उधौली पर्वमा देउसीभैली खेलेर विद्यालयका लागि अन्न र नगद संकलन
दोलखा : भीमेश्वर नगरपालिका-२ स्थित त्रिपुरासुन्दरी आधारभूत विद्यालयले अन्न र नगद संकलन गरेको छ। स्थानीय संस्कृति र शिक्षालाई एकैसाथ जोड्दै त्रिपुरासुन्दरी आधारभूत विद्यालयले उधौली पर्वको अवसर पारेर देउसीभैली कार्यक्रम आयोजना गरी समुदायबाट उल्लेख्य मात्रामा अन्न तथा नगद सहयोग संकलन गरेको हो। विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा शिक्षकहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय अभिभावकले उत्साहपूर्वक सहयोग गरेका थिए।
राम्पामा अवस्थित यस विद्यालयमा सीमान्तकृत थामी समुदायका बालबालिकाको उपस्थिति बढी रहेको छ। समुदायको सामाजिक–सांस्कृतिक पहिचानसँग जोडिएको उधौली पर्वलाई शिक्षासँग समेट्दै विद्यालयले प्रत्येक वर्षजस्तै यस वर्ष पनि देउसीभैली कार्यक्रम आयोजना गरेको थियो। यस क्रममा अभिभावकले धान, कोदो र नगद सहयोगमार्फत विद्यालयप्रति आफ्नो अपनत्व र उत्तरदायित्व प्रस्तुत गरेका हुन्।
देउसीभैलीबाट ३ सय २४ पाथी धान, ९ पाथी कोदो र १५ हजार ५ सय ६० रुपैयाँ नगद संकलन भएको विद्यालयकी प्रधानाध्यापक प्रमिला थामीले बताइन्। सामुदायिक विद्यालयमा आफ्नै स्थायी आयस्रोत हुँदैन, यस्ता सांस्कृतिक कार्यक्रममार्फत समुदायको सहयोग जुटाएर विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा व्यवस्थापनमा टेवा पुगेको उनले बताइन्।
दिवा खाजा कार्यक्रमले विशेषगरी गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयमा नियमित रूपमा उपस्थित हुन प्रोत्साहित गरेको छ। सीमित सरकारी अनुदानका बीच समुदायको सहयोग बिना विद्यालय सञ्चालन चुनौतीपूर्ण हुने उनको अनुभव छ। ‘देउसीभैलीजस्ता कार्यक्रमले आर्थिक सहयोगमात्र होइन, विद्यालयप्रति समुदायको आत्मीयता पनि बढाउने, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन बीचको सम्बन्धलाई थप सुदृढ बनाउँछ’, प्रधानाध्यापक थामीले भने। संस्कृति संरक्षणसँगै शिक्षा प्रवर्द्धन गर्ने यस्ता अभ्यासलाई निरन्तरता दिनु आवश्यक छ।
आफ्नो आर्थिक अवस्था कमजोर भए पनि बालबालिकाको भविष्यका लागि र विद्यालय टिकाइराख्न सकेको सहयोग गरेको स्थानीय अभिभावकले बताए। उधौली पर्वको अवसरमा सञ्चालन गरिएको देउसीभैली कार्यक्रमले संस्कृति, शिक्षा र समुदायलाई एकै सूत्रमा बाँध्दै सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र सहकार्यलाई थप मजबुत बनाएको छ। यसले सामुदायिक विद्यालय सञ्चालनमा स्थानीय पहल र सामूहिक उत्तरदायित्त्व कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देशसमेत दिएको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !