नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्यो : लिङ्देन

नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्यो : लिङ्देन
विराटनगरमा राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर : किशोर बुढाथोकी

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको बताएका छन् । उनले नेपाली राजनीतिका सवालमा निकै गम्भीर र दूरगामी अर्थ राख्ने प्रतिक्रिया दिएका हुन् । 

विराटनगरमा आइतबार राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले नेपाल अहिले साधारण राजनीतिक संकटमा नभई प्रत्यक्ष भूराजनीतिक चक्रव्यूहमा फसेको दाबी गरे । उनले अबको चुनौती सरकार बनाउने वा चुनाव जित्ने मात्रै नभएर देशलाई कसरी जोगाउने र कसरी बचाउने भन्ने ऐतिहासिक जिम्मेवारी नेपाली राजनीतिक शक्तिहरूको काँधमा आइपरेको उल्लेख गरे । 

लिङ्देनले नेपालको निर्णायक क्षमता क्रमशः नेपाली जनताको हातबाट बाहिरिँदै गएको बताए। उनले भने, 'अब नेपालमा कसलाई प्रधानमन्त्री बनाउने,कसलाई जिताउने र कसलाई हराउने भन्ने खेल देशभित्र होइन,देशबाहिरका शक्तिकेन्द्रहरूमा सुरु भइसकेको छ । यसले कुनै एउटा दललाई मात्रै नभएर सम्पूर्ण राजनीतिक प्रणालीमाथि नै प्रश्न उठाएको छ ।’ 

नेपालको सार्वभौम निर्णय शक्ति कमजोर हुँदै गएको संकेत गर्दै लिङ्देनले यसलाई राष्ट्रिय अस्मितामाथिको गम्भीर खतरा भनेका छन् । लिङ्देनले फागुन २१ गतेका लागि तोकिएको चुनाव समस्याको समाधान नभएको बताए । त्यो चुनाव बरु देशलाई अझै बर्बादी र अनिश्चिततातर्फ धकेल्ने प्रक्रिया भएको उनको आरोप छ । सबै संरचनागत, राजनीतिक र वैचारिक समस्याहरू यथावत् राखेर चुनावमा जानु भनेको अस्थिरतालाई संस्थागत गर्नु बराबर हुने उनको तर्क थियो । 

उनले विशेषगरी जेनजी युवा पुस्तालाई समेटेर सबै राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलनको आवश्यकता औंल्याए । उनका अनुसार नयाँ पुस्ताको असन्तोष,निराशा र अपेक्षालाई बेवास्ता गरेर गरिएको कुनै पनि राजनीतिक प्रक्रिया दीर्घकालीन रूपमा टिकाउ हुँदैन । लिङ्देनले सहमति बिना चुनाव गर्नु भनेको देशलाई फेरि अर्को अस्थिर चक्रमा धकेल्नु भएको भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।

‘जबसम्म शासन प्रणाली,राष्ट्रिय पहिचान,संघीय संरचना र राजनीतिक दिशाबारे न्यूनतम राष्ट्रिय सहमति बन्दैन,तबसम्म चुनाव सत्ता हस्तान्तरणको औपचारिक अभ्यास मात्रै हुनेछ । यस्तो अभ्यासले देशको मूल समस्यालाई थप जटिल बनाउँछ,’उनले भने । 

उनले नवयुवा पुस्ताको भावना समेटेर सबै शक्तिहरूबीच सहमति भएपछि मात्र चुनाव भए नेपाल सही ट्रयाकमा जान सक्ने दाबी गरे । पुरानो शैलीको राजनीति छाडेर राप्रपा अब नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढिरहेको उनको दाबी थियो । आजको पुस्ताले नारामा नभएरस्पष्ट गन्तव्य र दृढ निर्णयमा विश्वास गर्ने बताउँदै लिङ्देनले त्यसअनुसार पार्टीको पुनःसंरचना गर्ने काम भइरहेको जानकारी दिए । 

लिङ्देनले देशलाई दीर्घकालीन द्वन्द्व,अराजकता र सम्भावित गृहयुद्धको अवस्थाबाट बचाउन राजसंस्थासहितको हिन्दु राष्ट्र अपरिहार्य रहेको दाबी दोहोर्‍याए । उनले यसलाई भावनात्मक मुद्दा नभई राष्ट्रिय स्थायित्वसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरे । वर्तमान राजनीतिक व्यवस्थाले समाजलाई विभाजनतर्फ धकेलेको र राष्ट्रिय एकताको आधार कमजोर बनाएको उनको आरोप थियो । त्यसैले अब वैचारिक स्पष्टताका साथ वैकल्पिक मार्ग रोज्न ढिला भइसकेको संकेत उनले गरेका छन् । 

संघीयता नचाहने र विचार मिल्ने सबै शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्न राप्रपाले छलफल तीव्र बनाएको जानकारी उनले दिए । उनका अनुसार अब विचार मिल्ने शक्तिहरू एउटै साझा मञ्चमा गोलबन्द हुने समय आएको छ । राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुद्दामा स्पष्ट धारणा राख्नेहरूका लागि राप्रपा साझा घर भएको उनको दाबी थियो । 

कार्यक्रममा उनले पार्टीभित्रको एकतामाथि पनि विशेष जोड दिए । पूर्वअध्यक्ष कमल थापासँगको सम्बन्धका बारेमा पनि लिङ्देनले बोलेका छन् । उनले कमल थापा झोकाझोकमै पार्टी छाडेर गएको स्मरण गराउँदै अहिले आपसी संवाद र समझदारीपछि घर फर्किएको बताए । कमल थापाको आगमन व्यक्तिको आगमन मात्र नभएर पार्टी एकताको सन्देश भएको उनले बताए । 

अन्य रुष्ट नेता तथा कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गर्दै लिङ्देनले अब आपसी विवाद गरेर बस्ने समय समाप्त भएको स्पष्ट पारे । पार्टीभित्रको आन्तरिक कलहले संगठनलाई कमजोर बनाउने र त्यसले आन्दोलन तथा चुनाव दुवैलाई असम्भव बनाउने चेतावनी उनले दिए । ‘आपसमै लडेर बस्ने हो भने भोलि न  जनताले पत्याउँछन्,न त अन्तिम समयमा झण्डा ओढाइदिने मान्छे नै बाँकी रहन्छ,’उनले भने । 

उनका अनुसार यो समयमा संगठन सुदृढीकरण,वैचारिक स्पष्टता र राष्ट्रिय एजेन्डामा केन्द्रित हुने हो । ‘राप्रपा कमजोर रहँदा न राजसंस्था पुनःस्थापना सम्भव छ,न त हिन्दु राष्ट्रको एजेन्डा अघि बढ्न सक्छ,’उनी भन्छन् ।

लिङ्देनले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको जानकारी दिँदै समान विचार भएकाहरूलाई मिलाउने काम तीव्र पारिएको बताए । आफ्नै जीवनकालमा देश बनेको देख्न चाहनेहरूका लागि राप्रपामा जोडिनुको विकल्प नरहेको दाबी गर्दै उनले पार्टीलले राष्ट्रिय अभियान चलाउने बताए । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.