प्रतिनिधि सभा निर्वाचन

ओली प्रतिष्ठा जोगिनेमा ढुक्क,  बालेन इतिहास रच्ने दाउमा

ओली प्रतिष्ठा जोगिनेमा ढुक्क,  बालेन इतिहास रच्ने दाउमा

झापा :  झापा– ५ चुनावको इपिसेन्टर। अर्थात्, यही क्षेत्रमा जाने चुनावी भूकम्पले राष्ट्रिय राजनीतिको फैसला गर्नेछ। किनभने, यहाँ दुई यस्ता प्रतिस्पर्धी छन्– जसलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको छ। यही क्षेत्रबाट ५ पटक चुनाव जितेका एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ अनुहारका रूपमा देखा परेका बालेन शाह उम्मेदवार बनेका कारण झापा–५ सबैको चासोको विषय बनेको छ।

झापा–५ दल विशेष वा नेताको जुँगाको लडाइँ मात्र होइन, राष्ट्रिय मुद्दाको छिनोफानो गर्ने स्थलका रूपमा पनि लिइएको छ। अर्थात्, एमाले अध्यक्ष ओलीले चुनाव जिते ‘भदौ २३ र २४ को जेन–जी आन्दोलन केवल हिंसात्मक गतिविधि मात्रै स्थापित हुनेछ भने बालेनले जिते जेन–जी आन्दोलनले वैधानिकता पाउनेछ। त्यसैकारण पनि ‘ओली कि वालेन’ भन्ने बहस राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमै फैलिएको छ। सबैको ध्यान झापा–५ तिर केन्द्रित छ।

बालेनको इन्ट्रीले धमाका 

मुलुकका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये यतिबेला सबैको ध्यान झापा–५ ले खिचेको छ। उम्मेदवारी दर्ता गर्नुअघिसम्म पनि यहाँ दुई जना हेबीवेट प्रतिस्पर्धामा उत्रिनेमा मतदातामा अन्योल थियो। ओली त साविकको निर्वाचन क्षेत्र रोज्ने नै भए, तर काठमाडौं छोडेर बालेन झापा–५ मा चुनाव भिड्न आउँदैनन् होला भन्नेमा एमालेका नेता तथा कार्यकर्ता ढुक्क थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेनलाई झापा–५ मा लागि टिकट दिएपछि उनले दलबलसहित धमाकेदार ‘इन्ट्री’ गरे। अनि, चुनावी माहौल एकाएक तात्यो।

बालेनले तामझाम साथ समर्थकहरूको भव्य उपस्थितिमा दमकमा उम्मेदवारी दर्ता गरे। त्यसको एक घण्टापछि एमाले अध्यक्ष ओलीले पनि उम्मेदवारी दिए। बालेन र ओलीसहित झापा–५ मा २४ जनाको उम्मेदवारी परेको छ। 

ओली प्रतिष्ठा जोगाउनेतिर, बालेन भत्काउनेतिर 
एमाले अध्यक्ष ओली झापा–५ मा आफ्नो प्रतिष्ठा र विरासत जोगाउने रणनीति बनाएर अघि बढिसकेका छन्। बालेन भने ओलीको विरासत भत्काउन कम्मर कसेर चुनावी मैदानमा होमिएका छन्। उम्मेदवारी दर्तापछि ओली मंगलबार दमकमै बसे। तर, बालेन साँझ परेपछि बिर्तामोडतर्फ लागे। बालेनले त्यहाँ बिर्तामोड–१ स्थित कलाकार निश्चल बस्नेतको घरमा रात बिताएका थिए। बुधबार बिहान उनी रास्वपाका नेता तथा कार्यकर्ता भेट्न थाले। 

बुधबार बिहान ७ बजे बस्नेतकै घरमा पुगेर निवर्तमान उपसभामुख इन्दिरा राना मगरले बालेनसँग भेटघाट गरिन्। छोटो भेटघाटमा उनीहरूबीच जिल्लाको समग्र निर्वाचनको समसामयिक विषयमा छलफल भएको थियो। त्यसपछि बालेन बिहान ७ बजेर २० मिनेटमा बिर्तामोडबाट आफ्नो निर्वाचन क्षेत्र दमकतर्फ लागे। बुधबार दिनभर बालेन र ओली पार्टी कार्यकर्ता र मतदातासँग भेटघाटमै व्यस्त थिए। अघिल्लो निर्वाचनमा रास्वपाले ल्याएको भन्दा झन्डै पाँच गुणा बढी मत ल्याएर जितेका ओलीको किल्लाबाट आफ्नो पक्षमा मत तान्न रास्वपा वरिष्ठ नेता बालेन व्यस्त देखिए। 

दमक नगरपालिका–५ स्थित लक्ष्मीनारायण मार्गस्थित बिन्दु सिटौला (लक्की) मा सचिवालय बनाएका बालेन दिनभर त्यही व्यस्त भए। त्यहाँ उनले आफ्ना पार्टीका उम्मेदवार, जेन–जी युवा समूह, समर्थक, अगुवा कार्यकर्तासँग भेटघाट गरे। भेटघाटका लागि नेपाली कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएका प्रकाश प्रसाईं, जेन–जी अगुवा शुभम सिग्देल, इन्जिनियर सरोज भट्टराई, कांग्रेस नेतृ बुलेट आमा, रास्वपाका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार गणेश कार्कीलगायतसँंग सामूहिक भेटघाट गरेका थिए। उनले झापाका उम्मेदवारहरू क्षेत्र नम्बर १ का निशा डाँगी, झापा ३ का प्रकाश पाठक र झापा ४ का शम्भुप्रसाद ढकालसँग चुनावी रणनीतिबारे छलफल गरेका थिए। 

बिहान ९ देखि दिउँसो ४ बजेसम्म बालेन दमकमै मतदाता र कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिए। ‘उहाँसँगको छलफलमा एउटै कमाण्डबाट परिचालन हुने गरी चुनावी कार्यक्रममा एकरूपता दिनुपर्ने विषयमा कुराकानी भयो,’ सभापति पाठकले भने। उम्मेदवारहरूलाई भेटिसकेपछि बालेनले पार्टीको जिल्ला समिति र जिल्लामा रहेका केन्द्रीय नेताहरूसँग छलफल गरेका थिए। छलफलमा जिल्ला समितिसँगै केन्द्रीय तहका ओम भण्डारी, शरद जोशी, विरोध सुवेदी, फणीन्द्र न्यौपानेसहित २५ जना सहभागी रहेका थिए। 
बालेनले सुनसरीका उम्मेदवारहरू अशोक चौधरी, सरिन तामाङ, लालविक्रम थापा र दीपककुमार साहसँग पनि चुनावका बारेमा दमकमै बसेर छलफल गरेका थिए। सुरक्षा घेरामा रहेका बालेनले आफ्नो सचिवालयमा सेक्रेटरी गार्ड पनि राखेका छन्। 

उनलाई भेट्न जानेले अनिवार्य रूपमा गेटमा राखिएको पुस्तिकामा नाम, ठेगाना र फोन नम्बरसहित हस्ताक्षर गर्नुपर्छ। बालेनले सचिवालयमै युवादेखि वृद्धवृद्धासँग पनि भेटघाट गरेका थिए। उनलाई भेट्न उल्लेखीय संख्यामा विद्यार्थीहरू पनि पुगेका थिए। दिउँसो ४ बजेपछि बालेन त्यहाँबाट निस्किएर इलामतर्फ लागे। साँझ ६ बजे इलामतर्फ लागेका बालेनले त्यहाँको सम्पर्क कार्यालयमा भेटघाट गर्ने कार्यक्रम छ। इलामबाट बालेन पाँचथर जाने कार्यक्रम रहेको जनाइएको छ।

घर ध्वस्त, ओली होटलमा 
भदौ २४ को जेन–जी आन्दोलनको क्रममा दमकस्थित एमाले अध्यक्ष ओलीको घरमा आगजनी गरी क्षति पुर्‍याएको थियो। घर क्षतिग्रस्त भएकोले अध्यक्ष ओली कसैको घरमा बास नबसेर होटलमा बसेका छन्। दमक–५ स्थित होटल कामक्षामा उनी बसेका छन्। ७ पटकमा ६ पटक यस क्षेत्रबाट निर्वाचित भई ४ पटक प्रधानमन्त्री भइसकेका ओली यसपटक पनि चुनाव जित्नेमा ढुक्क छन्। तर, बालेनको उम्मेदवारीले थप मिहिनेत गरेको देखिन्छ ।

उनी होटेलमै बसेर निर्वाचन क्षेत्रका मतदाता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन्। उम्मेदवारी दर्तापछि सोही दिन रातिदेखि बुधबार दिनभर उनी भेटघाटमै व्यस्त रहेको एमालेका एक स्थानीय नेताले बताए। इलाम–२ का एमाले उम्मेदवार सुहाङ नेम्बाङ पनि दमक पुगेका थिए। उनले पनि अध्यक्ष ओलीको अभियानमा साथ दिइरहेका छन्। मंगलबार राति अध्यक्ष ओलीले दमकका १० वटै वडा कमिटीका पदाधिकारी र सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। बुधबार बिहानदेखि पुनः उनी भेटघाट र छलफलमै व्यस्त थिए। उनले दिउँसो साढे ३ बजे राष्ट्रिय युवा संघ नेपाल क्षेत्रीय कमिटिको पूर्णबैठक तथा युवा भेलालाई सम्बोधन गरेका थिए। 

कमल गाउँपालिकाका कार्यकर्ताहरूसँगको भेटघाटमा ओलीले कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको भन्दै ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने दाबी गरेका छन्। पुनः साँझ होटल फर्किएका ओलीले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्। ओलीले बिहीबार गौरादहस्थित नमुना पाहुना घरमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी ९ गते काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ। 

राष्ट्रिय युवा संघ विभाजित 
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ दमकको लगभग सिंगो टिम नै बालेन शाहको पक्षमा उभिएपछि झापा ५ का उम्मेदवार एमाले अध्यक्ष ओलीले नयाँ कमिटी गठन गरेका छन्। बधुबार बिहान राष्ट्रिय युवा संघ दमकका अध्यक्ष छवि खतिवडा, उपाध्यक्ष विजय तामाङ, सचिव कमल गैरेसहित लगभग सिंगो टिम नै संगठन परित्याग गरि रास्वपाका उम्मेदवार बालेनको पक्षमा उभिएको थियो। 

राष्ट्रिय युवा संघ दमकका पदाधिकारीले राजीनामा दिएको केही समयमै सुदीप फागोको अध्यक्षतामा युवा संघले नयाँ कमिटी घोषणा गरेको छ। त्यस्तै बुधबार नै कांग्रेस कमलका सचिव महेन्द्र बुढाथोकी पनि पार्टी परित्याग गरी बालेनलाई सघाउने गरी रास्वपामा प्रवेश गरेका छन्।\

मंगलबार नेपाली कांग्रेसको दमक नगर सभापति प्रकाश प्रसाईले पनि पद त्यागेर रास्वपा प्रवेश गरेका छन्। प्रसाईंले कांग्रेस र एमालेका अन्य थुप्रै जना नेता/कार्यकर्ता बालेनलाई सहयोग गर्न पार्टीमै प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिए। झापा–५ मा सांगठनिक हिसाबले रास्वपा कमजोर भएपछि एमाले, कांग्रेस र राप्रपाको मत तान्न बालेन तल्लीन देखिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.