नक्कली सुन दिएर ५ लाख ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं : नेपाल प्रहरीले नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन्। प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !