म्यादी प्रहरीमा युवायुवतीको आकर्षण, मोरङमा ४ हजारभन्दा बढी भर्ना गरिँदै
विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मोरङ जिल्लामा ४ हजारभन्दा बढी म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना गरिने भएको छ। ६ वटा निर्वाचन क्षेत्रका लागि ४ हजार ३ सय ८३ जना म्यादी भर्ना गर्न लागिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन म्यादी प्रहरीको माग गरिएको जानकारी दिए। म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिन युवायुवतीको उल्लेख्य भिड लागेको छ।
निर्वाचन सेलका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले म्यादी हुन इच्छुकको आवेदन संकलन गरिरहेको छ। निर्वाचनको सुरक्षा व्यवस्थापनलाई केन्द्रमा राख्दै म्यादी छनोट प्रक्रिया अघि बढाइएको एसपी कटवालले बताए। उनका अनुसार निर्वाचनको संवेदनशीलता, भौगोलिक अवस्था र जनघनत्वलाई ध्यानमा राख्दै मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि आवश्यक संख्या निर्धारण गरी म्यादी प्रहरीको माग गरिएको हो।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको छ। रोजगारीको अवसरसँगै राष्ट्र सेवामा सहभागी हुने चाहनाका कारण आवेदन दिनेहरूको चाप बढेको प्रहरीको भनाइ छ। शुक्रबारबाट सुरु भएको आवेदन प्रक्रिया माघ १ गतेसम्म खुल्ला रहने छ। तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
एसपी कटवालका अनुसार म्यादी प्रहरीमा आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक योग्य मानिने छन्। साथै, फौजदारी अभियोगमा सजाय नपाएको, कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, आतंककारी वा विध्वंसकारी गतिविधिमा संलग्न नरहेको हुनुपर्ने स्पष्ट मापदण्ड तोकिएको छ। यी सबै सर्त पूरा गरेका व्यक्तिहरू मात्र छनोट प्रक्रियामा समावेश हुनेछन्।
म्यादीमा छनोट भएपछि सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराइने जानकारी पनि प्रहरीले दिएको छ। छनोटमा परेका म्यादी प्रहरीलाई निर्वाचन अवधिभर मतपेटिका सुरक्षा, मतदान केन्द्रको निगरानी, भिडभाड व्यवस्थापन, मतदाता र कर्मचारीको सुरक्षाजस्ता जिम्मेवारी दिइनेछ। त्यसअघि उनीहरूलाई आवश्यक सुरक्षा तालिम प्रदान गरिने एसपी कटवालले बताए।
निर्वाचन नजिकिँदै जाँदा मोरङजस्तो ठूलो र राजनीतिक रूपमा संवेदनशील जिल्लामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउने तयारीस्वरूप म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको उनको भनाइ छ। आवेदन दिन देखिएको उत्साह युवायुवतीमा म्यादी प्रहरीप्रतिको आकर्षण अझै बढ्दै गएको बताइन्छ।
प्रतिक्रिया दिनुहोस !