स्थानीयले गरे तल्लो बलेफी जलविद्युत आयोजना बन्द

स्थानीयले गरे तल्लो बलेफी जलविद्युत आयोजना बन्द

सिन्धुपाल्चोक : स्थानीय प्रभावित बासिन्दाहरूको मागहरू बेवास्ता गरेको भन्दै २२ दशमलव ५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजना स्थानीयले अनिश्चितकालका लागि बन्द गरेका छन्। आयोजनाले मनोमानी ढंगले काम गर्दै आएको र पटक पटकको सहमति कार्यान्वयन नगरेको कारण आयोजनाको सम्पूर्ण काम बन्द गरिएको स्थानीय प्रभावित रामचन्द्र थापाले बताए। ‘हामीले पटक-पटक आयोजनालाई आफ्ना मागहरू राख्दा समेत बेवास्ता गरेका कारण आयोजनाको सबै काम बन्द गरेका हौं’, थापाले भने।

यसअघि आयोजना प्रभावितहरूले चौतारा साँगाचोकगढी नगरपालिका-२ फलामसाँघु र १ बलेफी गाउँपालिका वडा नं १ टारी बजारमा बाँध बाँधी निर्माणाधीन तल्लो बलेफी जलविद्युत आयोजनाले प्रभावितको माग सुनुवाइ गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई आवश्यक सहजीकरण गर्न ध्यानाकर्षण गराएका थिए।

उनीहरूले ७ दिनको समय दिएर सहमति नगरेमा हाइड्रोपावरको सम्पूर्ण निर्माण कार्य बन्द गर्ने चेतावनी दिएका थिए। ‘स्थानीय प्रभावितको माग सम्बोधन नभएपछि स्थानीयले आयोजनाका सबै काम बन्द गरेको खबर पाएका छौं’, चौतारा साँगाचोकगढी नगरपालिका-२ का वडा अध्यक्ष सुदीप श्रेष्ठले बताए।

स्थानीय प्रभावितहरूले १० प्रतिशत निःशुल्क शेयर दिनुपर्ने, २०८१ फागुन २७ को सहमति पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने, नौबिसे, रानीटार खरीटार, बतासे, भोटेफुल्सिङसम्मको मोटरबाटो स्तरउन्नती साथै ढुङ्गानाडाँडा भोटेफुल्पिङ खण्डको १ किलोमिटर सडक ढलान गर्नुपर्ने, आयोजनाको बमब्लास्ट हुने स्थानबाट ५ सय मिटर आसपासका सम्पूर्ण घरको बिमा गरी तत्कालै घरधनीलाई बिमाको कागजात उपलब्ध गराउनुपर्ने माग राखेका छन्। 

त्यस्तै खरिटारको कालोढुङ्गा लिफ्ट सिँचाइदेखि खहरे खोलासम्म आरसीसी वाल लगाउनुपर्ने, प्रभावित क्षेत्रका बासिन्दा चौतारा साँगाचोकगढी नगरपालिका-२ रानीटार बस्ने केदारनाथ काफ्ले तथा बलेफी गाउँपालिका-२ बस्ने बाबुराम सापकोटाको साविक वेलकम इनर्जी कम्पनी हुँदादेखिको बाँकी बक्यौता उपलब्ध गराउनुपर्ने, बम ब्लास्टिङ गर्नुपर्ने पूर्व जानकारी दिनुपर्नेजस्ता माग राखेका छन्।

आयोजनाको तर्फबाट साझा पावर कम्पनीका अध्यक्ष कुवेरमणी नेपाल, स्थानीय जनप्रतिनिधिसहित प्रभावितहरूबीच भएको सम्झौता कार्यान्वयन नहुँदा समस्या देखिएको स्थानीय प्रभावित भगवती पौडेलले बताइन्। आफ्ना मागहरू पूरा नभएसम्म आयोजनाको कुनै पनि काम सञ्चालन हुन नदिने उनीहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.