अध्यादेशको भरमा शासन चल्दा लोकतन्त्र कमजोर हुन्छ : अर्थमन्त्री खनाल
विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारसँग असीमित जनादेश नभएको स्पष्ट पार्दै संसद्को उपस्थिति बिना अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतन्त्रलाई कमजोर बनाउने अभ्यास भएको बताएका छन्।
मोरङ उद्योग व्यापार संघले विराटनगरमा बुधबारबाट आयोजना गरेको ‘विराट ट्रेड एक्स्पो २०२५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कानुन निर्माणको मूल थलो संसद् नै भएको उल्लेख गरे। अध्यादेशलाई स्थायी शासन प्रणालीको विकल्पका रूपमा प्रयोग गर्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने उनको भनाइ छ।
अर्थमन्त्री खनालले सरकारको कार्यशैली, कानुनी प्रक्रिया र लोकतान्त्रिक मर्यादाका विषयमा स्पष्ट र कडा टिप्पणी गरेका छन्। उनले भने, ‘यो सरकारलाई असीमित म्याण्डेट छैन। कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु पनि हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो।’ लोकतन्त्रमा जनप्रतिनिधिमार्फत बहस, छलफल र सहमतिका आधारमा मात्रै कानुन बन्नुपर्नेमा जोड दिँदै उनले अध्यादेशको सहारामा शासन चलाउने अभ्यास असल नहुने बताए।
‘मैले सधैं भन्दै आएको छु, अध्यादेशको आधारमा शासन चलाउनु हुँदैन । यसले न लोकतन्त्रलाई बलियो बनाउँछ, न त सुशासनको अभ्यासलाई स्थापित गर्छ,’ खनालको भनाइ थियो। अर्थमन्त्री खनालले सीमित म्याण्डेट, राजनीतिक अस्थिरता र संस्थागत कमजोरीका बाबजुद पनि सरकारले निजी क्षेत्रको आशा र अपेक्षा सम्बोधन गर्न प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे।
पछिल्ला वर्षहरूमा अर्थतन्त्रले भोगेको दबाब, लगानी सुस्तता र बजारको मनोविज्ञानका बीच पनि निजी क्षेत्रले देखाएको धैर्यता र पुनरुत्थानको क्षमतालाई उनले सकारात्मक रूपमा मूल्यांकन गरे। संकटका समयमा निजी क्षेत्र आफैं अघि सरेर अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गर्नु सुखद् पक्ष भएको उनको भनाइ थियो । उनले निजी क्षेत्रको यही आत्मविश्वास र सक्रियताले अर्थतन्त्रलाई पुनः गति दिन सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका क्रममा खनालले पूर्वी नेपालका जिल्लाहरूको पर्यटन सम्भावनाबारे आफ्ना व्यक्तिगत अनुभव पनि सुनाए। आफूले पूर्वका सबै जिल्लाको पैदल यात्रा गरेर अवलोकन गरेको स्मरण गर्दै उनले यहाँको भूगोल, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता पर्यटन विकासका लागि अत्यन्तै उपयुक्त रहेको बताए। ‘मैले यस क्षेत्रको भूगोल पूरै पैदल नै घुमेको छु,’ उनले भने, ‘त्यो अनुभवका आधारमा म निर्धक्कसँग भन्न सक्छु, यहाँ पर्यटन विकासको निकै ठूलो सम्भावना छ।’
प्रतिक्रिया दिनुहोस !