कोशीको राष्ट्रियसभामा गठबन्धनको पकड : ‘अन्य’मा नतिजा तय, दलित र महिलामा भिडन्त

कोशीको राष्ट्रियसभामा गठबन्धनको पकड : ‘अन्य’मा नतिजा तय, दलित र महिलामा भिडन्त

विराटनगर : रिक्त हुन लागेको राष्ट्रियसभा सदस्य पदका लागि कोशी प्रदेशबाट बुधबार सम्पन्न मनोनयन दर्तासँगै चुनावी परिदृश्य लगभग स्पष्ट भएको छ। 

कांग्रेस-एमालेबीच बनेको चुनावी गठबन्धनले उम्मेदवारी चरणमै आफ्नो दबदबा देखाएको छ भने ‘अन्य’ समूहमा परिणाम लगभग निश्चित भइसकेको छ। दलित र महिला समूहमा भने औपचारिक प्रतिस्पर्धा हुने निश्चित भएको छ। निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस-एमाले गठबन्धन र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरूले मनोनयन दर्ता गराएसँगै कोशीको राष्ट्रियसभा निर्वाचनले स्पष्ट राजनीतिक दिशा लिएको हो। 

निर्वाचन कार्यतालिका अनुसार कोशी प्रदेशबाट राष्ट्रियसभामा दलित, महिला र अन्य समूहबाट एक-एक गरी तीन सदस्य निर्वाचित हुनेछन्। गठबन्धनको पूर्व सहमतिअनुसार दलित र महिला समूह एमालेको भागमा परेको छ भने अन्य समूह कांग्रेसको हिस्सामा परेको छ। यही समझदारीअनुसार एमालेले दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेको उम्मेदवारी दर्ता गराएको छ। पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल छन्। मेचेका प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई रहेका छन्।

अन्य समूहबाट कांग्रेसका सुनील थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई छन्। सो समूहमा थापाबाहेक अन्य कुनै उम्मेदवारको मनोनयन नपरेपछि उनी एकल उम्मेदवार बनेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानुनी प्रक्रिया पूरा भएपछि पुस २७ गते थापालाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ।

यता, नेकपाले दलित र महिला समूहमा प्रतिस्पर्धा गर्ने निर्णय गर्दै आफ्ना उम्मेदवार मैदानमा उतारेको छ। दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गराएका छन्। न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छन् भने सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमोनारायण माझी रहेका छन्। तर, अन्य समूहका लागि तय गरिएका उम्मेदवार हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालय नपुग्दा उक्त समूहमा नेकपाको उम्मेदवारी दर्ता हुन सकेन। यही कारण ‘अन्य’ समूहमा कांग्रेसका थापा निर्विरोध हुने अवस्था बनेको हो।

देशभर राष्ट्रियसभाका रिक्त १८ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। तीमध्ये कोशी प्रदेशबाट ३ जना सदस्य निर्वाचित हुनेछन्। अन्य समूहमा परिणाम लगभग तय भइसके पनि दलित र महिला समूहमा भने कांग्रेस-एमाले गठबन्धन र नेकपाबीच भिडन्त हुनेछ। तर, मतभारको हिसाबले गठबन्धन बलियो देखिन्छ। 

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३ सय ६७ मतदाता छन्। ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ। प्रदेश र स्थानीय तह मिलाएर एमालेको ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार छ। कांग्रेस-एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ। यही गठबन्धनमा रहेको जसपाको १ सय २९ मतभार छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ।

यसअघिका निर्वाचनको इतिहास भने गठबन्धनका लागि पूर्णतः सहज छैन। २०७८ र २०८० सालका राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन हुँदाहुँदै पनि मत क्रस भएका कारण अपेक्षित परिणाम नआएको उदाहरण छन्। मनोनयन दर्तासँगै कोशीको राष्ट्रियसभा चुनाव औपचारिक रूपमा चुनावी चरणमा प्रवेश गरेको छ। 

एकातर्फ गठबन्धनले संगठन र मतभारको शक्ति देखाएको छ भने अर्कोतर्फ सीमित मतभारका बाबजुद नेकपाले प्रतिष्पर्धात्मक उपस्थिति जनाउने प्रयास गरेको छ। अब माघ ११ गतेको मतदानले दलित र महिला समूहमा अन्तिम निर्णय गर्नेछ। जबकि ‘अन्य’ समूहमा सुनील थापाको राष्ट्रियसभा प्रवेश औपचारिक घोषणाको प्रतीक्षामा मात्र सीमित भएको छ। घोषणा हुन बाँकी रहे पनि ‘अन्य’मा नतिजा तय भइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.