इलाम: युवादेखि वयस्कसम्म चुनावी मैदानमा,सुहाङ र भेषराजका लागि निर्वाचन अग्निपरीक्षा

इलाम: युवादेखि वयस्कसम्म चुनावी मैदानमा,सुहाङ र भेषराजका लागि निर्वाचन अग्निपरीक्षा
तस्बिर : अन्नपूर्ण

इलाम : फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताले इलाम जिल्लालाई देशकै राजनीतिको केन्द्रबिन्दुमा ल्याएको छ । पूर्वी पहाडको सुन्दर जिल्ला इलाममा नेताबीचको प्रतिस्पर्धा केवल चुनावी मात्र नभइ प्रतिष्ठा र विचारधाराको लडाइँ हुने संकेत गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताका लागि पुगेका दलका नेता,कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति र गगनभेदी नाराबाजीले इलामको शान्त वातावरणलाई एकाएक चुनावी रन्कोमा परिणत गरिदिएको थियो।

क्षेत्र नम्बर १ : अनुभव र नवीन बौद्धिकताको द्वन्द्व

इलाम क्षेत्र नम्बर १ को चुनावी माहोल यसपटक निकै रोचक बनेको छ । यहाँ एकातिर स्थानीय तहमा लामो अनुभव संगालेका पुराना अनुहार छन् भने अर्कोतिर युवा र बौद्धिक नेतृत्वको नयाँ लहर देखिएको छ ।  क्षेत्र नम्बर १ को माहोललाई थप रोचक र चुनौतिपूर्ण बनाएका छन् नेपाली कांग्रेसका युवा नेता निष्कल राईले । कांग्रेसको तर्फबाट मनोनयन दर्ता गरेका निष्कल राई एक बौद्धिक,तार्किक र सुशासनका पक्षधर नेता मानिन्छन् । उनले केवल परम्परागत मतको भरमा मात्र नभइ नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने एजेन्डाहरू अगाडि सारेका छन् । सार्वजनिक बहसहरूमा उनको उपस्थितिले कांग्रेस समर्थकहरूमा मात्र नभई तटस्थ मतदाताहरूमा पनि कौतुहलता जगाएको छ । मनोनयन दर्ता पछि राईले भने, ‘संविधान संशोधनदेखि नागरिकको भावना अनुसारको काममा लाग्ने योजनामा छु ।‘

राईको उम्मेदवारी  निर्वाचन क्षेत्र न १ का अधिकांश कांग्रेसीजनले आफ्नै क्षेत्रको उम्मेदवारका माग गरिरहेको अवस्थामा उनीहरूको त्यो मागसहित युवा पुस्ताले भन्दै आएको युवा र सक्षम उम्मेदवारको चाहना समेत पूरा भएको सूर्योदयन नगरपालिका वाड न ११ का मतदाता दिननाथ दहालले बताए । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रणबहादुर राई यस क्षेत्रका अर्का पात्र हुन् । सूर्योदय नगरपालिकाको दुई पटक मेयर भइसकेका राईले स्थानीय सरकार सञ्चालनको अनुभव र आफ्नो राष्ट्रिय, अन्तराष्ट्रिय सम्बन्धलाई उपयोग गरेर काम गर्ने योजनामा रहेको बताए । यसअघि तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेपाली कांग्रेस र तत्कालीन नेकपा एससँगको गठबन्धकाबीच एमालेका बस्नेत विजयी भएका थिए । राई उनै खनालको विश्वास पात्र हुन् । 

यद्यपि नेकपा एमालेले काजीमान कागतेलाई मैदानमा उतारेको छ । कागते एमालेका पुराना र इमानदार नेताका रूपमा परिचित छन् । उनले यसअघि प्रदेश सभा सदस्यका रूपमा समेत काम गरिसकेका छन् । संगठन र वैचारिक स्पष्टताका आधारमा उनले आफ्नो बलियो उपस्थिति देखाउने प्रयास गरिरहेका छन् । उनले जनताको भावना अनुसार काम गर्ने योजना सहित चुनावी मैदानमा आएको बताए । 

क्षेत्र न १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्वाला नेपाल,रास्वपाका विमल गदालसहित १३ जना चुनावी मैदानमा छन् । अनुभवको भण्डार र युवा जोसको यो त्रिकोणात्मक भिडन्तले क्षेत्र नम्बर १ को नतिजा कसको पक्षमा जान्छ भन्ने आकलन गर्न कठिन बनाएको छ ।

क्षेत्र नम्बर २: विरासतको रक्षा र नयाँ नेतृत्वको उदय

इलाम क्षेत्र नम्बर २ सधैं चर्चाको केन्द्रमा रहँदै आएको छ । पूर्वसभामुख स्वर्गीय सुवास चन्द्र नेम्वाङको विरासत जोडिएको यस क्षेत्रमा यसपटकको प्रतिस्पर्धा झनै कसिलो देखिएको छ । नेकपा एमालेले सुवास नेम्वाङका सुपुत्र सुहाङ नेम्वाङलाई पुनः चुनावी मैदानमा पठाएको छ ।

पेशाले अधिवक्ता रहेका सुहाङले २०८१ को उपनिर्वाचनमा विजयी भएर आफ्नो राजनीतिक क्षमताको परीक्षण गरिसकेका छन् । उनी आफ्ना पिताका अधुरा सपना पूरा गर्ने र युवाहरूको आवाजलाई संसदमा बुलन्द गर्ने मुख्य एजेन्डाका साथ मतदाताको दैलोमा पुगेका छन् ।

अर्कोतर्फ,नेपाली कांग्रेसले यसपटक आफ्नो रणनीति बदल्दै भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यलाई कांग्रेसभित्रको 'बौद्धिक र निष्ठावान’ नेताका रूपमा चिनिन्छ । भूगोल बुझेका नेताको रुपमा बुझिने आचार्य पनि अहिले चुनावी मैदानमा व्यस्त छन् । उनले पाएको टिकटले यो निर्वाचनलाई 'युवा भर्सेस नयाँ नेतृत्व' को रूपमा व्याख्या गरिएको छ । आचार्यले लामो समयदेखि संगठन सुदृढीकरणमा बिताएको समय र उनको स्वच्छ छविका कारण यसपटक कांग्रेसले एमालेको गढ भत्काउने दाउ हेरेको छ । क्षेत्र नम्बर २ मा जाति र पहिचानका मुद्दाहरूले पनि भित्री रूपमा प्रभाव पार्ने देखिन्छ,जसले गर्दा सुहाङ र भेषराज दुवैका लागि यो चुनाव अग्निपरीक्षा जस्तै बनेको छ ।

क्षेत्र न २ मा नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङ्ग,राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश कुमार दुलाल,रास्वपाका गोकुल बहादुर राईसहित १४ जना चुनावी मैदानमा छन् । 

विपद्को घाउ र स्थानीय एजेन्डाहरूको प्रभाव

यस निर्वाचनमा राजनीतिक विचारधाराभन्दा पनि स्थानीय समस्याहरूले बढी प्रभाव पार्ने देखिएको छ । सन् २०२५ को अक्टोबर (२०८२ असोज) मा आएको विनाशकारी बाढी र पहिरोले इलाममा अपूरणीय क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार सो विपद्मा परी ३९ जनाले ज्यान गुमाएका थिए भने १२ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । विशेष गरी सडक,पुल र खानेपानीका आयोजनाहरू ध्वस्त भएका छन् । मेची राजमार्गको राजदुवाली खण्डमा पटक–पटक जाने पहिरोले गर्दा यातायात अवरुद्ध हुने समस्याले इलामवासी आजित छन् ।

मतदाताहरूले यसपटक उम्मेदवारहरूसँग बाढीपछिको पुनर्निर्माण र भविष्यमा आउने यस्ता विपद्को दीर्घकालीन समाधानका बारेमा प्रश्न गरिरहेका छन् । त्यस्तै,इलामको मुख्य आर्थिक मेरुदण्डका रूपमा रहेको चिया क्षेत्रका समस्याहरू अर्को ठूलो चुनावी मुद्दा बनेको छ । चियाको उचित मूल्य नपाउनु,अन्तर्राष्ट्रिय बजारमा पहुँचको अभाव र रासायनिक मलको समयमा उपलब्धता नहुनुले किसानहरू मर्कामा छन् । कृषि र पर्यटनको विकासका लागि ठोस योजना ल्याउने उम्मेदवारलाई नै यसपटक मतदाताले प्राथमिकता दिने संकेत देखिएको छ । खानेपानीको संकट र शिक्षा क्षेत्रको सुधारका विषयहरूले पनि चुनावी बहसलाई तताएका छन् ।

इलामको निर्णायक मोड

इलाममा हुन लागेको यो निर्वाचन केवल एउटा सांसद छनोट गर्ने प्रक्रिया मात्र होइन,यो आगामी ५ वर्षका लागि जिल्लाको विकास र राजनीतिक संस्कार तय गर्ने अवसर पनि हो । एकातिर पुराना दलहरूको संगठनको शक्ति छ भने अर्कोतिर युवा उम्मेदवारहरूको जोस र नयाँ दृष्टिकोण छ । मतदाता सङ्ख्या र थपिएका मतदान केन्द्रहरूले निर्वाचनको व्यापकतालाई प्रस्ट पारेका छन् ।

आगामी चैत्र २१ गतेसम्म उम्मेदवारहरूले जनताका यी समस्या र एजेन्डाहरूलाई कसरी सम्बोधन गर्छन्,त्यसमै उनीहरूको जित–हारको फैसला निर्भर रहनेछ । विरासत, बौद्धिकता र स्थानीय आवश्यकताका बीचमा हुन लागेको यो महासंग्रामले इलामलाई राष्ट्रिय राजनीतिमा कुन उचाइमा पुर्‍याउँछ,त्यो भने हेर्न बाँकी नै छ ।

चुनावी तथ्याङ्क र प्रशासनिक तयारीको स्वरूप

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता संख्या कायम भएको छ । निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र छन् । 

गत निर्वाचनमा भन्दा आउँदो निर्वाचनका लागि ५ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार यसपटक सूर्योदय नगरपालिका–१२, करफोक मावि, इलाम नगरपालिका–८ को विद्या सिर्जनात्मक मावि, चुलाचुली २ को जनता मावि, देउमाईको डम्बरदेवी मावि र माइजोगमाई–५ को सिरिसे माविमा १–१ गरी ५ मतदान केन्द्र थप भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.