पाटेबाघ पक्रन वा मार्न आदेश
गुलरिया : वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत पाटेबाघ पक्रन वा मार्न आदेश दिइएको छ। सल्यान जिल्लाको कालिमाटी गाउँपालिका– ६ र ७ स्थित घुइँयाबारी क्षेत्रमा पाटेबाघले मानवीय एवं पशुधन क्षति गर्ने क्रम बढेपछि डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै बाघ पक्रन वा मार्न आदेश दिएको हो।
सल्यानका डिभिजनल वन अधिकृत टेकबहादुर रावलद्वारा हस्ताक्षरित पत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाँचौं संशोधनसमेत थप) को दफा १० ‘क’ र ‘ख’ को व्यवस्थालाई कायान्वयन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० (पाँचौं संशोधन थप) को ३६ ‘क’ अनुसारको सिफारिस समितिले सिफारिस गरेकोले संरक्षित वन्यजन्तु जंगली पाटेबाघ पक्रन वा मार्नका लागि आदेश जारी गरिएको उल्लेख छ।
सल्यानको घुइँयाबारी क्षेत्रमा पाटेबाघले विगत एक हप्ताको बीचमा ३ जना मानिस र दुईवटा घर पालुवा जनावर गाईलाई आक्रमण गरी मारेर खाएकाले स्थानीय जनता र जन प्रतिनिधिहरूले पाटेबाघले मानिसलाई मात्र खोजीखोजी खान थालेको र गाउँघरमा घरबाहिर निस्कने अवस्थासमेत नभई आतंकित बनाएकोले पाटे बाघलाई कानुनबमोजिम नियन्त्रण गर्ने र मार्ने आदेश पाउँ भनी अनुरोध भई आएकाले उक्त आदेश कार्यान्वयका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा अनुरोध गरेको छ।
सल्यान जिल्लाको वन क्षेत्रमा बाघले मानवीय आक्रमण गरेपछि डिभिजन वन कार्यालयले बाँके राष्ट्रिय निकुञ्जलाई बाघ मार्न वा पक्रन आदेश दिएर पन्छिन खोजेको देखिन्छ। सामुदायिक वनहरू सरसफाइलगायत समुदायमा वन्यजन्तुको आनीबानीबारे सचेतना दिन डिभिजन वन कार्यालयको महŒवपूर्ण भूमिका रहन्छ। मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न डिभिजन वन कार्यालय तदारुकतासाथ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ। श्रावणदेखि पुस मसान्तसम्म बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाटेबाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। वन क्षेत्रमा पनि आक्रमणको क्रम बढेको छ।
बाघ नियन्त्रणका लागि निकुञ्जले अविराम प्रयास गरिरहेको छ। उनले भने, ‘वन कार्यालयले बाघ पक्रन वा मार्न निकुञ्जलाई आदेश दिनुको कुनै औचित्य छैन। आदेश आउँदैमा कानुनी रूपमा मार्न पनि पाइँदैन। बाघ मारिँदैन पनि। बाघ नियन्त्रणमा लिने हो। जसका लागि वन कार्यालय, स्थानीय प्रशासन, समुदायलगायत सरोकारवाला सबैको सहकार्य अपरिहार्य छ। बाघ नियन्त्रण गर्न सम्बन्धित सरोकारवाला निकायको मौखिक आश्वासन त पाएका छौं तर उहाँहरूको भौतिक उपस्थितिबिना बाघ नियन्त्रणमा लिने कार्यलाई अधुरो बनाएको छ।
निकुञ्जलाई बाघ पक्रन वा मार्न आदेश दिएर सरोकारवाला सबै उम्किने प्रयासमा छन्। बाघ भएको क्षेत्र पहिचान गर्न क्यामेरा जडान गर्दै ट्र्याक पनि गरेका छौं। बाघ भेटिनेबित्तिकै डार्ट गरी नियन्त्रणमा लिने तयारी भएको छ। डिभिजन वन कार्यालयको पनि यथेष्ट सहयोग अपरिहार्य छ। हामीले अन्तरजिल्ला सहकार्य गरिरहेका छौं। समन्वय भइरहेको छ। हामीले बैठकहरू पनि गरिसकेका छौं। छिट्टै बाघ नियन्त्रणमा आउँछ,’ उनले थपे, ‘निकुञ्जलाई दबाबले हुँदैन आवश्यक सहयोग दिन सके बाघ नियन्त्रणमा आउँछ।’ नाराबाजी, आन्दोलनभन्दा सहयोगमा जुट्न सबैलाई अपिल गर्दै बाघ नियन्त्रणमा लिन निकुञ्ज, कर्मचारी, नेपाली सेना निरन्तर लागि रहेको उनले प्रस्ट्याए।
बाँके–बर्दियामा शृंखलाबद्ध आक्रमण
पुस १५ गते बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ कोठिया निवासी १७ वर्षीया विनिता परियारको पाटेबाघले आक्रमण गर्दा मृत्यु भयो। आफ्ना हजुरबुबा र आमासँगै स्थानीय जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी उनी सदाका लागि अस्ताइन्। पुस ९ गते बारबर्दिया नगरपालिका–१० स्थित फेनापति सामुदाकि वनमा घाँस काट्न गएकी स्थानीय ५० वर्षीया पार्वती डाँगीको चितुवाको आक्रमणमा परी निधन भयो।
पुस २ गते पार्वती कै वडा निवासी ३१ वर्षीय दिनेश चौधरीको बारबर्दिया नगरपालिका–१० स्थित पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाने क्रममा चितुवाकै आक्रमणमा परी ज्यान गुमाउनु प¥यो। मंसिर १२ गते बारबर्दिया नगरपालिका–११ स्थित काला बेलभार सामुदायिक वनमा घाँस काट्ने क्रममा चितुवाको आक्रमणमा परी स्थानीय ५९ वर्षीया गोपी थरुनीको मृत्यु भयो।
भदौ ३० गते गुलरिया नगरपालिका–१२ स्थित भैसाहीमा चितुवाको आक्रमणमा परी जगतरानी थरुनी र भदौ २९ गते सोही वडा स्थित टडुवामा चितुवाको आक्रमणमा परी कविता मोक्तानको ज्यान गयो।
पछिल्लो समय बर्दियामा चितुवा आक्रमणको क्रम बढ्दो छ। जिल्लामा चितुवाको यकिन तथ्यांक नभए पनि निकुञ्ज बाहिरका सामुदायिक वनहरूमा चितुवाहरूको मानवीय आक्रमणको ग्राफ हेर्ने हो भने यिनीहरूले सामुदायिक वनहरूलाई दिगो बासस्थानका रूपमा स्थापित गर्न खोज्दैछन्।
चितुवाको आक्रमणबाट मृत्युसँगैै मानिस घाइते हुने क्रम पनि बढेको छ। पुस १७ गते बारबर्दिया नगरपालिका–६ मनिकापुर निवासी ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू चितुवाको आक्रमणमा परी घाइते भए। पुस १३ गते बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनी निवासी ५२ वर्षीय हेमराज बुढाथोकी गोठालोबाट फर्किने क्रममा चितुवाको आक्रमणमा परी घाइते भए। उपचारपश्चात् उनीहरूको अवस्था सामान्य छ।
बर्दियामा चालु वर्षको साउनदेखि पुस मसान्तसम्म वन्यजन्तुको आक्रमणमा परी १४ जनाको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) बर्दियाका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए। बर्दियामा चितुवाको आक्रमणबाट ५ जना, पाटेबाघको आक्रमणबाट ५ जना, गोही र हात्तीको आक्रमणबाट २÷२ जनाको मृत्यु भएको छ। उनले भने, ‘वन्यजन्तुको आक्रमणबाट बच्न वनमाथिको परनिर्भरता हटाउन सक्नुपर्छ। समुदायमा सचेतनाको पनि उत्तिकै जरुरी छ।’ बाँके–बर्दियामा रहेका समस्याग्रस्त बाघहरू नियन्त्रणमा लिन एनटीएनसीले प्राविधिकलगायत सहयोगहरू गर्दै आएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !