आफ्नै साथीको हत्या गरेको आरोपमा तीन बालक पक्राउ
जाजरकोट : आफ्नै साथीलाई हत्या गरेको आरोपमा जाजरकोटमा तीनजना बालक पक्राउ परेका छन्। जिल्लाको जुनीचाँदे गाउँपालिका-४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको हो। प्रहरीका अनुसार हत्यामा संलग्न भएको आरोपमा उनका साथीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
हत्यामा संलग्न भएको आरोप लागेका १४, १५ र १६ वर्षका बालक रहेकोले उनीहरूको नाम नखुलाइएको जिल्ला प्रहरी प्रमुख वसन्तकुमार शर्माले बताए। केही दिनदेखि हराइरहेका विष्टको खोजी गर्दा गाउँकै जंगलमा लास फेला परेको थियो।
प्रहरीले अनुसन्धान गदै जाँदा उनकै साथीहरूको संलग्नता देखिन आएकाले पक्राउ गरी जिल्ला अदालत जाजरकोटबाट ५ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए। उनका अनुसार उनीहरू श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन शुक्रबार गाउँमै रहेको पाथीभारा मन्दिरमा दर्शन गर्न गएका बेला झगडा गरेको र सोही ठाउँ हत्या गरिएको भन्दै विष्टका आफन्तले शनिबार नै जाहेरी दिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया दिनुहोस !