पार्टी जोगाउन ‘बीचको बाटो’ रोजें : शेखर कोइराला

पार्टी जोगाउन ‘बीचको बाटो’ रोजें : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको स्पष्ट पारेका छन्। 

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले पार्टीलाई एकताबद्ध राख्न शान्त र सौम्य पक्ष रोज्नु आफ्नो बाध्यता भएको बताए। नेता कोइरालाले प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यही निर्वाचनले मुलुकलाई स्पष्ट राजनीतिक निकास दिने दाबी गरे। उनले पार्टीभित्र विगतमा देखिएका मतभेद र तनावलाई अब पछाडि छाडेर सबैले निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

विशेष महाधिवेशनमा आफू सहभागी नभएको विषयमा उठेका प्रश्नबारे प्रस्ट्याउँदै कोइरालाले भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी फुट्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हुँ। म त्यो हलमा पुगेको भए कांग्रेस दुई टुक्रा हुन्थ्यो। यो कुरा तपाईंहरूले बुझ्नुपर्छ।’ विशेष महाधिवेशन पार्टीको आन्तरिक प्रक्रिया भएको उल्लेख गर्दै उनले त्यस विषयलाई अब टुंगिएको अध्यायका रूपमा लिन आग्रह गरे। ‘आज डिला जी –डिला संग्रौला) र म एकै ठाउँमा छौं। निर्वाचनको दौडमा सँगै हिँडिरहेका छौं। त्यसैले महाधिवेशनको कुरा यहीँ सकियो,’ उनले भने। 

जेनजी आन्दोलन अघिसम्म आफू सांसद रहँदा नीति निर्माण, जनजीवन सहज बनाउने काम र सुशासनका पक्षमा निरन्तर आवाज उठाएको दाबी पनि कोइरालाले गरे। ‘सांसद हुँदा म संसदभित्र र बाहिर भ्रष्टाचारविरुद्ध बोलिरहेँ। सुशासन ल्याउन लडिरहेँ,’ उनले स्मरण गरे। कोइरालाले मोरङ ६ का जनताको शिर राष्ट्रिय राजनीतिमा कहिल्यै झुक्न नदिएको दाबी गर्दै पार्टी फुटाएर हिँड्नु भन्दा पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको सही विकल्प भएको बताए। 

पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर अघि बढ्ने दायित्व आफूहरू सबैको भएको उल्लेख गर्दै त्यसै कारण आफूले मध्यमार्ग रोजेको उनको भनाइ थियो। ‘यस क्रममा मलाई धेरै आक्षेप पनि आए। यदि म बैठकमा सहभागी भएको भए को सभापति बन्थ्यो, को बन्दैनथ्यो, त्यो छुट्टै कुरा हो,’ उनले प्रश्न गर्दै भने, ‘तर, पार्टी दुई टुक्रा हुन्थ्यो। त्यसबेला तपाईंहरूले के भन्नुहुन्थ्यो ?’ छलफलका क्रममा कोइरालाले विगतमा पार्टीभित्र भएका कमजोरी स्वीकार गर्दै अब कांग्रेसलाई जिततर्फ लैजान सबै कार्यकर्ता र नेताहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। निर्वाचन नै मुलुकको निकास भएको उनको निष्कर्ष थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.