अर्थतन्त्र सहजतातर्फ उन्मुख : ‘लगानी परिचालनमा नीतिगत प्रयास आवश्यक’
काठमाडौं : समग्र मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक गतिविधिमा उथलपुथल आए पनि क्रमशः अर्थतन्त्रको अवस्था सहजतातर्फ उन्मुख रहेको तथ्यांकले प्रतिबिम्बित गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८२ को ४ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो सकारात्मक संकेत गरेको हो।
केन्द्रीय बैंकको तथ्यांकअनुसार अर्थतन्त्रको वृत्त सरसर्ती हेर्दा विदेशी विनिमय सञ्चिति निरन्तर बढेको, रेमिट्यान्स वृद्धिले जनजीवन सहज, शोधनान्तर निरन्तर बचतमा रहेको छ। अर्कोतर्फ अहिले न्यून मुद्रास्फीति, कर्जाको ब्याजदर न्यून, अधिक तरलताको स्थितिमा छ।
केन्द्रीय बैंककाअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.११ प्रतिशत छ। यता कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ। यस्तो सञ्चितिले मुलुकमा १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यससँगै, चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर ३ खर्ब १८ अर्ब ४० करोड रूपैयाँ बचतमा छ।
विदेशी मुद्राको सबैभन्दा ठूलो स्रोत विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ। जसले चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रूपैयाँ छ। तर ४ महिनासम्ममा यस्तो रेमिट्यान्स कुल ६ खर्ब ८७ अर्ब १३ करोड रूपैयाँ पुगेको छ। यससँगै, मुलुकको निर्यात ७७.५ प्रतिशतले र आयात १८.७ प्रतिशतले बढेको छ।
यता सरकारको खर्च समग्रतामा ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड रूपैयाँ छ। विस्तृत मुद्राप्रदाय ३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ। यससँगै, बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.९ प्रतिशत छ। जसले, बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ। जसले, अन्ततः वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशतमा सीमित छ।
परिणामस्वरूप यसरी कर्जाको ब्याजदर कम हुदै गएकोले सस्तो ब्याजदरमा अहिले लगानी गर्ने उपयुक्त अवसर हो। तथापि बैंकहरूमा थप कर्जाको खासै माग नआएको र व्यवसायीहरू पनि जेन–जी आन्दोलनपछि लगानीमा सुरक्षाको सुनिश्चितता नदेखेकाले यतिबेला मनोबल कमजोर भएको बताउँदै आएका छन्।
यद्यपि, अहिलेको अर्थतन्त्रको वृत्त सरसर्ती हेर्दा लगानीका लागि राम्रो वातावरण बनेको तर्क गर्छन् , नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गुणाकर भट्ट। उनी भन्छन्, ‘ब्याजदरको हिसाबले र आर्थिक वृद्धिको हिसाबले हेर्दा यो समय लगानीका लागि अनुकूल बेला देखिन्छ। साथै, बाह्य क्षेत्र पनि असाध्यै अनुकूल भएको छ। विदेशी विनिमय सञ्चिति वा रेमिट्यान्स प्रवाहले बाह्य क्षेत्रलाई थप बलियो बनाएको छ।’ तर लगानी परिचालनमा नीतिगत प्रयास आवश्यक भएको उनले टिप्पणी गरे।
चुनौती सल्टाउन नीतिगत प्रयासमा जोड दिन सुझाव
अहिलेको अनुकूल अवस्थालाई पुँजी परिचालनमा प्रयोग गर्नुपर्ने मुख्य चुनौती रहेको ाष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. भट्ट औंल्याउँछन्। उनले सुझाव दिंदै भने, ‘मुख्य रूपमा प्रयास गरिनु पर्ने क्षेत्रहरूमा नीतिगत विषयहरू, लगानी योग्य वातावरण सिर्जना गर्ने, बजारमा आत्मविश्वास बढाउने र कसरी लगानीकर्ताको आत्मविश्वास बढाउने भन्ने विषय प्रमुख छन्।’
यो राम्रो अवस्थामा निजी क्षेत्रको लगानी बढाउन र सरकारको विकास निर्माण खर्च (पुँजीगत खर्च) बढाउनुपर्ने खाँचो रहेको उनको भनाइ छ। समग्रमा हालको आर्थिक तथ्यांकले नेपाललाई वित्तीय र बाह्य स्थायित्व दिएको छ। तर, त्यसलाई दिगो विकास र लगानीमा बदल्न नीतिगत सक्रियता अनिवार्य देखिनेतर्फ डा.भट्टले सम्बद्ध निकायको ध्यानाकर्षण गराए।
यससँगै अर्थविद् डा. डिल्लिराज खनाल नेपालको अर्थतन्त्रले बाह्य क्षेत्र बलियो भए पनि आन्तरिक रूपमा गम्भीर चुनौतीहरू भोगिरहेको टिप्पणी गर्छन्। ‘नेपालको बाह्य क्षेत्र बलियो रहेको तथ्यांकले देखाउँछ। जहाँ सञ्चिति बढ्नु र रेमिट्यान्स बढ्नु सकारात्मक पक्ष हो। यसले नीतिगत रूपमा सुविधा प्रदान गरेको छ। तर, आन्तरिक अर्थतन्त्रमा भने समस्या गहिरो छ,’ डा. खनालले अन्नपूर्णसँग भने, ‘ ब्याज दर घटेको अवस्था भए पनि ऋणको माग नहुँदा बैंकिङ प्रणालीमा सरलता अधिक भएको अवस्था छ।’ उनकाअनुसार नेपालमा लगानीको लागत छिमेकी मुलुक भारतको तुलनामा २५ देखि ३० प्रतिशतसम्म बढी रहेको पाइएको छ। यो उच्च लागतले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बन्न नदिएका उनले औंल्याए।
अर्थतन्त्रलाई उकास्न परम्परागत शैलीभन्दा माथि उठ्न जोड
अर्थविद् डा.खनालले म्याक्रो इकोनोमिक पोलिसीको विस्तृत समीक्षा गर्दा साना उद्योग र व्यवसायको अवस्था सबभन्दा खराब रहेको पाइएको एक अध्ययनले निष्कर्ष निकालेको जानकारी दिए। तीमध्ये करिब चार पाँच लाखले त रजिस्टर नै नगरेको बुझिएको उनको भनाइ छ।
यसकारण डा. खनालले अर्थतन्त्रलाई उकास्नका लागि परम्परागत शैलीभन्दा माथि उठेर ठोस कदम चाल्नुपर्नेतर्फ ध्यानाकर्षण गरे। बैंकमा जम्मा भएको पैसा उत्पादक क्षेत्रमा लगानी हुनुपर्ने र त्यो लगानी तल्लो तहको ग्रासरुटका लगानीकर्ताहरूलाई लक्षित हुनुपर्ने उनले बताए। ‘तल्लो तहका लगानीकर्ताहरूले पैसाको पहुँच र बजारको सुविधा पाउनु आवश्यक छ। यदि, बलियो बाह्य क्षेत्रले प्रदान गरेको सुविधालाई प्रयोग गरी अर्थतन्त्र उकास्न सकिएन भने यो अवसर व्यर्थ जानेछ,’ डा. खनालले थपे।
प्रतिक्रिया दिनुहोस !