जेन—जी, जेन अल्फा मनोविज्ञान

जेन—जी, जेन अल्फा मनोविज्ञान

बालमस्तिष्कमा सबै नेता भ्रष्ट हुन्, उनीहरूले सरकारी संयन्त्रको दुरुपयोग गरी जनताको श्रम पसिना शोषण गरेका छन् भन्ने भाष्य स्थापित भयो। जसले गर्दा मुली अर्थात् अभिभावकीय भूमिकामा रहेको व्यक्तिप्रतिको आस्था, सम्मान र विश्वासको संकट पैदा भयो।

बाल्यकाल शारीरिक वृद्धि र विकासका लागि मात्र होइन, विचार, व्यक्तित्व र जीवनदृष्टि निर्माणका लागि जीवनकै कोसेढुंगो हो। घरपरिवार, समाज र विश्व परिवेशमा घटेका विभिन्न घटनाले बालबालिकाको संवेगात्मक, भावात्मक र मानसिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव पारेका हुन्छन्। उनीहरूले सामाजिक क्रियाकलापलाई आफ्नै किसिमले मूल्यांकन गरी कुनै घटनालाई आदर्श र कुनैलाई अनुचित भनी विश्लेषणसमेत गरेका हुन्छन्। जीवनका यावत् घटनालाई आफ्नै किसिमले अथ्र्याउने भएकाले बाल्यकालमा उचित परिवेश र मार्गदर्शन आवश्यक हुन्छ। यसैबाट निर्माण भएको सकारात्मक वा नकारात्मक मनोविज्ञानले बालबालिकाको व्यक्तित्व निर्माण भई चिन्तन र व्यवहारगत प्रवृत्तिले स्थायित्व प्राप्त गर्छ।

घरेलु हिंसा वा सामाजिक अपहेलनामा परेका बालबालिकामा प्रतिशोधी भावना सँगसँगै हीनता ग्रन्थीले व्यक्तित्वलाई प्रभाव पारेको हुन्छ। उनीहरूले जीवनका हरेक क्षणमा गर्ने क्रियाकलाप र जुनकुनै घटनालाई हेर्ने दृष्टिकोण बाल्यकालमा भोगेका यिनै घटनाबाट निर्देशित हुने गर्छन्। सकारात्मक पारिवारिक परिवेशमा हुर्केका बालबालिकाको जीवनदृष्टि सिर्जनात्मक र रचनात्मक रहने गरेको पाइएको छ। व्यक्तित्व निर्माणको महŒवपूर्ण स्थल घरपरिवार र समाजलाई मानेजस्तै बाल्यकाल व्यक्तित्व निर्माणको सर्वाधिक संवेदनशील र महŒवपूर्ण क्षण हो भन्ने कुरामा मनोवैज्ञानिकहरू एकमत छन्। पूर्वीय दर्शनले पनि अनुशासन, संस्कार, आचरण र जीवनपद्धति सिकाउन उपयुक्त समय १६ वर्षसम्मको उमेर हो भन्ने निष्कर्ष निकालेको छ। अध्ययनहरूले संकुचित, हिंस्रक र अपहेलित परिवेशमा हुर्केका बालबालिकाको चिन्तन उदार र विस्तृत बन्न नसकेका नतिजा निकालेका छन्। व्यक्तित्व निर्माणकै क्रममा थुप्रिएका कुण्ठा र नकारात्मक क्रियाकलापको प्रतिविम्बन प्रौढ अवस्थामा पुगिसकेपछि पारिवारिक जीवन र कार्यक्षेत्रमा समेत झल्कन्छ।

समाजमा अनेक किसिमका घटना घटेका हुन्छन्। सबै घटनाले बालबालिकामा उत्तिकै र उस्तै प्रभाव पार्न सक्दैनन्। आफ्नो जीवन र उमेरसमूहसँग सम्बन्धित विषयले उनीहरूलाई धेरै प्रभाव पार्ने गर्छ। पछिल्लो समय गत भदौ २३ र २४ गते देशभर प्रदर्शन र हिंसात्मक घटनाहरू भए। जेन—जी अर्थात् १२ वर्षदेखि २८ वर्ष उमेरसमूहका बालबालिका र युवा नै स्वस्फुर्त रूपमा आयोजक बनेको प्रदर्शन अत्यन्त क्रूर र हिंसात्मक बन्दा यसले बाल मनोविज्ञानमा नकारात्मक असर पार्‍यो। प्रदर्शनमा सहभागी बालबालिका दमन तथा भौतिक संरचनाको क्षतिबाट प्रत्यक्ष प्रभावित भए भने आफ्नै विद्यालय, कलेजका साथीले प्रदर्शनकै क्रममा घाइते हुनु परेको वा मृत्युवरण नै गर्नु परेको घटनाले उनीहरूमा गहिरो मानसिक तनाव र आघात सिर्जना गर्‍यो। आफ्नै उमेरका बालबालिकाले प्रदर्शन गरेको र उनीहरूमाथि निर्घात दमन भएको घटनाले आन्दोलनमा सहभागी नभएकालाई पनि उत्तिकै प्रभाव पारेको देखियो।

सञ्चार माध्यमबाट प्रसारण भएका सूचना र घटनासम्बन्धी भिडियोहरूले उनीहरूको मानसिक अवस्थालाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने काम गर्‍यो। जेन—जी समूहका नाममा भएको प्रदर्शनले यस समूहका हरेक व्यक्तिलाई आन्दोलनप्रति अपनत्वबोध गर्ने परिस्थिति निर्माण गर्‍यो भने प्रतिरोधले अघिल्लो पुस्ताप्रतिको दृष्टिकोणलाई नकारात्मक बनायो। आन्दोलनले बालबालिकामा सामूहिक रूपमा केही गर्‍यौं भने कसैले पनि रोक्न सक्दैन भन्ने भावनाको विकास भयो। यसले केही बालबालिकामा अनुशासन उल्लंघन गर्नु बहादुरी हो भन्ने भावनाको समेत विकास गरेको देखियो। कलिला बालबालिकाले मृत्युवरण गरेको बीभत्स दृश्यले उनीहरूमा मानसिक आघात तथा आफ्नो समूहभन्दा बाहेकका व्यक्तिलाई विश्वास गर्न नसक्ने शंकालु मनोवृत्तिको विकास गर्‍यो।

अहिलेका बालबालिका अर्थात् जेन—जी पुस्ता इन्टरनेट र समान उमेरकै साथीहरूसँग बढी रमाउने पुस्ताका रूपमा चिनिन्छन्। उनीहरूले एकआपसमा गर्ने संवादको भाषा र लवजसमेत विशिष्ट हुन्छ। विगतमा भएका आन्दोलन विभिन्न समूहका रूपमा संगठित व्यक्तिहरूबाट हुने गरेका थिए। जसमा फरकफरक उमेरसमूहका व्यक्तिहरू एकैपटक सहभागी हुने गर्थे। यसैले ती आन्दोलनको प्रभाव सामान्य रूपमा सबै समूहलाई पर्ने गथ्र्यो तर अहिलेको आन्दोलन निश्चित उमेरसमूहका किशोरकिशोरी र युवायुवती केन्द्रित भएकाले यसले आफ्नो उमेरसमूहभन्दा भिन्न समूहका व्यक्तिहरूप्रति अविश्वास गर्ने एवं प्रतिद्वन्द्विताको भाव सिर्जना गर्ने काम गरेको देखिन्छ। जसका कारण हरेक घरपरिवारमा वैचारिक ‘जेनेरेसन ग्याप’ स्पष्ट रूपमा देखा पर्न थालेको छ।

बंगलादेशमा भएको आन्दोलनको प्रभाव स्वरूप बालबालिका विद्यालयमा समेत सामूहिक सौदाबाजीका लागि संगठित हुने एवं उमेरसमूहभन्दा बाहेकका व्यक्तिलाई बहिष्कार गर्ने प्रवृत्ति बढेको पाइन्छ। नेपाली समाज विभिन्न वर्ग, समूह र सम्प्रदायका बीचमा घनिष्ठ सम्बन्ध राखी सौहाद्र्रपूर्ण वातावरणमा रहेको छ। उमेरसमूह विशेषको आन्दोलनले समाजमा एक किसिमको द्वन्द्वात्मक अवस्था सिर्जना गर्ने सम्भावना भने बढ्दै गएको छ। दोस्रो दिनको घटनाले बालबालिकामा राज्यविहीनता र अनाथ भएको भाव विकास गर्‍यो। समाजमा सुशासन कायम गर्न कुनै न कुनै केन्द्र वा मियो छ भन्ने परम्परागत धारणालाई त्यस दिनको घटनाले गलत प्रमाणित गरिदियो। यसको असरस्वरूप केही बालबालिकामा देशभित्र सुरक्षा र हाम्रो भविष्य छैन भन्ने भावनाको समेत विकास गरेको पाइयो।

कोमल बालमस्तिष्कमा सबै नेता भ्रष्ट हुन्, उनीहरूले सरकारी संयन्त्रको दुरुपयोग गरी जनताको श्रम पसिना शोषण गरेका छन् भन्ने भाष्य स्थापित भयो। जसले गर्दा मुली अर्थात् अभिभावकीय भूमिकामा रहेको व्यक्तिप्रतिको आस्था, सम्मान र विश्वासको संकट पैदा भयो। यस घटनाले बालबालिकामा आधिकारिक व्यक्तिमाथि अविश्वास गर्ने अर्थात् घर, समाज, विद्यालय वा अन्य कुनै पनि स्थानमा नेतृत्व गर्ने व्यक्तिप्रति वितृष्णा सिर्जना गर्ने मनोवृत्तिको समेत विकास भएको छ। सबै नेता खराब होइनन्, शक्तिमा पुगेका सबै व्यक्तिले शक्तिको दुरुपयोग गर्दैनन् भन्ने धारणा विकास गर्नका लागि उपयुक्त मनोपरामर्श आवश्यक छ। प्रौढ व्यक्ति जसरी यी घटनाबाट सामान्य जनजीवनमा फर्कन सक्छन् बालबालिका त्यसरी सहज रूपमा सामान्य अवस्थामा फर्कन सक्दैनन्। उनीहरूको अचेतन मनमा द्वन्द्वका घटनाले पारेका सकारात्मक र नकारात्मक प्रभाव थुप्रिएका हुन्छन्। यिनले उनीहरूको व्यक्तित्व निर्माण र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणसमेत बदलिदिएका हुन्छन्। विशेषतः आघात वा ट्रमा खेपेका बालबालिकालाई 
मनोसामाजिक परामर्श अति आवश्यक पर्छ।

घरपरिवारमा बालबालिकासँग कुरा गर्ने सन्दर्भमा जेन—जीका कारणले यस्तो भयो वा उस्तो भयो भन्नुको सट्टा सामाजिक विकृति अन्त्य गर्न नयाँ पुस्ताले सुरु गरेको अभियान राम्रो हो भनी उनीहरूका कामलाई समर्थन गर्दै अन्य विषयमा सम्झाउनुपर्छ। विद्यालयका सन्दर्भमा अनुशासनका नाममा विद्यार्थीलाई आफ्ना कुरा अभिव्यक्त गर्न अंकुश लगाइयो भने उनीहरू अराजक बन्ने सम्भावना रहन्छ। विद्यार्थीको मनोभावनालाई बुझी उनीहरूलाई राज्यका जिम्मेवार व्यक्ति हुन् भन्ने किसिमले व्यवहार गरियो भने मात्र उनीहरूले आत्मपहिचान प्राप्त गरेको महसुस गरी नेतृत्वप्रति सकारात्मक व्यवहार प्रदर्शन गर्न सक्छन्। यसको विपरीत उनीहरूका समस्या र कुराहरूको सुनुवाइ नगरी प्रशासनका तर्फबाट एकोहोरो निर्देशन दिने काम गरियो भने अचेतन मनमा रहेका द्वन्द्व र प्रतिशोधात्मक भावनाका कारण जुन कुनै बेला सामूहिक रूपमा उनीहरूको आक्रोश विस्फोटन हुन सक्ने सम्भावना रहन्छ। कुनै कारणबिना नियमित कामबाट विचलित हुने, झर्किने वा असामान्य किसिमका व्यवहार देखाउने प्रवृत्ति समेत केही बालबालिकामा देखा पर्न सक्छ।

ट्रमा वा आघात बेहोरेका बालबालिका भने लामो समयसम्म मानसिक द्वन्द्वका कारण सामान्य अवस्थामा फर्कन नसक्ने पनि हुन सक्छन्। यस्तो अवस्थामा पूर्वाग्रहबिना उनीहरूका कुरा सुन्ने र सकारात्मक पृष्ठपोषण दिने काम गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.