प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा भोजपुरबाट ५ जनाको नाम सिफारिस
भोजपुर : आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी भोजपुरले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। पार्टीले नेता अजम्बर राई काङमाङसहित पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको हो।
पार्टीले सिफारिस गरेको अन्य नामहरुमा दिलकुमार राई, नगेन्द्र भुजेल (अल्पसंख्यक), सन्तोष राई (जेन–जेड) र सुदेश पराजुलीको नाम पठाएको हो। काङमाङ साविकको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य थिए।
पहिचानको मुद्दामा एमालेसँग असहमत जनाएका काङमाङले अशोक राई नेतृत्वको पार्टी हुँदै माओवादी केन्द्रमा जोडिएका थिए। त्यस्तै भुजेल तत्कालीन माओवादीका जिल्ला संयोजक हुन् भने पराजुली एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष रहिसकेका छन्। सिफारिस गरिएका पाँच नेतामध्ये पार्टी केन्द्रीय कमिटीले एक जनाको नाम टुंगो लगाउनेछ।
रास्वपा भोजपुरले पनि टुंगायो उम्मेदवार
आसन्न फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुरले चुनावी तयारी सुरु गरेको छ। निर्वाचनका लागि पूर्वतयारी अवस्थामा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति ईश्वर कुमार कार्कीले बताए। पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पनि सिफारिस गरेको छ।
जसमा रास्वपाले हाल केन्द्रीय पर्यटन विभागका सदस्य समेत रहेका रमेश ओझाको नाम सर्वसम्मत चयन गरेको छ। निर्वाचनका लागि समानुपातिकतर्फ महिला खस आर्यबाट समिता आचार्य र प्रवासबाट प्रेमराज ढकालको नाम चयन गरिएको छ।
भोजपुरमा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका लागि पुरानै ८७ मतदान स्थल र एक सय ५५ मतदान केन्द्रलाई तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस !