बीपीको मेलमिलाप, कांग्रेसको विलाप

बीपीको मेलमिलाप, कांग्रेसको विलाप

आज फेरि ‘नयाँ र पुरानो’ पुस्ताबीच एउटा नकारात्मक भाष्य खडा गरेर पुस्ताको लडाइँ चर्काइँदैछ।

‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ’, २०३३ सालमा ‘मेलमिलाप नीति’ लिएर निर्वासनको जीवन त्याग्दै देश फर्किनु भएका तत्कालीन नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो, ‘यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ।’

साल फेरियो। जुग बिते। ५० वर्षअघि बीपीको त्यो सन्देश आजपर्यन्त उत्तिकै सान्दर्भिक छ। किनकि दृश्य उही हो। मात्रै पात्र फेरिएका हुन्। परिस्थिति उस्तै छ। शक्ति केन्द्रका पात्रहरू परिवर्तन भएका हुन्, राष्ट्रले भोगिरहेको नियति उस्तै छ। बीपी बित्नुभो, नेपाली कांग्रेस जिउँदोजाग्दो छ। तथापि आज पनि बीपीको त्यो मेलमिलाप अनि त्यो सन्देश राष्ट्रका लागि तत्कालीक आवश्यकता बनेको छ। पहिला राष्ट्र जोगिनुपर्छ। राष्ट्रियता बाँच्नुपर्छ अनि त्यसकै जगमा प्रजातन्त्र बलियो हुन्छ। मेलमिलापको यही अन्तर्यलाई बुझाउनकै लागि बीपीले आफ्नो ज्यानको बाजी लगाएर देश फर्किनु भएको थियो। थाहा थियो, नेपालको भूमि टेक्नासाथ पञ्चायत सरकारले गिरफ्तार गर्नेछ। फेरि उहाँलाई जेलमा थुन्नेछ।

तथापि उहाँले त्यसको प्रवाह गर्नु भएन। देशमा बढ्दै गएको वैदेशिक चलखेल, भूराजनीतिको भुंग्रोमा जाकिँदै गरेको देश अनि जनताका अधिकारलाई पुनस्र्थापित गर्न बीपीले त्यो बेला यस्तो दूरदृष्टिका साथ मेलमिलापको नीतिले लिनुभयो, जसको जगमा प्रजातन्त्र पुनस्र्थापित भयो। राष्ट्रियता जोगाउने र प्रजातन्त्र पुनस्र्थापित गर्नेगरी उहाँले तत्कालीन राजा वीरेन्द्रसँग सम्झौता गरेर जनमत संग्रहका लागि वातावरण तय गर्नुभयो। यद्यपि त्यो जनमत संग्रहमा ‘बहुदल’ले हार्‍यो वा हराइयो तथापि त्यही नै प्रजातन्त्रको एउटा यस्तो जग बनिदियो, जहाँबाट २०४६ सालको जनआन्दोलन विस्फोट भयो। र देशमा फेरि प्रजातन्त्र स्थापित भयो।

एउटा पार्टी कसरी जोगिने वा नेताहरूलाई कसरी जोगाउने भन्ने बेला यो होइन, राष्ट्र अनि राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर परिस्थितिको उपजलाई स्वीकार गर्दै फेरि पनि राष्ट्रिय संकल्पका अञ्जुली मिलाउने बेला हो। 

२०१७ सालमा जब तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रको कलिलो घाँटी निमोठे अनि देश फेरि एउटा अर्को युगमा प्रवेश गर्‍यो। जनताका आधारभूत अधिकारहरूमात्रै खोसिएनन्, बरु देशमा प्रजातन्त्रका लागि लडेका नेताहरूलाई जेल कोचियो। जब २०२५ सालमा बीपीलगायतका नेताहरू जेलमुक्त हुनुभयो अनि त्यसपछि उहाँलगायत धेरै नेताहरू भारतमा निर्वासित जीवन बिताउन बाध्य हुनुभयो। निर्वासनका आठ वर्षसम्म बीपीले देख्नुभयो, देशमा कसरी विदेशी शक्तिहरू सल्बलाइरहेका छन् भनेर। देशका राष्ट्रवादी शक्तिहरूबीच कसरी उनीहरूले विषारोपण गरिरहेका छन्।
खासगरी त्यो बेला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालका राजनीतिक शक्तिहरूबीच दरार ल्याउन जसरी षड्यन्त्र गरिरहेकी थिइन्, त्यो कुरा बीपीलाई थाहा भइसकेको थियो। दरबारसँग नजिक भएर बीपीलाई सिध्याउने अनि बीपीसँग नजिकजस्तो दरबारलाई सिध्याउने जुन नीति भारतले अँगालेको थियो एउटा राष्ट्रवादी नेताका लागि त्यस्तो षड्यन्त्र बीपीलाई मान्य हुने कुरा थिएन। यो कुरा दरबारले पनि राम्रोसँग चाल पाइसकेको थियो। त्यसकै लागि सबैभन्दा पहिला ‘राष्ट्र र राष्ट्रियता’ जोगाउन बीपीले मेलमिलापको नीति लिएर स्वेदश फर्किने निर्णय गर्नुभएको थियो।

‘हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व  कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्’, राष्ट्रका नाममा सम्बोधनका क्रममा पनि बीपीले भन्नुभएको थियो, ‘यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ। हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने।’

बीपीले भन्नुभएको थियो, ‘राष्ट्रियता भनेको मात्रै राष्ट्र वा माटो होइन। बरु राष्ट्रियता भनेको त्यही माटोको सुगन्धसँग गाँसिने जनताको भावना हो।’ अहिलेको अवस्थामा हामीले देखिरहेका छौं, सारा जनता नै रहेनन्, वा यो माटोको सुगन्धसँग उनीहरूको भावना र साइनोको गहिराइ मेटियो भने न राष्ट्र रहला न राष्ट्रियता नै। तसर्थ, अब फेरि एक पटक सारा राष्ट्रिय शक्ति मिलेर राष्ट्र र राष्ट्रियता जोगाउने लडाइँ लड्नुपर्ने बेला भएको छ। त्यो लडाइँ भनेको कुनै हतियार उठाउर फेरि युद्ध गर्ने भनेको होइन, बरु त्यो लडाइँ भनेको राष्ट्रिय शक्तिहरूबीच कसरी बलियो एकता गर्ने भन्ने कुरा नै हो। प्रजातन्त्रपछिका दिनहरूमा जसरी देशको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका राजनीतिक दलहरू त्यसको मर्म र भावनाविपरीत राष्ट्र अनि जनतालाई धोका दिँदै आए त्यसकै परिणाम आज बहिष्कारको सिकार हुनुपर्ने अवस्था आएको हो।

यस्तो परिस्थितिलाई उनीहरूले स्वीकार गर्नैपर्छ र त्यसको जिम्मेवारी लिनैपर्छ। त्यसका लागि ठूला वा ‘पुराना’ भनिएका राजनीतिक दलहरूले एउटा निर्मम आत्मसमीक्षा र आत्मालोचना गर्दै फेरि एक पटक यो राष्ट्र र राष्ट्रियताका लागि आह्वान गर्ने बेला भइसकेको छ। त्यो बेला बीपीले राजासँग मिलेर राष्ट्र र राष्ट्रियता अनि प्रजातन्त्र जोगाऔं भन्नुभएको थियो, आज हामी फेरि त्यही एउटा मोडमा आइपुगेका छौं। यसरी हामीले हर राजनेताका दूरदर्शी सिद्धान्तलाई आत्मसात् गरेको ठहर्छ र उहाँको चिन्तन अनि मात्रै सपनाका अनुयायी बनिरहेको ठहर्नेछ। अब फेरि एक पटक राष्ट्रिय मेलमिलापका लागि कांग्रेसले नै अगुवाइ गर्नुपर्ने बेला भइसकेको छ। गत भदौ २३–२४ जेन—जी विद्रोहको आवरणमा जेजस्तो दुर्घटना भयो त्यसकै आडमा देशमा फेरि त्यो बेला बीपीले भन्नुभएजस्तै परिस्थिति आइपरेको छ।

इतिहासका हरेक परिवर्तनका मोडमा निर्णायक भूमिका निभाएको कांग्रेसका काँधमा यतिबेला फेरि त्यस्तै दोहोरो जिम्मेवारी आइपरेको छ। एकातिर परिवर्तनका उपलब्धिहरू रक्षा अनि राष्ट्रियता जोगाउने। यद्यपि एउटा जुग बितिसकेको छ। बीपी हामीमाझ हुनुहुन्न। आज पनि देशको राजनीतिक अवस्था हेर्ने हो भने बीपीका सपना, उहाँका सिद्धान्त आदर्शका बाटाबाट नेपालको राजनीति धेरै टाढा टाढा बरालिइरहेको छ। कांग्रेससँग त्यसको जिम्मेवारी पनि छ। आज पनि उहाँका नीति अनि उहाँका हरेक वाक्य र शब्द पनि यो समय र समाजका लागि उत्तिकै सान्दर्भिक लाग्छन् र भइरहेका छन्। अहिले पनि परिस्थिति फरक छैनन्। स्थितिहरू साम्य छैनन्। मात्रै तिनमाथि चलिरहेका हुरी र बतासका रूपहरू फरक छन्।

‘देश बन्दैन, देशमा केही हुँदैन’ भन्ने जुन प्रकारका आक्रोश र नैराश्यपूर्ण भाष्य निर्माण गरेर देशको जिउँदा र जाग्दो युवा शक्तिको दुरुपयोग गरियो। भदौ २३–२४ को जेन—जी विद्रोह त्यसकै एउटा कुरूप विम्ब बन्यो। जुन उद्देश्यका साथ जेन—जीले सडकमा विद्रोहको बिगुल फुकेका थिए, त्यसमा अर्कै आवाज भरियो अनि आज फेरि ‘नयाँ र पुरानो’ पुस्ताबीच एउटा नकारात्मक भाष्य खडा गरेर पुस्ताको लडाइँ चर्काइँदैछ। त्यसैले फेरि कांग्रेसले एउटा अर्को लडाइँ लड्नुपर्ने भएको छ। पहिलो लडाइँ त राष्ट्र जोगाउनु नै हो। राष्ट्रियताको रक्षा नै हो। त्यसका लागि विभिन्न आवरणमा देखिएका देशीय अनि विदेशी शक्तिहरू विरुद्ध फेरि नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप’को अगुवाइ गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।

जेन—जीको विद्रोहपछि नेपाली राजनीतिमा जुन प्रकारको हलचल पैदा भएको छ, त्यसलाई कमजोरी ठान्दै जसरी भूराजनीतिको भुँमरी सिर्जना गरिएको त्यसलाई बीपीको त्यही मेलमिलापको सिद्धान्तबाट मात्रै पराजित गर्न सकिन्छ। अनि जसरी देशभित्रैका शक्तिहरू एकअर्काको अस्तित्वलाई सामाजिक बहिष्कारका रूपमा बढावा दिन थालिएको छ, त्यसलाई पनि कांग्रेसले चिर्नु पर्नेछ। त्यसको अगुवाइ पनि उसैले गर्नुपर्छ किनकि देशभित्रैका शक्तिबीच एकता हुन सकेन भने विदेशी शक्तिसँग लड्न गाह्रो हुन्छ। यो एउटा पार्टी कसरी जोगिने वा नेताहरूलाई कसरी जोगाउने भन्ने बेला होइन, राष्ट्र अनि राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर परिस्थितिको उपजलाई स्वीकार गर्दै फेरि पनि राष्ट्रिय संकल्पका अञ्जुली मिलाउने बेला हो। नत्र हाम्रा आफ्नै पुर्खा, पुस्ता अनि जेन—जी विद्रोहको त्यो विध्वंस अनि त्यसमा खरानी भएका हाम्रा कैयौं कलिला प्राणहरूले हामीलाई सधैं सरापिरहनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.