आइएमई लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार काठमाडौंको धुमबाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए।
सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ। यससँगै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कम्पनीको बाह्य लेखा परीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट हालः कायम रहेको चुक्ता पुँजीको १०.५२६३२ प्रतिशतका दरले कूल रु. ५२ करोड ६३ लाख १५ हजार ७८९ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट निर्देशन प्राप्त भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव अनुमोदन गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएको खर्च पनि सभाले अनुमोदन गरेको छ।
सभालाई सम्बोधन गर्दै सभाध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा योगदान पुर्याउने सबै शेयरधनी, बीमित, अभिकर्ता, नियामक निकाय, पुनर्बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि कम्पनीप्रति विश्वास र समर्थन निरन्तर रहने आशा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !