यादव–ठाकुर फेरि एक ठाउँ

यादव–ठाकुर फेरि एक ठाउँ

काठमाडौं : मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादव र लामो समयदेखि राजनीतिमा  सक्रिय नेता महन्थ ठाकुर फेरि एउटै छातामुनि गोलबन्द भएका छन् । ४ वर्षअघि स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विद्रोह गर्दै ठाकुरले आफ्नै नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन गरेका थिए।

यादव र ठाकुरले मन माझामाझ गर्दै आइतबार फेरि पार्टी एकता गरेका छन्। पार्टीको नाम जनता समाजवादी र चुनाव चिह्न छाता राख्ने सहमति भएको छ। एकीकरणपछि  पार्टी अध्यक्ष बनेका यादव र संरक्षकको जिम्मेवारी पाएका ठाकुरले एकअर्कालाई मिठाइ खुवाएर खुसियाली साटासाट गरे। 

ठाकुरले लोसपाको चुनाव चिह्न साइकल छाप छोडेर जसपा नेपालको छातामा ओत लिएका छन्।

किन जुटे ?    
मधेसी दल फुट्नु र जुट्नु पछाडिको गजबको कथा छ– जब–जब सत्ता र शक्तिको विषय आउँछ, यिनीहरू मिल्छन्, फुट्छन्। के गर्दा फाइदा हुन्छ ?   त्यही फ्याट्टै रोज्छन्। आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य र माघ ११ गतेको राष्ट्रिय सभा सदस्यको चुनावको मुखमा ठाकुर र यादवले पार्टी एकता गरेका छन्। यतिखेर ठाकुर राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका छन्।  आफूले उठाएका  अन्य उम्मेदवारलाई निष्क्रिय बनाएर महन्थलाई अगाडि सारिएको छ ।  

एकता कति टिकाउ ?    
ठाकुर र यादवबीचको यो एकता कति टिकाउ हुन्छ ? त्यो हेर्न बाँकी छ। विगतको अवस्था हेर्दा यो एकता पनि भरपर्दो नहुने तथ्यहरू छन्। ०७७ वैशाख १० गते यस्तैगरी ठाकुर र यादवसहितका नेताहरूले पार्टी एकता गरेका थिए। तर, त्यो एकता दुई वर्ष पनि टिक्न सकेन्। २ भदौ, २०७८ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विद्रोह गर्दै महन्थ ठाकुर समूहले लोसपा गठन गरेको थियो। यादवले पार्टी कब्जा गरेर ठाकुरलाई घर न घाटको बनाएको दाबी गर्दै असन्तुष्ट नेताहरूले जसपा नेपालबाट अलगिएर ठाकुरको अध्यक्षतामा नयाँ पार्टी गठन गरेका थिए।  

पहिलो पटक फुटेको त्यो जसपा
मधेसी दलहरूको पार्टीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले फुटाउन लागेको भन्दै २०७७ वैशाख १० गते यादव नेतृत्वको समाजवादी पार्टी नेपाल र ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको थियो। त्यसपछि पार्टीको नाम  जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो। कार्यकर्ता व्यवस्थापनमा पार्टी अध्यक्ष यादव र अर्का वरिष्ठ नेता ठाकुरबीच विवाद चर्किएको थियो। त्यही विवादले जसपा नेपाल पहिलो पटक फुटेको थियो।  ठाकुरले छोडेको तीन वर्ष नबित्दै अशोक राईले पनि त्यही बाटो रोजेका थिए। ठाकुर नेतृत्वमा गठन भएको लोसपाबाट राजेन्द्र महतोले १४ फागुन २०८० विद्रोह गर्दै ०८१ मा राष्ट्रिय मुक्ति पार्टी गठन गरेका थिए।

कसरी चल्छ एकीकरणपछिको पार्टी ?    
एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। पार्टीको नेतृत्वमा उपेन्द्र यादव छन् भने ठाकुरलाई संरक्षक भन्दै सम्मानित पद थमाइएको छ। समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने छ। दुवै पार्टीका केन्द्रीय समिति पूर्णरूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ। जनता समाजवादी पार्टी, नेपाल ( जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच पुस १३ गते एकीकरण गर्ने सहमति भएको थियो। 

दुवै पार्टीबीच भएको सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख एकीकरणको सम्झौतापत्रमा उल्लेख छ। समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आआफ्नो कार्यक्षेत्रमा सक्रिय रहने जनाइएको छ। 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति पनि भएको छ। एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.