कोशीमा उम्मेदवारको भिड, २८ क्षेत्रमा ५०८ जना मैदानमा

कोशीमा उम्मेदवारको भिड, २८ क्षेत्रमा ५०८ जना मैदानमा
सुन्नुहोस्

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको भिड लाग्दा कोशी प्रदेशमा चुनावी माहोल तातेको छ। कोशीमा २८ वटा निर्वाचन क्षेत्र छन्। २८ निर्वाचन क्षेत्रमा कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसका कारण आगामी निर्वाचनका लागि प्रतिस्पर्धा असाधारण रूपमा बढेको देखिन्छ। 

उम्मेदवारहरुले विकास निर्माण, समृद्धि, पहिचान र नीतिगत मुद्दा बहसको केन्द्रमा राख्ने अपेक्षा छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार उम्मेदवारको संख्या ५०८ रहेको हो। उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनपछि संख्या केही घटबढ हुन सक्ने कार्यालयले जनाएको छ। ठूला राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र र साना दलका उम्मेदवारको उल्लेखनीय उपस्थितिले चुनावी बहसलाई बहुआयामिक बनाएको छ।

सबैभन्दा धेरै उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा परेको छ। त्यहाँ ३४ जना मैदानमा उत्रिएका छन्। सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा गरी १०९ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ मा २६, २ मा २८, ३ मा २२ र क्षेत्र ४ मा ३४ जना उम्मेदवार छन्। औद्योगिक, सहरी र ग्रामीण क्षेत्रको मिश्रण रहेको सुनसरीमा दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिन्छ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जना उम्मेदवार छन्। प्रदेश राजधानी विराटनगर समेटिएको मोरङ यसपटक पनि राजनीतिक गतिविधिको केन्द्रमा देखिएको छ।

५ निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दिएका छन्। झापा १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जना उम्मेदवार छन्। विशेषगरी झापा ५ मा उम्मेदवारको संख्या बढी देखिएको छ। सो क्षेत्रमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)बाट बालेन्द्र साह (बालेन)को उम्मेदवारीले प्रतिस्पर्धा थप चर्किने संकेत मिलेको छ। 

दुई–दुईवटा निर्वाचन क्षेत्र रहेका उदयपुर र इलाममा पनि चुनावी चासो कम छैन। उदयपुरमा ३१ जना उम्मेदवार छन्। उदयपुर १ मा १८ र २ मा १३ जनाले उम्मेदवारी दिएका हुन्। इलाममा कुल २७ जना मैदानमा छन्। इलाम १ मा १३ र २ मा १४ जना मैदानमा छन्।  

पहाडी तथा हिमाली जिल्लाहरूमा पनि उम्मेदवारको संख्या उल्लेखनीय छ। ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन्। विकट भूगोल रहेका पहाडी तथा हिमाली जिल्लामा देखिएको सक्रियताले राजनीतिक सहभागिता बढ्दो क्रममा रहेको संकेत गर्छ। 

प्रदेश निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अब प्रारम्भिक सूची प्रकाशन, उजुरी छानबिन र अन्तिम नामावली सार्वजनिक भएपछि औपचारिक चुनावी प्रचार तीव्र हुने छ। उम्मेदवारको संख्या र विविधता हेर्दा कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभा निर्वाचन परम्परागत दलगत प्रतिस्पर्धाभन्दा फराकिलो र बहुपक्षीय बन्ने संकेत देखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.