सीमान्तकृत समुदायकी रोशनी राष्ट्रियसभाको ढोकामा
विराटनगर : झापाको रैथाने र अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रियसभामा पुग्न लागेकी रोशनी मेचे अहिले कोशी प्रदेशको राजनीतिमा विशेष चर्चाको केन्द्रमा छिन्।
मेचीनगर नगरपालिका-१२ (साविक धाइजन-३)मा जन्मिएकी रोशनी राष्ट्रियसभाको उम्मेदवार बनेसँगै मेचे समुदायका लागि यो क्षण ऐतिहासिक बनेको छ। उनले कोशी प्रदेशमा बुधबार मनोनयन दर्ता गराइन्। मेचे समुदाय झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल क्षेत्रमा बसोबास गर्दै आएको छ। नदी किनारलाई जीवनको आधार बनाउँदै आएको यस समुदायलाई सरकारले अति सीमान्तकृत सूचीमा राखेर मासिक प्रतिव्यक्ति ४ हजार रूपैयाँ भत्तासमेत उपलब्ध गराउँदै आएको छ।
यही समुदायबाट प्रतिनिधित्व गर्दै रोशनी राज्यको माथिल्लो सदनसम्म पुग्न लागेकी हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा (जनता समाजवादी पार्टी) सम्मिलित बलियो गठबन्धनका कारण उनको जित लगभग सुनिश्चित देखिन्छ। यदि उनी विजयी भइन् भने मेचे समुदायबाट राष्ट्रियसभामा पुग्ने पहिलो व्यक्ति बन्नेछिन्। जसले सीमान्तकृत समुदायको प्रतिनिधित्वलाई नयाँ उचाइ दिनेछ।
रोशनीको शैक्षिक र बौद्धिक पृष्ठभूमि मजबुत छ। उनले २०५५ सालमा बलभद्र माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेकी हुन्। त्यसपछि समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गर्दै २०७४ सालमा अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी थिइन्। सीमान्तकृत समुदायबाट कानुन र समाजशास्त्र दुवै क्षेत्रमा दख्खल राख्ने महिलामध्ये उनी गनिन्छिन्।
नेकपा (एमाले)को जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सदस्य रहेकी रोशनी पार्टीभित्र इमानदार र सक्रिय कार्यकर्ताका रूपमा परिचित छिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ जिल्ला र प्रदेशबाट सिफारिस हुनु र पछिल्ला २ वर्ष एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत रहनुले उनको राजनीतिक विश्वास र अनुभवलाई बलियो बनाएको छ।
उनको राजनीतिक यात्रा सहज मात्रै भने रहेन। एमालेको महाधिवेशन प्रतिनिधि बन्ने क्रममा प्राविधिक कारणले पछि परेकी रोशनीले ओलीको सचिवालयमा काम गर्दै नेतृत्वको भरोसा जितिन्। यही विश्वासका आधारमा पार्टीले उनलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको हो।
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ३ सय ६७ मतदाता छन्। कांग्रेस-एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुगेको छ। जसले रोशनीको जित लगभग निश्चित बनाएको छ । प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को मतभार १ हजार ६ सय ४२ छ।
रोशनीले अवसर पाएमा सीमान्तकृत समुदायका मुद्दालाई राष्ट्रियसभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएकी छन्। उम्मेदवार बनेर राष्ट्रियसभाको ढोकामा पुगेकी रोशनीको उम्मेदवारीलाई व्यक्तिगत उपलब्धि नभएर राज्यको नीतिनिर्माण तहसम्म सीमान्तकृत समुदायको आवाज पु¥याउने एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस !