माघे संक्रान्तिमा रुरु क्षेत्र धाममा भक्तजनहरूको भिडभाड

माघे संक्रान्तिमा रुरु क्षेत्र धाममा भक्तजनहरूको भिडभाड
सुन्नुहोस्

तानसेन : माघे संक्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ। रुरु क्षेत्रधाममा पुगेका भक्तजनहरूले कालीगण्डकी स्नान तथा हृषिकेश भगवान तथा हनुमान मन्दिरमा पूजाआजा दर्शन गरेका छन्।

माघे संक्रान्तिमा कालीगण्डकीमा स्नान गरी हृषिकेश भगवान दर्शन गरेमा अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ। रुरु क्षेत्रमा आउने भक्तजनहरूका लागि लक्षित गरेर रिडी खोला तथा कालीगण्डकी बगरमा तीनवटै जिल्लाका स्थानीय सरकारले धार्मिक मेला सञ्चालन गरेका छन्। रुरु क्षेत्रधाममा परम्परादेखि नै कालीगण्डकी किनारामा जेठी, माइली र कान्छी संक्रान्तिका रूपमा धार्मिक मेला लाग्दै आएको छ।

रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको छ। कालीगण्डकीमा मकर संक्रान्ति स्नानका लागि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु तथा भारतको उत्तर प्रदेश तथा बिहारबाट समेत भक्तजनहरू कालीगण्डकीमा स्नान तथा हृषिकेश भगवानको दर्शनका लागि रुरु क्षेत्रधाम रिडीमा पुगेका छन्।

रुरु क्षेत्रमा भगवान हृषिकेशको विशेष महत्व रहेको छ। भगवान हृषिकेशलाई साक्षात् विष्णु भगवानका रूपमा हिन्दुधर्मालम्बीहरूले पूजाआजा गर्दै आएका छन्। पाल्पाका तत्कालीन शासक मणिमुकुन्द सेन प्रथमले रुरु क्षेत्रको कालीगण्डकीमा स्नान गर्दा निधारमा ठोकिएको र सोही दिन राति भगवान प्रकट भएर ‘स्नान गर्दा ठोकिएको म विष्णु भगवान हो, मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख्नु’ भनी दर्शन गरेपछि मणिमुकुन्द सेन प्रथमले हृषिकेश मन्दिर निर्माण गरेपछि रुरु क्षेत्रको धार्मिक महिमा बढ्दै गएको हो।

यसैगरी बराह पुराणका अनुसार कालीगण्डकीको तिरमा तपस्या गरेर बसेका महर्षि देवदत्त ऋषिको तपस्या भंग गर्नका लागि स्वर्गबाट देवराज इन्द्रले अति राम्री अप्सरा प्रम्लोचना युवतीलाई पठाई ऋषिको तपस्या भंग गराई पारिवारिक सम्बन्धमा जोडिएको र सोही प्रकरणबाट एक कन्याको जन्म भएको जनविश्वास रहेको छ। बालिकाको जन्म भएपछि ऋषि र प्रम्लोचनाको मृत्यु भएको ती कन्यालाई रुरु मृगले दूध पिलाएर बचाएकाले बालिकाको नाम नै रुरु कन्या राखियो। पुनः उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको भनाइ छ।

यसैगरी पाल्पाको राम्दी, केलादी लगायतका स्थानमा पनि काली नदीमा स्नान गर्नेहरूको भिडभाड लागेको छ। मुस्ताङको दामोदरकुण्ड र मुक्तिनाथ क्षेत्रबाट बग्दै आएको कालीगण्डकीलाई हिन्दू धर्मालम्बीहरूले श्रीकृष्ण गण्डकीको रूपमा लिँदै आएका छन्।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लाबाट ल्याइएका काम्लो, कम्मल, राडी, पाखी बिक्रीका लागि राखिएका छन्। स्थानीय रूपमा बाँसबाट उत्पादित विभिन्न किसिमका सरसामान, डोको, नाम्लो, डाला, पाथी, काइयो किनबेचको स्थल धार्मिक मेला बनेको छ। जुम्ला, कालिकोट लगायत जिल्लाबाट ल्याइएका ओखर, घाँजी जस्ता सरसामान बिक्रीका लागि रुरु क्षेत्रमा मेला लागेको छ। धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला बिक्रीका लागि राखिएका छन्।

रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेकोले विगतदेखि नै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही लगायत छिमेकी देश भारतबाट समेत रुरु क्षेत्र रिडीमा कालीगण्डकी स्नान गरी भगवानको दर्शन गर्न आउने परम्परा नै रहेको हृषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए। रुरु क्षेत्रधामको रिडीखोलामा बाँध बाँधेर कृत्रिम तालमा डुंगा सञ्चालनले धार्मिक पर्यटकहरू बढेका ताल व्यवस्थापन समितिले जनाएको छ।

धार्मिक मेलामा नेपालकै नमुना तीनमुखे पुल विशेष आकर्षण बनेको छ। पाल्पा, गुल्मी र स्याङ्जा तीनवटै जिल्लाबाट पुलमा आवतजावत गर्न सकिन्छ, जसको कारण तीनवटै जिल्लामा रहेका धार्मिक तीर्थस्थलहरूको भक्तजनहरूले सजिलै अवलोकन गर्न पाएका छन्। रिडीको तीनमुखे पुलमा धार्मिक भक्तजनसँगै फोटो खिच्ने, भिडियो बनाउने युवायुवतीहरूको पनि विशेष भिडभाड रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.