अहा ! माया भूमिमा प्राचीन माया सभ्यता देख्न र टेक्न पाउने खुसी ! मन बोल्दै थियो– आफैंसित, सगरमाथाको चुचुरो चुम्ने मानिसको खुसीभन्दा कम छैन मेरा लागि यो पल।
‘माया को हुन् ?’ यहाँ यो प्रश्नको जवाफ आममानिसले सोचेजस्तो छैन। झट्ट सुन्दा प्रेमसँग जोडिएको यो शब्द सभ्यतासँग गाँसिएको सन्दर्भ हो भनेर कमैले आँकलन गर्लान् ।
एउटा २५ वर्षे सपना : कमैले सुने, जाने र बुझेको विषय होला मायासँग गाँसिएको सभ्यता। पंक्तिकारले पनि यो थाहा पाएको नेपाल छाडेपछि नै हो। यसै पनि विश्व बुझ्न बिदेसिनै पर्छ। जब स्नातकोत्तर तह अध्ययनका लागि जर्मनीको ड्रेस्डेन विश्वविद्यालय पुगें, तबमात्र थाहा पाएँ– माया सभ्यता। प्राचीन ग्रिस र इजिप्ट सभ्यतासँगै मध्य अमेरिकाको माया सभ्यता विकसित भएको रहेछ। जहाँ यस जटिल सभ्यता र संस्कृतिको विज्ञान, गणित र क्यालेन्डर प्रणालीबारे बुझ्ने अवसर मिलेको थियो, फिल्मको कास्टिङजस्तै। त्यसपछि जागेको थियो हुटहुटी, माया सभ्यता नामक फिल्म पूरै हेर्ने। त्यसपछि नै हो त्यहाँका सहर, विशाल पिरामिड र कोस्टामायावासीको प्रकृतिसँगको आध्यात्मिक सम्बन्धलाई नियाल्ने उत्कट चाहना मनमा पलाएको। सुनेको थिएँ, खोस्ने पनि समय अनि दिने पनि समय ।
सायद समयले दियो त्यो अवसर र त २०२५ नोभेम्बर ३ मा करिब २५ वर्षे सपना पूरा हुँदै थियो। त्यस दिन सम्झिएँ, संयोग नमिलेर सायद त्यो इच्छा मेरो मनमा झन्डै अढाई दशक अर्थात् २५ वर्षसम्म कुम्भकर्ण झैं सुतिदियो मस्तले। तर, यसरी उठ्यो कि त्यसले निकै गजबको संयोग दिलायो। राखेन कुनै पछुतो ढिलो भएकोमा। हो, कोस्टामाया आफ्नै मायाहरूसँग घुम्न पाइयो। श्रीमती कल्पना, छोरा अभि र अल्बर्टसँगै फ्लोरिडाबाट क्रुज जहाजमा कोस्टामाया, मेक्सिको भ्रमण सम्पन्न हुनु चानचुने संयोग थिएन। समयको यो उपहार जीवनकै अमूल्य ‘सरप्राइज गिफ्ट’ बन्यो। त्यो पुरानो सपना महासागरको गल्फ अफ मेक्सिको हुँदै कोस्टामायातर्फ हुइँकिँदा नयाँ स्वरूपमा साकार बन्दै थियो।
अमेरिकाको फ्लोरिडास्थित ट्याम्पाबाट छुट्ने क्रुज आन्ध्र महासागरको गल्फ अफ मेक्सिको हुँदै कोस्टामाया पुगेर फर्कने रहेछ। अहा ! माया भूमिमा प्राचीन माया सभ्यता देख्न र टेक्न पाउने खुसी ! मन बोल्दै थियो आफैंसित, सगरमाथाको चुचुरो चुम्ने मानिसको खुसीभन्दा कम छैन मेरा लागि यो पल। मान्छेको मन न हो, सेप्टेम्बरको पहिलो साता यो यात्राको टिकट काटिएको थियो, त्यसैले नोभेम्बर ३ सम्मका झन्डै दुई महिना दुई वर्ष झैं बने। एउटा खुसीका लागि हुने पर्खाइको पीडा र त्यो पीडाभित्र प्राप्त हुने खुसी यसैगरी लुकामारी खेलिरहन्छन् यस्ता घटनाहरूमा।
क्याप्टेन, कन्फिडेन्ट, सस्पेन्स र वन्डरफुल वल्र्ड : पहिलो दिनको दिउँसो २: ३० बजे फ्लोरिडा ट्याम्पाको पोर्टबाट रोयल क्यारेबियन कम्पनीको इनच्यान्टा पानीजहाजमा प्रवेश गर्यौं। समुद्रको यात्रा भए पनि यो अन्तरदेशीय थियो। अन्तरदेशीय यात्रा थियो त्यो। किनकि यात्रुहरूले अन्तर्राष्ट्रिय उडानमा जस्तै अध्यागमनका सबै प्रक्रिया पूरा गर्नुपर्यो। त्यसैले सायद चार बजे छुट्यो पानीजहाज पोर्टबाट। सुरुमा बेबाट दायाँबायाँ जमिन देखिन्थ्यो, सामुन्ने नीलो समुद्र ! साँझ ६: ३० बजे सूर्यास्त हुँदै थियो आफ्नै गतिमा। ऊ मेरो मनजसरी हतारिएको थिएन, पटक्कै। वरपरको मनमोहक दृश्यले हामीलाई ‘द वन्डरफुल वल्र्ड’ नामक चलचित्र देखाइरहेथ्यो। उज्यालो र अँध्यारो आपसी युद्धमा यसरी होमिएका थिए, मानौं त्यहाँ महाभारतको युद्ध चलिरहेको थियो। समयको खेल सायद, अन्तत: अँध्यारोले जितिछाड्यो। दोसाँधमा देखिएको रंगीन परिदृश्य हाम्रा क्यामेरामा अटाएनन्। पानीजहाजले बेको पुल पार गर्दा छोला झैं भो। क्याप्टेन ‘कन्फिडेन्ट’ थिए, यात्रु धुकचुक। त्यो ‘सस्पेन्स’ हेर्न अधिकांश यात्रु जहाजको माथिल्लो तलामा भेला भए। ट्याम्पा पोर्ट जाने बेला सटल चालकले यो दृश्य नछुटाउन सुझाउनुले पनि यसको महत्व चुलिएको हुनुपर्छ।
कोस्टामाया, जहाँ जसलाई ‘मिस’ गर्यौं : दुई रात, एक दिन ! त्यो पनि समुन्द्रमाथि ! तेस्रो दिन बिहान हामी युकाटान प्रायद्वीपको कोस्टामाया बन्दरगाह पुग्यौं। कर्मचारीले सी–पास (क्रुजमा दिएको परिचय पत्र स्क्यान गरेपछि यात्रुको विवरण प्राप्त हुने) जाँच गरे र भने, ‘तपाईंहरूको कोस्टामाया यात्रा सुखद होस्।’ साँझ ४ बजे फर्कने गरी अघि बढ्यौं। बाटोमा समुद्रको सिर्सिरे बतासले सुस्त सुस्त हानिरह्यो। अलि पर आँखामा ठोक्कियो, क्यारेवियनको सुन्दर किनारमा बसेको सहर। समुद्रमा हराइरहेका हामीले बल्ल जमिन र जंगल देख्यौं। हरियालीले घेरिएको सानो सहरसँग साक्षात्कार गर्न पायौं। भित्ताहरूले पनि तानिरहे, जहाँ रंगीचंगी चित्र सजाइएका थिए। स्थानीय भेषभूषामा सजिएका अनुहार झल्कने ती कलाकृतिसँग फूलहरू र सप्तरंगी इन्द्रेणाी।
पहिलो पटक मेक्सिकोको भूमि टेक्दैथियौं, पुलकित बन्दैथियौं। विश्वभ्रमणको सूचीमा नयाँ देश थप्दै थियौं। बाटोमा स्थानीय भेषभूषामा सजिएका मानिसहरू स्प्यानिस भाषामा स्वागत गरिरहेका थिए। जतिबेला हामी चारैजनाले क्यानडा बस्दाका हितौषी डा. अर्मान्डो र डा. गब्रियला अनि तिनका छोरा डियगोलाई सम्झियौं। जीवनसाथी र म युनिभर्सिटी अफ क्याल्गरीमा अध्ययन गर्दा उनीहरू एकाघरका सदस्य झैं थिए। जसले त्यतिबेलै मेक्सिकोको संस्कृति, प्रकृति, राजनीति र खाद्यपरम्परा बुझाइ र चखाइसकेका थिए। सँगै मेक्सिको घुम्न जाने ‘अफर’ गरेका तिनीहरू यतिबेला साथमा भइदिएको भए ? अमेरिका आएपछि उनीहरूसँग उति भेट भएन, उतै विश्वविद्यालय पढाएर बसे उनीहरू। भर्चुअल भेट त हुन्छ तर यो यात्राबारे अनभिज्ञ छन्। जसको भूमिमा छौं, तिनलाई थाहै नदिई आइपुगेछौं। कास ! यो भ्रमणमा उनीहरू पनि भइदिएको भए !
च्याचोवेन, माया सभ्यता र भग्नावशेष : कोस्टामायाको क्रुज बन्दरगाहबाट मानिसहरू माया भग्नावशेष हेर्न च्याचोवेन, जिबान्चे र कोहुनलिचमध्ये एक ठाउँ जाँदारहेछन्। च्याचोवेन करिब एक घन्टाको बाटोमा, जिबान्चे र कोहुनलिच चाहिँ करिब २ घन्टाको बाटोमा रहेछन्। आलेहान्द्राका अनुसार च्याचोवेन चाहिँ माया सभ्यताका भग्नावशेषहरू हेर्न तुलनात्मक रूपमा लोकप्रिय भ्रमणक्षेत्र रहेछ। बन्दरगाह छोड्नेबित्तिकै बाटो बाढीले बिगारेको, मर्मत–सम्भार पनि राम्ररी नभएको रहेछ। अमेरिकी सडकमा बानी परेका हामीलाई कतिपय ठाउँमा बर्खाबेलाको मुग्लिङ–नारायणघाट खण्ड सम्झायो त्यो बाटोले। ‘यत्रा पर्यटक आउने ठाउँको बाटोको पनि यस्तो हालत ! विकासशील देशको हालत जहाँ भए पनि उस्तै !’, जीवनसाथी कल्पनाले कानेखुसी गरिन्। सुने कि क्याहो ! ५–७ किलोमिटर पार गरेपछि त राम्रो बाटो। सडक किनारामा झुप्रा घरहरू देखिए। धेरै घर सिमेन्टका ब्लकले बनेका, चम्किला रङले पोतिएका, जस्ताको छाना भएका।
च्याचोवेन भनेको माया भाषामा ‘रातो मकै पाइने स्थान’ रहेछ। यो नाम पछि दिइएको रहेछ। मूल नाम के थियो ? अझै थाहा छैन। मायाहरू च्याचोवेन क्षेत्रमा पहिलो पटक इसापूर्व २०० तिर आएर बसोबास गरेको विश्वास गरिन्छ। यहाँका पिरामिडहरूको ठूलो निर्माण भने ७०० देखि ९०० इस्वीसंवत्मा भएको मानिन्छ। सबैभन्दा रोचक कुरा यी मन्दिरहरू एकै पटक बनेका होइन रहेछन्। मायाहरूको परम्परा अनौठो रहेछ। उनीहरू पुरानो मन्दिरलाई नष्ट नगरी नयाँ संरचना निर्माण गर्ने रहेछन्। त्यसैले कतिपय पिरामिडभित्र अर्को पिरामिड लुकेको भेटिने रहेछ।
इस्वी संवत्को नवौं शताब्दीपछि यो सहर बिस्तारै त्यागियो। जंगलले छोप्यो। सन् १९७२ सम्म यो ठाउँबारे संसारलाई उति थाहा थिएन। सन् १९७२ मा पिटर ह्यारिसन नामका एक अमेरिकी पुरातत्वविद्ले संयोगवश यो भग्नावशेष पत्ता लगाएछन्। द रोयल ओन्टारियो म्युजियमको कामको सिलसिलामा हेलिकप्टरबाट उड्दै गर्दा माथिबाट देखेछन्। त्यसपछि ठूलो पुनस्र्थापना र उत्खनन कार्य सन् १९९० को दशकमा सुरु भएछ। सन् २००२ मा यो सर्वसाधारणका लागि खुला गरियो।
मायाहरूले मानव बलि दिने सुनेपछि... : आलेहान्द्राले हामीलाई माया सभ्यताबारे धेरै कुरा बताइन्। कतिपय तथ्यको स्रोतमा पुरातत्वविद्लाई जोडिन्। उत्खनन गरी पुनस्र्थापित तीनवटा पिरामिडका साथमा धेरै पर्खाल र सिँढी देखिए। उत्खनन अझै जारी रहेछ। केही थुम्कामा थप भवनहरू लुकेका छन् भन्ने अनुमान सजिलै गर्न सकिन्थ्यो। पहिलो प्रस्थान विन्दुमै ठूलो मन्दिर देखियो। सबैभन्दा ठूलो पिरामिडको फेदमा ढुंगाको ठूलो पाटी रहेछ, जसलाई स्टेला भनिँदोरहेछ। जसमा माया हाइरोग्लिफिक लिपि कोरिएको छ। यो पिरामिड १०० फिट अग्लो र १० हजार वर्गफिटभन्दा बढी क्षेत्रमा फैलिएको रहेछ।
प्राचीन यो मायाका लागि उक्त पिरामिड औपचारिक केन्द्र र खगोलीय वेधशालाको रूपमा छ। यसबाट सूर्य, चन्द्रमा र ताराहरूको गति र अवस्थालाई अध्ययन गर्न प्रयोग गरिनेरहेछ। यसलाई पुनर्निर्माणपछि अचेल मन्दिर–२४ भनेर नामकरण गरिएको रहेछ। मायाहरूले यी पिरामिडहरू चुनढुंगा, माटो, ढुंगा र पानी मिलाएर ढुंगाको तह र कंक्रिटबाट सिर्जना गरेका रहेछन्। यस पिरामिडमा भित्री कक्षहरू छन्, यद्यपि आगन्तुकहरू भित्र जान सक्दैनन्। हाम्रो टुर गाइड आलेहान्द्राले भित्ताभित्रको एउटा चित्रकलाबारे बताइन्। त्यो विशेष चित्रकला भेट्टिएको कारणले यो मन्दिरलाई विशेष रूपमा संरक्षण गरिएको तथ्य बुझाइन्। सँगै अर्को डरलाग्दो तथ्य पनि सुनाइन्। मन्दिरको नजिकै रहेका ढुंगाहरूले बनेको आकृतिमा मायाहरूले मानव वली दिनेगरेको तथ्य सुन्दा हाम्रो आङ नै सिरिङ भयो।
जहाँ सिंगो गाउँ नै भग्नावशेष भेटियो : आलेहान्द्रालाई पछ्याउँदै हामी दोस्रो विन्दुमा पुग्यौं। त्यहाँ घरका भग्नावशेषहरू थिए। होचो पर्खालभित्र सिंगो गाउँकै भग्नावशेष देख्न सकिन्थ्यो। अहिले त्यो ठाउँमा रुखहरू उम्रेर सानो जंगल नै भएको रहेछ। उनले सप्रिएको सिमल प्रजातिको रुख देखाउँदै हामीलाई त्यसको उमेर अनुमान गर्न लगाइन्। पुरानो बस्ती भएकाले कसैले २०० बर्ष पुरानो भएको अनुमान गर्यौं। कसैले उष्ण प्रदेशीय वनस्पति भएकाले कम उमेरको हुनपर्छ भनेर तर्क लगायौं। तर त्यो अजंगको रुख केवल २५ वर्षको रहेछ। जेठो छोराले मजाक गर्यो– ‘यो रुख र मेरो उमेरबराबर रहेछ, यसले त आकाश छोइसक्यो। म भने अझै भुइँमै छु।’
बाटोमा अर्को अनौठो रुख देखियो। एउटा रुखमा अर्को परजीवी बिरुवा आएछ। बिस्तारै फैलेर त्यो परजीवी बिरुवाको जराले जमिन टेकेछ। अनि त मूल बिरुवाको सिंगै काण्ड ढाकेर खोल हाले झैं बढ्न थालेछ। अहिले हेर्दा यी दुई बिरुवा यसरी एकापसमा सम्मिलित भए कि मानौं त्यो एउटै वृक्ष हो। आलेहान्द्राले यो समिश्रणलाई महिला र पुरुषको संज्ञा दिइन्। भनिन्, ‘भित्रको विरुवा स्त्री र बाहिरको परजीवी बिरुवा पुरुष हो। ल हेर्नोस्, यसले कस्तरी शोषण गरेको ? भित्रको रुख पुरुषको अंगालोमा बेरिएको महिला हैन त ?’ हामी सबै गलल हाँस्यौं। करिब १० मिनेट हिँडेपछि भ्रमणको तेस्रो विन्दु फेदी पुग्यौं, सबैभन्दा कठिन भाग। मन्दिर र भग्नावशेष हेर्न उबडखाबड उकालो चढ्नपर्ने ! सतह नमिलेका १८–२४ इन्च अग्ला सिँढीहरू। समात्न कतै रेलिङ या केही सहारा थिएन। ‘खुट्टा वा ढाड दुख्ने, रिंगटा लाग्ने समस्या भए उकालो नचढ्नोस्’, आलेहान्द्राले सुझाइन्।
च्याचोविनमा म, दिमागमा लिगलिगकोट : उकालो चुम्दै जाँदा टाकुरामा पुगेपछि पठार लाग्ने फराकिलो चौर भेटियो। चौरको बायाँतिर सानो भवन थियो, जसले भव्य पर्वत दृश्यलाई निहालिरहे झैं देखियो। कल्पना र म सम्झनाको तरेलीमा त्यो परिवेशसँग आफ्नै गाउँ सम्झँदै घुम्यौं। खण्डहर हुँदै गएका बस्तीहरू मनमा नराम्ररी सल्बलाइरहे। मुख्य मन्दिर दायाँतिर ठिंग उभिएको थियो। बेलाबेला सूर्य लुकामारी खेल्थ्यो। एउटा यस्तो क्षण आयो, जतिबेला सूर्यको किरण मन्दिरमा यसरी पर्यो कि त्यो साँच्चै विस्मयकारी बन्यो। सम्पूर्ण क्षेत्र अलौकिक देखियो, सुन्दर दृश्यहरू झनै भव्य लाग्यो। त्यो मन्दिर र घरका भग्नावशेषले लालीगुराँस फुल्ने मौसममा स्कुलबाट गोरखाको लिगलिगकोट र हर्मीकोटतिर जाँदा देखेका दरबार र गढीका भग्नावशेषहरू सम्झाए। हाम्रा गढीहरू पनि त सदियौं पुराना इतिहास बोकेका धरोहर हुन् नि ! तर खै तिनको संरक्षण ?
माया सभ्यता र माया राज्यको जस्तै पुरातात्विक अध्ययन हुने हो भने तिनका पनि बुझ्नपर्ने अनेक आयाम होलान् नि ! तिनको पनि भोलि दिन आउला कि ? दौडेर राजा हुने लिगलिगको राज्य व्यवस्था पनि त कम रोचक होला र ? हामीले विश्वलाई बुझाउन नसकेर पो। मेक्सिकोको च्याचोविनको माया मन्दिरको भग्नावशेषको छेउमा उभिएर गोलार्धको पल्लो छेउमा रहेको मातृभूमि र त्यो मुटुभित्रको लिगलिगका गढीहरू सम्झेर म कतै हराएछु। तस्बिर खिचिरहेकी श्रीमतीजीले ‘कविजी कुन दुनियाँमा हराउनुभयो ?’ भन्दा पो म झसङ्ग भएँ। आलेहान्द्रासँग माया सभ्यता, संस्कृतिबारे थप चासो राखें। अमेरिकामा पर्यावरण संरक्षणमा काम गर्ने म, साहित्य एवं संस्कृतिको क्षेत्रमा लेखन मेरो शोख। सबै थाहा पाएपछि उनले सूचनाका स्रोत पनि बताइन्।
कहाँबाट आए मायाहरू ? : मायाहरू हिमयुगको अन्त्यतिर बेरिङ स्ट्रेटबाट आएको मानिन्छ। उनीहरू अलास्काका एस्किमो र एसियाका मंगोलहरूसँग सम्बन्धित हुन् भन्ने विश्वास रहेछ। मायाहरू र मंगोलहरू दुवैमा समान रूपमा भेटिने ‘मंगोलियन स्पट’ भनिने जन्मदागलाई यसको प्रमाणको रूपमा हेरिन्छ। माया सभ्यताको अस्तित्वको प्रमाण इसापूर्व १२०० देखि मिल्छ। इसापूर्व १२०० तिर मायाहरूले मकै र दलहन खेति सुरु गरिसकेको थिए। माया संस्कृति इस्वी २०० देखि ९०० सम्म आफ्नो चरमोत्कर्षमा पुगेको थियो। युकाटान प्रायद्वीप मायाहरूको मुख्य भूमि हो। युकाटान मुख्यतया चुनढुंगाबाट बनेको छ, त्यसैले त्यस क्षेत्रमा कुनै नदी छैन। पानी जमिनभित्र छिर्दै भूमिगत नदी र गुफाहरू बनाउँछ। त्यसैले पिउने पानी पनि दुर्लभ हुँदोरहेछ।
मायाहरू हालका पाँच मध्य–अमेरिकी देशहरूमा विस्तारित रहेछ। हालको मेक्सिकोका पाँच प्रान्तका अतिरिक्त ग्वाटेमाला, बेलिज, एल साल्भाडोर र होन्डुरस मूलरूपमा मायाभूमि रहेछन्। चरमोत्कर्षको समयमा मायाहरूले आफ्नो शक्ति सुदृढ गरे। यस अवधिमा विशाल धार्मिक केन्द्रहरू निर्माण गरियो र तिनीहरूले आफ्नो विज्ञानको विकास गरे। सभ्यताको जति विकास गरे पनि उनीहरूको राज्य एक गठ चाहिँ थिएन, उनीहरूका सर्वमान्य एउटै शासक थिएनन् बरु राज्यहरू एकअर्कासँग प्रतिस्पर्धा गर्थे र कहिलेकाहीं क्रूर युद्धहरू पनि लड्थे। यो कुराले हाम्रै बाइसे चौबीसे राज्यको झल्को दिनेरहेछ।
माया संस्कृति र परम्परा : मायाहरू ब्रह्माण्डलाई विशाल कपासको रुखसँग तुलना गर्दारहेछन्। संसारलाई रुखका हाँगाहरूले प्रतिनिधित्व गरेको विश्वास गरिँदोरहेछ, जसमा तेह्र हाँगा सम्हालिएको मानिँदोरहेछ। जराहरू नौ तह भएको र पातालसम्म पुगेको मानिँदोरहेछ। पृथ्वीमा हाम्रो संसारलाई यिनै जरा र हाँगाहरूले अन्य दुई लोकसँग जोडेको विश्वास यो सभ्यतामा गरिँदोरहेछ। समग्रमा, मायाहरूले पनि पृथ्वी, स्वर्ग र पाताल गरी तीन भाग मान्ने रहेछन्। मायाहरू अत्यन्त धार्मिक पाएँ। जसका देवताहरूको प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध छ। तिनका देवताहरूले प्राकृतिक शक्तिहरूको प्रतिनिधित्व गर्दारहेछन्। उनीहरूले मान्ने सर्वोच्च सृष्टिकर्ता देवता, सूर्य देवता, वर्षाको देवता, सर्प देवता, वनस्पति र जनावरका देवता, मृत्युका देवता, प्रसवकी देवी। यी सबै सुन्दा मायाहरूको धार्मिक मान्यता हाम्रै हिन्दु परम्परासँग मिल्दोजुल्दो लाग्यो।
माया संस्कृतिमा बलिदानको अर्थ : मायाहरू आफ्ना देवताबाट केही चाहन्थे तर बदलामा देवतालाई पनि केही दिनुपर्छ भन्ने विश्वास थियो। देवतालाई जति धेरै दियो, उति धेरै फिर्ता मिल्छ भन्ने जनविश्वास रहेछ। विश्वासअनुसार मानव सृष्टिमा दैवीय रगतको बलिदान छ। ब्रह्माण्डीय व्यवस्था निरन्तर कायम राख्न मायाहरूले देवताहरूलाई रगत फिर्ता दिनुपर्छ भन्ने विश्वास रहेछ। जो बलिदानलाई व्यक्ति, समाज र सम्पूर्ण ब्रह्माण्डको कल्याणको महत्वपूर्ण पक्ष मान्दारहेछन्। बलिदानबाट रगत बगाएर अदृश्य आत्माहरू, देवताहरू र पुर्खाहरूसँग संवाद गर्न सकिन्छ जनविश्वासले मलाई बडो गम्भीर बनायो।
मायाहरू तिनका देवतालाई बहुमूल्य धातु, पत्थर, गहना, माटाका भाँडाहरू, जनावरका हड्डीहरू भेटीका रूपमा अर्पण गर्दारहेछन्। देवता खुसी पार्न आत्मा–बलिदान गर्नु तिनको परम्परा रहेछ। विशेष खालको चक्कुले आफैंलाई घाउ बनाएर रगत चढाउने या जनावरका हड्डीले छाला या जिब्रो छेड्ने आदि चलन रहेछ। मानव बलिदानको भयानक चलनले भने सोच्न बाध्य बनायो। पीडितहरूलाई सेनोट (मानव बलिदानका लागि तयार पारिएको एक प्रकारको खाल्टो)मा फालिदिने, मुटु निकाल्ने या टाउको काटेर चढाउने आदि कर्म धर्मको नाममा एक प्रकारको बीभत्स रूप लाग्यो। युद्धपीडितको सामाजिक हैसियत जति उच्च मानिन्छ, बलिदानको मूल्य त्यति नै बढी मानिँदोरहेछ। १८ वर्षमुनिका केटाकेटी छन् भने टुर गाइडले मायाहरूको यो बलिदानी प्रथाबारे नसुनाउने रहेछन्।
मायामा पुनर्जन्मको विश्वास र सामाजिक संरचना : मायाहरू पुनर्जन्ममा विश्वास गर्छन्। मृत्युपछि आत्माले पहिले पातालका नौ तह पार गर्नुपर्छ। त्यसपछि आत्माले पुनर्जन्म लिनुअघि माथिको संसारका (स्वर्ग)का तेह्र तहमा प्रवेश गर्छ। जनविश्वासअनुसार पातालको अन्धकारबाट तिनीहरूले मात्र सजिलै मुक्ति पाउँछन्, जसले आफ्नो पूर्वजीवनको बच्चा उमेरमा बलिदानी हुन पाउँथे या युद्धको रक्षामा या देवताका नाममा समर्पण गर्दै आफूलाई बलिदान गर्न पाएका हुन्थे। मायाहरूको सामाजिक संरचना दक्षिण एसियाको हिन्दु जातीय प्रणाली झैं भान भयो। एउटा सामाजिक वर्गमा जन्मेको मानिस त्यही वर्गमा रहनेरहेछ, ऊ अर्को वर्गसँग मिसिन नमिल्ने कठोर प्रणाली रहेछ। कुलीन जातिलाई सामान्य जातिले अर्धदेवताको रूपमा हेर्दारहेछन् र कुलीनहरूको सेवा गर्नुलाई कर्तव्य ठान्दारहेछन्। कुलीन जाति कर र व्यापारबाट निर्वाह गर्दारहेछन् जो माया÷संस्कृतिका धार्मिक नेता मानिँदारहेछन्। मन्दिरहरूको शिखरमा जान कुलीनहरूलाई मात्र अनुमति रहेछ।
धार्मिक केन्द्रहरूमा माया समाजका शक्तिशाली मानिसहरू खासगरी शासक, पुजारी, वैज्ञानिक र व्यापारीहरू रहन्छन्। शासकहरू नै शक्तिको केन्द्र हुन्छन्। त्यसपछिको वरीयताक्रममा पुजारीहरू। तेस्रो वरीयताक्रममा बलिया पुरुष र लडाकुहरू। त्यसपछि वैज्ञानिक, कलाकार र व्यापारीहरू। किसान र सिकारीहरू त्यसपछिको क्रममा। युद्ध बन्धकहरूलाई ल्याएर दास बनाउने चलन रहेछ। दासहरू सामाजिक संरचनाको पिँधमा पर्दारहेछन्। उनीहरू मानव बलिदानका लागि पहिलो प्राथमिकतामा पर्दारहेछन्। तल्लो सामाजिक वर्गका मानिसहरू केन्द्रबाहिर झुपडीहरूमा बस्थे। खेतीकिसानी र श्रम गरेर उनीहरू शासकहरू र शक्तिशालीहरूका लागि खाना उपलब्ध गराउँथे।
मायाहरू कोही सूर्यका सन्तान, कोही चन्द्रमाका : मायाहरूले खगोल विज्ञानमा निकै गहिरो अध्ययन गरेका रहेछन्। उनीहरू देवताहरूको इच्छा र कार्यहरू सूर्य, तारा, चन्द्रमा र ग्रहहरूमा पढ्न सकिन्छ भन्ने विश्वास गर्थे। तिनका महत्वपूर्ण भवनहरू खगोल विज्ञानलाई ध्यानमा राखेर निर्माण गरिएका हुन्थे। मन्दिर, पिरामिड र दरबार खगोल विज्ञानअनुसार व्यवस्थित गरिन्थे। मन्दिर र पिरामिडहरू यसरी डिजाइन गरिएका थिए कि सूर्य, चन्द्रमा, तारा र ग्रहहरू वर्षको महत्वपूर्ण समयमा माथिबाट वा निश्चित झ्यालहरूबाट देखिने हुन्थे। मायाहरू ‘पृथ्वी सबै कुराको केन्द्र हो, यो स्थिर छ’ भन्ने विश्वास गर्थे। तारा, चन्द्रमा, सूर्य र ग्रहहरू मायाका देवता थिए। गतिविधिलाई पृथ्वी, पाताल र अन्य आकाशीय गन्तव्यबीच यात्रा गर्ने देवताको रूपमा व्याख्या गरिन्थ्यो। यी देवता मानव गतिविधिमा धेरै संलग्न हुँदोरहेछ।
देवताहरू निश्चित स्थानमा नपुगेसम्म युद्ध स्थगित गर्ने चलन थियो वा माया राज्यको सिंहासनमा शासक निश्चित ग्रह राति आकाशमा देखिएको बेला मात्र आरोहण हुन सक्थे। सूर्यलाई उनीहरू सर्वोपरि महत्वको देवता मान्छन्, सृष्टिकर्ता देवताको रूपमा पुज्छन्। केहीले आफूलाई सूर्यको वंशज भएको दाबी गर्थे। मायाहरू सूर्यग्रहण, वर्षको सबैभन्दा लामो दिन, सबैभन्दा छोटो दिन, दिन र रातबराबर हुने समय, ऋतु परिवर्तनको समय आदि सौर्य घटनाहरूको भविष्यवाणी गर्न विशेषज्ञ थिए। सूर्य आफ्नो उच्चतम बिन्दुमा कहिले पुग्छ भनेर निर्धारण गर्न सक्थे।
मायाहरू चन्द्रमालाई पनि शक्तिशाली देवीको रूपमा मान्छन्। जसले सूर्यसँग लडाइँ गरिन् र उनलाई हरेक रात पातालमा ओर्लन बाध्य पारिन् भन्ने विश्वास गर्थे। चन्द्रमाको गतिलाई पनि उनीहरू सूक्ष्म तरिकाले अवलोकन गरी घटनाहरूको अध्ययन गर्थे। केहीले भने आफूहरू चन्द्रमाको सन्तान भएको दाबी गर्छन्। जो सौर्यमण्डलका ग्रहहरू शुक्र, मंगल, शनि र बृहस्पतिबारे सचेत थिए। तिनको महत्वपूर्ण ग्रह शुक्र हो, जसलाई तिनले युद्धसँग सम्बन्धित ठान्थे। युद्धहरू शुक्रको गतिविधिसँग मेल खानेगरी व्यवस्थित गरिन्थ्यो। किनकि कैद गरिएका योद्धा र नेताहरूलाई पनि रातको आकाशमा शुक्रको स्थितिअनुसार बलिदान दिइन्थ्यो। खुसी के भने समय बदलिएको छ, अहिले यो अवस्था रहेनछ।
माया पात्रो, माया लिपि र गणितमा माया : माया पात्रो खगोल विज्ञानसँग जोडिएको रहेछ। जसले मूलत: दुई पात्रो प्रयोग गर्थे : क्यालेन्डर राउन्ड र लङ काउन्ट। लङ काउन्ट पात्रो समयका विभिन्न एकाइमा विभाजित थियो, जसले सौर्य वर्ष (३६५ दिन)लाई आधार बनाउँथ्यो। क्यालेन्डर राउन्ड दुई अलग पात्रोबाट बनेको थियो; पहिलो ३६५ दिनको सौर्य वर्ष। सौर्य पात्रो ३६५ दिन वा २० दिनका १८ महिना र मात्र ५ दिनको एक महिना थियो। यो दैनिक जीवन र कृषि गणना गर्न प्रयोग गरिन्थ्यो। दोस्रो २६० दिनको चक्रमा आधारित धार्मिक पात्रो। जसबाट समारोह र दैवीघटनाहरू गणना गरिन्थ्यो। यो २० दिनका १३ महिनाबाट बनेको हुन्थ्यो। यी चक्र ५२ वर्षपछि पंक्तिबद्ध हुन्छन्।
मायाहरूको लिपि पनि आफ्नै थियो। यसमा लगभग ७०० लोगोग्राम र हाइफेनेटर (ध्वनि/अक्षर) थिए। जो अन्जिरको बोक्राको भित्री भागबाट कागज बनाउँथे अनि पुस्तक जस्तै फोल्ड गर्न मिल्ने गरी बनाएर त्यसमा लेख्थे। १६औं शताब्दीमा उपनिवेश विस्तारको क्रममा स्पेनी विजेताले माया राज्य भएका मध्य अमेरिकाका भूभागलाई इसाईकरण गरे। माया सभ्यता र तिनका धेरैजसो पुराना अभिलेखलाई जथाभावी नष्ट गरिदिए। ध्वंशका कथा केही महिनाअघि नेपालमा जेन–जी आन्दोलनका नाममा गरिएको विध्वंस स्मरण भयो। जुन तोडफोड र आगजनीको सिकारमा नेपालका सम्पदा र अभिलेख खरानी भए। मायाभूमिमा स्पेनी उपनिवेशको उपद्रो सुन्दा मन अमिलो भयो। संयोगवश ड्रेस्डेन (राष्ट्रिय पुस्तकालय), पेरिस, म्याड्रिड र मेक्सिको सिटीका संग्रहालय गरी चारवटा महत्वपूर्ण अभिलेख सुरक्षित रहेछन्। ड्रेस्डेनमा संरक्षित कोडेक्सलाई सबैभन्दा विस्तृत र मायाकलाको महत्वपूर्ण नमुना मानिँदोरहेछ। ड्रेस्डेनका प्राध्यापकहरू मायासभ्यताबारे धेरै जानकार रहेछन्।
मायाहरू उत्कृष्ट गणितज्ञ थिए। जसले शून्यको अवधारणा आविष्कार गरे। सौर्य र चन्द्र ग्रहणहरू भविष्यवाणी गर्न गणितीय तालिकाहरू अभिलेख गरे। तिनले २० गणनाको आधारमा संख्या प्रणाली विकास गरे। जसले ठूला खगोलीय गणनाहरू सजिलो बनाइदियो। माया संख्या प्रणाली जति सरल थियो, त्यति नै प्रतिभाशाली पनि। पुरातन मायाहरू शून्यको अवधारणा जान्ने पहिलो जातिमध्ये थिए। यसलाई शंखको रूपमा चित्रण गरिँदोरहेछ। त्यसैले २० भनेको एउटा विन्दुसहितको शंख हो, ४० भनेको दुईवटा विन्दुसहितको शंख हो इत्यादि।
प्रतिक्रिया दिनुहोस !