निर्वाचन सुरक्षाप्रति दलको चिन्ता, सरकार भन्छ– आशंका नगर्नुहोस्

निर्वाचन सुरक्षाप्रति दलको चिन्ता, सरकार भन्छ– आशंका नगर्नुहोस्

काठमाडौं : फागुन २१ गते घोषित निर्वाचनमा दलहरूले सुरक्षा चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार भएको सर्वपक्षीय वार्तामा दलहरूले भागेका कैदी र लुटेका हतियार फिर्ता नभएसम्म निर्वाचनको वातावरण बन्न नसक्ने बताएका छन्। उनीहरूले आपधारिक पृष्ठभूमिका कैदीबन्दीहरू जेलबाहिर नै रहेको र ठूलो परिमाणमा हतियार हराएकाले निर्वाचन सुरक्षाको वातावरण बनिनसकेको बताए। 

आन्दोलनमा लुटिएका प्रहरीका हतियार सरकारले फिर्ता गर्न नसकेको भन्दै उनीहरूले सुरक्षाप्रति चिन्ता प्रकट गरेका छन्। जेन–जी अगुवा भनिएकाहरूले नै दलहरूलाई धक्याउने र चुनाव हुन दिँदैनौं भन्दै हिँडेकाले निर्वाचनको वातावरण नबनेको उनीहरूको तर्क छ। बैठकपछि कांग्रेस नेतृ पुष्पा भुसालले निर्वाचनमा कुनै पनि सुरक्षा थ्रेट स्वीकार गर्न नसकिने बताएकी छन्। नेतृ भुसालले कांग्रेसले बैठकमा राखेको धारणा सुनाउँदै भनिन्, ‘कुनै पनि किसिमको थ्रेटलाई कांग्रेसले स्वीकार गर्दैन भनेर स्पष्ट भनेका छौं। यदि राजनीतिक दल, उम्मेदवार, मतदाता, मतदानकेन्द्रमा कुनै किसिमको थ्रेट भयो भने त्यसको जिम्मेवार सरकार नै हुनुपर्छ भन्ने हाम्रो धारणा हो भनेर भनेका छौं।’ 

उनले सुरक्षा चुनौतीहरूको समाधान गर्न सरकारलाई बैठकमा सुझाव दिएको पनि बताएकी छन्। तोकिएका मितिमा निर्वाचनमा जान कांग्रेस तयार रहेको पनि बैठकमा जानकारी गराएको उनले बताएकी छन्। उनले भनिन्, ‘यो सरकारलाई फागुन २१ गते निर्वाचनबाट भाग्ने छुट छैन।’

उनले सर्वपक्षीय बैठक मुलुक निर्वाचन उन्मुख भएको आभास भएको पनि बताएकी छन्। एमालेले पनि निर्वाचनका लागि सुरक्षाको वातावरण नबनेको बताएको छ। एमाले नेता महेशकुमार बर्तौलाले आफूले निर्वाचनको वातावरण बनेको अनुभूति गर्न नपाएको धारणा बैठकमा राखेको जानकारी दिए। नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले फागुन २१ को निर्वाचनलाई सफल बनाउने विषयमा सर्वदलीय बैठकमा छलफल भएको बताए। 
उनले यो चुनावी सरकार भएकाले सरकारको अर्जुनदृष्टि पनि चुनाव नै हुनुपर्ने विषयमा जोड दिइएको बताए। ‘यो चुनावी सरकार हो, सरकारको अर्जुनदृष्टि चुनावमा नै हुनुपर्छ। अध्यादेश ल्याउने जस्ता अरू कुरा लाग्ने काम गर्नुहँुदैन भनेका छौं,’ उनले भने। उनले शान्ति सुरक्षाको वातावरण अझै नबनेको बताए। 

रास्वपाकी नेतृ सोविता गौतमले पनि भयरहित वातावरणमा चुनाव गराउने जिम्मा सरकारको भएको बताएकी थिइन्। उनले निर्वाचनको वातावरण पनि बन्दै गएको बताइन्। रास्वपाका नेताले रवि लामिछानको विषयमा बैठकमा प्रवेश गराएका थिए। 

राप्रपाका नेता भुवन पाठकले निर्वाचन हुनुभन्दा पहिला नै जेन–जी, राजसंस्था र दलहरूबीच नवीन समझदारी गरेर निर्वाचनमा जानुपर्ने बताए। उनले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिनुपर्ने विषयमा कुरा राखेको बताए। 
प्रधानमन्त्री सुशीला कार्कीले चुनावका सम्बन्धमा आशंका नगर्न दलहरूलाई आग्रह गरेकी छन्। उनले सरकार चुनाव गराउन तयार रहेकाले चुनावमा लाग्न आग्रह गरेकी छन्। 

राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौं। कसरी चुनाव सफल पार्ने भनेर सोचौं। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन।’ उनले सबै एकमत भएमा चुनावमा कसै खलल पार्न नसक्ने स्पष्ट बताएकी छन्। उनले भनिन्, ‘१२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौं भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्त्वले आक्रमण गर्न सक्दैन।’ प्रधानमन्त्री कार्कीले सुरक्षाको व्यवस्था बनाउन आमसमुदायले सरकारलाई सहयोग गर्न पनि आह्वान गरेकी छन्। 

सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्,’ उनले भनिन्। प्रधानमन्त्री कार्की राजनीतिक दल, निर्वाचन आयोग र चारै सुरक्षा निकया एकै ठाउँमा बसेर निर्वाचन तयारीबारे गहन समीक्षा गरेको बताएकी छन्। उनले निर्वाचन हुनुपर्ने र सबै निर्वाचनप्रति प्रतिबद्ध रहेको बैठकको सन्देश रहेको स्पष्ट पनि पारेकी छन्। 

युवाहरूको आवाज, हालैका अप्रत्याशित घटना, सुरक्षा चुनौती र जनभावनालाई मध्यनजर गर्दै एककताबद्ध भएर अगाडि बढ्नेछौं, निर्वाचन आयोग पूर्ण सक्रिय छ, सुरक्षा निकायहरू तयारी अवस्थामा छन्, उनले भनेकी छन्। उनले आफू दलहरू विरोधी नभएको स्पष्ट पारेकी छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको वातावरण अझै बढी सुनिश्चित भएको बताए। उनले देश निर्वाचन उन्मुख भइसकेको दाबी पनि गरे। सरकारको तर्फबाट संयुक्त सुरक्षा कार्य योजना, रणनीति नै बनाएर अघि बढेको स्पष्ट पारे। उनले सुरक्षामा केन्द्रित भएर छलफल भएको बताए। भाग नलिने पार्टीहरू, आपराधिक व्यक्तिहरूबाट, राजनीतिक दलहरूबीच अस्वस्थ्य प्रतिस्पर्धाले मुडभेड निम्त्याउन सक्छ, साइबर थ्रेट, फेक न्युज, मिथ्या सूचनाको विषयमा खुलेर छलफल भएको उनले बताए। 

सुरक्षा निकाय प्रमुखहरूले सुरक्षा निकायक सुरक्षा दिन सक्षम छ भनेर भनिसकेको बताए।  ‘उम्मेदवार गाउँगाउँ पसिसकेका छन्। दलहरू भित्री तयारी गरिरहेका छन्। दल र जनता दुवै निर्वाचनमा जान तयार छन्, उनले भने, ‘यसले निर्वाचन लागिसकेको स्पष्ट हुन्छ।’ उनले सुरक्षा निकाय सुरक्षा दिन तयार रहेको, निर्वाचन आयोग निर्वाचन गर्न प्रतिबद्ध रहेको, सरकार वातावरण मिलाउन लागिरहेको बताए। 

सर्वपक्षीय बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत प्रमुख राजनीतिक दलहरूका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

बैठकमा नेपाल, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतमलगायतको उपस्थिति रहेको थियो। त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.