सिन्धुपाल्चोकमा किसान हाटबजार सुरु भएपछि कृषक उत्साहित

सिन्धुपाल्चोकमा किसान हाटबजार सुरु भएपछि कृषक उत्साहित

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ कि सिर्जना गिरी आफैंले उत्पादन गरेको तरकारीजन्य उपज लिएर कृषक हाटबजार पुगिन्। कृषक हाटबजारमा आफ्ना उत्पादन सजिलै बिक्री भएपछि उनी उत्साहित छिन्। ‘आफैंले फलाएको तरकारीहरू लिएर हाटबजार गएको थिएँ’, उनले भनिन्-‘दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि आम्दानी गर्न सकिने रहेछ। हाटबजारमा आफ्ना उत्पादन बेचेर आम्दानी गर्न पाउँदा निक्कै उत्साहित भएको छु।’ उत्पादन भएको तरकारीजन्य सामग्री आफ्नै ठाउँमा बिक्री हुने किसान हाटबजार सञ्चालनमा आएपछि अब व्यावसायिक रुपमै तरकारी खेती गर्ने सोच बनाएको उनले बताइन्।

उनीजस्तै अर्का कृषक गोसर खड्काले आफ्नै ठाउँमा आफ्ना उत्पादन बेच्न पाउँदा खुसी लागेको सुनाए। ‘बजारमा बेच्न लगेपछि व्यापारीले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ’, उनले भने। हाटबजारले उत्पादन बिक्री गर्ने समस्यालाई हल गरेको भन्दै उनले कृषकहरूको लागि सुनौलो अवसर भएको बताए। 

‘स्थानीय उत्पादनहरूमा शुद्धता, अर्गानिक उपज हाम्रो प्रतिबद्धता’ भन्ने नाराको साथ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ को धार्मिक एवम् पर्यटकीयस्थल पाल्चोकमा शनिबारबाट किसान हाटबजार सञ्चालनमा आएपछि कृषकहरू उत्साहित बनेका छन्। स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न हाटबजारको सुरुवात गरिएको पाल्चोकीमाई किसान हाट बजार व्यवस्थापन समितिका संयोजक गोपाल गिरी बताउँछन्। ‘अहिले हामीले १० वटा स्टलबाट हाटबजार सुरु गरेका छौं’, उनले भने-‘स्थानीय कृषकहरूले हाटबजारमा आफ्ना उत्पादनहरू बिक्री गरेर राम्रो आम्दानी गरेको सुनाउनु भएको छ। अब हामी स्टललाई थप गर्दै व्यवस्थित बनाउने योजनामा छौं।’

जैविक खेतीको प्रवर्द्धन गर्दै किसानले उत्पादन गरेको सामग्री किसानले नै बेच्ने व्यवस्था गर्न हाटबजार सञ्चालन गरिएको गिरीको भनाई छ। ‘स्थानीय किसानले बिचौलिया बिना आफ्नै उत्पादन प्रत्यक्ष बिक्री गर्ने अवसर पाएका छन्’, उनले भने-‘यो बजार किसान र उपभोक्ता दुवैका लागि लाभदायक छ।’ हरेक शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हाटबजार सञ्चालन गरिने उनले बताए।

समितिले हाट बजार सञ्चालनमा ल्याएपछि आफूले उत्पादन गरेको विभिन्न वस्तुलाई बिक्रीका लागि सहज भएको कृषक सानुमाया तामाङ बताउँछिन्। बजारमा किन्नुभन्दा यहाँ थोरै भए पनि सस्तोमा पाउने भएकाले उपभोक्ता र कृषक दुबैलाई फाइदा पुग्ने उनको भनाई छ। बजारमा व्यापारीले बिक्री गरेको तरकारीभन्दा किसानले उत्पादन गरी सिधै बेच्न ल्याएको तरकारीमा मूल्यमा कम हुनुका साथै सहज रूपमा किन्न पाइएको उपभोक्ताहरूको भनाई छ।

हाटबजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ। किसानको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाटबजार सञ्चालनमा ल्याएको समितिका संयोजक गिरीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.