फेवा किनारमा सुरु भयो सडक महोत्सव
पोखरा : अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्न फेवाताल किनारमा आइतबारदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ। नेपाली खाना र संस्कृति एकै साथ सडकमा पस्किएर पर्यटकलाई आकर्षण गर्न सडक महोत्सवको आयोजना गरिएको छ। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको सडक महोत्सवले पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा विकास हुँदै आएको छ।
सडक महोत्सवको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सडक महोत्सवले विदेशी मात्र होइन स्वदेशी पर्यटक पनि आकर्षण गरेको बताए।
गण्डकी प्रदेश नै पर्यटनको आकर्षणको केन्द्र रहेको बताउँदै मन्त्री घिसिङले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार, सडक निर्माण महत्वपूर्ण रहने बताए। पोखरा र भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकार लागिरहेको बताए। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जिओपोलिटिक्सका कारण पनि बनाइएको बताउँदै नयाँ सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने वातावरण बनाउने उनले विश्वास दिलाए। चुनाव भएन भने देश अस्थिरतातर्फ जाने उनको भनाइ थियो। चुनावमा सबै जानु पर्ने र देशलाई निकास दिनु पर्ने पनि उनले सुझाए।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडक महोत्सव पोखराको पर्यटन विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै सफलताको शुभकामना दिए। आयोजक संस्था रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पहिले अंग्रेजी नयाँ वर्षमा पोखरामा रहेका पर्यटक नयाँ वर्ष मनाउन घर जाने वा अन्य देश जाने अवस्थामा पर्यटकलाई पोखरामा आकर्षण गर्न सडक महोत्सव सुरु भएको बताए।
पोखरामा नयाँ वर्षलाई स्वागत गर्न पोखरा सडक महोत्सव सुरु भएपछि पर्यटकको बसाइ पनि लम्बिएको महोत्सवका संयोजक वसन्त गौतमले बताए। सडक महोत्सवमा खानाका परिकार, नेपाली परम्परागत विभिन्न जातजातीका संस्कृतिको प्रदर्शनको साथै स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि पनि महत्त्वपूर्ण हुँदै आएको आयोजक रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताए।
महोत्सवको उद्घाटनमा विभिन्न जातजाति र समुदायले नृत्य र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। फेवाताल किनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट पनि सुरु भएको छ। सडक महोत्सवको समयमा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने भएकाले पोखराका साथै आसपासकाले ग्रामीण पर्यटन व्यवसायीले समेत लाभ लिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस !