठ अर्याल हुँदै लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव भइन्। गड्तौलापछि एकनाराण अर्याल हुँदै अब सुमनराज अर्याल मुख्यसचिव भएका छन्।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
