कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, एमाले र कांग्रेसबाट नयाँ अनुहार

कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, एमाले र कांग्रेसबाट नयाँ अनुहार
फाइल तस्बिर

विराटनगर : कोशी प्रदेश सरकार पुनर्गठनको अन्तिम तयारी गरिएको छ। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रालयको भागबन्डा टुंगो लागेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी थालेका छन्। 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यो साता वा बढीमा एक–दुई दिनभित्र औपचारिक रूपमा मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छ। नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन्। दलभित्रको छलफल लगभग टुंगिएको र अब नाम सार्वजनिक गर्ने मात्र बाँकी रहेको पराजुलीको भनाइ छ। 

प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र दलहरूबीचको राजनीतिक सन्तुलन कायम गर्ने उद्देश्यले सरकार पुनर्गठन गर्न लागिएको सत्तारूढ दलहरूको दाबी छ। सत्तारूढ एमालेबाट मन्त्री बन्ने आकांक्षीमा ६ जनाको नाम चर्चामा छ। एमाले स्रोतका अनुसार प्रमुख सचेतक विदुर लिङ्थेप, चिन्तन पाठक (तिलचन), निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जनाले मन्त्री बन्ने अवसर पाउनेछन्। यी नाममध्ये कसलाई कुन मन्त्रालय जिम्मा दिने भन्ने विषयमा अन्तिम छलफल चलिरहेको जनाइएको छ।

नेपाली कांग्रेसको तर्फबाट भने ४ जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भइसकेको छ। कांग्रेसभित्रको शक्ति सन्तुलनअनुसार डा. शेखर कोइराला समूहबाट मानबहादुर लिम्बू, कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली तथा संस्थापन पक्षबाट इसराइल मन्सुरी र प्रदीप सुनुवार मन्त्री बन्ने पक्का जस्तै भएको स्रोतको भनाइ छ। 

हालको मन्त्रिपरिषद् संरचना अनुसार एमालेबाट रामबहादुर रानामगर (राम राना) आर्थिक मामिला तथा योजना मन्त्री, पाँचकर्ण राई सामाजिक विकास मन्त्री, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री र एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री छन्। त्यस्तै कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री छन्।

सरकार पुनर्गठनपछि केही मन्त्रालयको जिम्मेवारी हेरफेर हुने र केही नयाँ अनुहार सरकारमा प्रवेश गर्ने निश्चित छ। प्रदेश सरकारभित्र देखिएको असन्तुलन, दलभित्रका असन्तुष्टि र आगामी राजनीतिक समीकरणलाई ध्यानमा राखेर सरकार पुनर्गठन गर्न लागिएको सत्तारूढ पक्षको बुझाइ छ। पुनर्गठनपछि कोशी प्रदेश सरकारले नयाँ स्वरूप प्राप्त गर्ने छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.