सरकारले दोहोरो चरित्र देखाइरहेको छ : शेखर कोइराला

सरकारले दोहोरो चरित्र देखाइरहेको छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा देखिएको असुरक्षा, फरार कैदीको अवस्था र हातहतियार लुटिएका जस्ता घटनाले लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै उनले सरकारको भूमिकामाथि कडा प्रश्न गरेका छन् । 

विराटनगर महानगरपालिका–६ सरौचियामा शनिबार बिहान आयोजित नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस निर्वाचनबाट भाग्न खोजेको नभई अझै जिम्मेवार ढंगले निर्वाचनमा सहभागी हुन चाहेको स्पष्ट पारे । उनले भने, ‘कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । हामी निर्वाचनमा जान्छौं । तर, सरकारले न्यूनतम शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । अहिलेको अवस्था हेर्दा अझै पनि सार्पसुटरसहित जेलबाट ५ हजारभन्दा बढी कैदी फरार छन् । प्रहरीका हतियार लुटिएका छन् । यस्तो अवस्थामा निर्वाचन कसरी निष्पक्ष र शान्तिपूर्ण हुन्छ ? फरार कैदी पक्राउ गर्नु, लुटिएका हतियार बरामद गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । तर, सरकार त्यो दिशामा गम्भीर देखिँदैन ।’

सरकारको दोहोरो चरित्रप्रति पनि उनले प्रश्न उठाए । एकातिर राजनीतिक दलका नेता, यहाँसम्म कि पूर्वप्रधानमन्त्रीहरूलाई समेत काठमाडौं बाहिर जान नदिने, अर्कोतर्फ सरकारले निर्वाचन गराउँछु भनेर दाबी गर्ने अवस्था आफैंमा विरोधाभासपूर्ण रहेको उनको भनाइ थियो । यस्तो अवस्थामा सरकारले कस्तो निर्वाचन गराउन खोजेको हो ? भन्दै उनले विगतमा जस्तै सबै राजनीतिक दलहरूको सहभागितामा निर्वाचन हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको बताए । कांग्रेस निर्वाचनप्रति सकारात्मक रहेको र लोकतान्त्रिक अभ्यासबाट कहिल्यै पछि नहट्ने पार्टी भएको उनले पुनः दोहोर्‍याए ।

नेता कोइरालाले भदौ २३ र २४ गते भएका तथाकथित जेनजी आन्दोलनका घटनालाई पनि छुट्टाछुट्टै रूपमा मूल्यांकन गर्नुपर्ने बताए । उनका अनुसार भदौ २३ गतेको घटना अत्यन्तै घृणित र निन्दनीय थियो, जसलाई कुनै पनि बहानामा माफी दिन सकिँदैन । तर, त्यसपछि भदौ २४ गते भएको घटनालाई पनि गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उनको धारणा थियो । 

उनले भने, ‘सरकार र जेनजी पक्षले दुवै घटनालाई अलग–अलग रूपमा हेर्नुपर्छ भनेको भए पनि दुवै घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउनु अपरिहार्य छ ।’ विशेष गरी २४ गतेको घटना मुलुकका लागि अत्यन्त दुर्भाग्यपूर्ण भएको भन्दै त्यसले समाजमा नकारात्मक सन्देश दिएको कोइरालाले उल्लेख गरे ।
पार्टीको आन्तरिक अवस्थाबारे बोल्दै नेता कोइरालाले वर्तमान परिस्थितिका कारण नेपाली कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन सक्ने आशंका व्यक्त गरे । १५ औं महाधिवेशनमा सभापतिको दाबी गर्दै आएका उनले पार्टीको नियमित महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए । त्यसका लागि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने र विशेष गरी क्रियाशील सदस्यताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए । पार्टीलाई बलियो बनाउन संगठनात्मक आधार मजबुत हुन आवश्यक रहेको उनको भनाइ थियो ।

वडास्तरीय अधिवेशनको सन्दर्भमा पनि नेता कोइरालाले कार्यकर्ता तथा नेताहरूलाई संयमता अपनाउन र परिपक्वता देखाउन सुझाव दिए । उनले वडाको अधिवेशनलाई सकेसम्म सहमतिमा सम्पन्न गर्न प्रयास गर्न आग्रह गर्दै यदि सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए । तर, प्रतिस्पर्धामा हार–जितलाई लिएर एकअर्कामाथि आरोप लगाउने, असन्तुष्ट गतिविधि गर्ने वा पार्टीलाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने उनले स्पष्ट पारे । स्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक पार्टीको सुन्दर पक्ष भएको भन्दै त्यसलाई सम्मान गर्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.