मोरङ-१ मा निर्णायक भिडन्त : राजनीतिका लागि घरजग्गा बेच्ने घनश्याम, मेयरबाट सांसद बन्ने दाउमा खड्ग
मोरङको निर्वाचन क्षेत्र नम्बर १ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको घेराभन्दा बाहिर उभिएको छ । उक्त क्षेत्रको चुनाव जितहारको अंकगणितमा मात्रै सीमित छैन । बरु पुराना स्थापित राजनीतिक अनुहार,स्थानीय तहबाट उदाएका कार्यकारी अनुभव बोकेका नेता र ‘वैकल्पिक राजनीति’को दाबी गर्ने नयाँ शक्तिबीचको निर्णायक भिडन्त बनेको छ ।
विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर १ यसपटक सामान्य चुनावी प्रतिस्पर्धाको घेराभन्दा बाहिर उभिएको छ । उक्त क्षेत्रको चुनाव जितहारको अंकगणितमा मात्रै सीमित छैन । बरु पुराना स्थापित राजनीतिक अनुहार,स्थानीय तहबाट उदाएका कार्यकारी अनुभव बोकेका नेता र ‘वैकल्पिक राजनीति’को दाबी गर्ने नयाँ शक्तिबीचको निर्णायक भिडन्त बनेको छ । यही कारण मोरङ–१ को चुनावलाई यसपटक चासोका साथ हेरिएको छ।
नेकपा (एमाले) का कोशी प्रदेश अध्यक्षसमेत रहेका उम्मेदवार घनश्याम खतिवडाका लागि यो निर्वाचन राजनीतिक करियरको सम्भवतः अन्तिम मोड हो । ४ पटक चुनावी मैदानमा उत्रिएका खतिवडा यसपटक चुनावलाई संसद् प्रवेशको साधन नभएर आफ्नै राजनीतिक जीवनको ‘अन्तिम परीक्षा’का रूपमा प्रस्तुत गरिरहेका छन् । उनी खुलेरै भन्छन्,‘अधुरा काम पूरा गर्न यो अन्तिम प्रयास हो । अर्को चुनाव म लड्दिनँ ।’
खतिवडाका अनुसार २०७० को निर्वाचनमा ७ कट्ठा र २०७४ को निर्वाचनमा १० कट्ठा जग्गा बेचेर चुनावी खर्च जुटाइएको थियो । २०७४ को चुनावअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विराटनगरको होटल ह्यारिसनमा भएको भेटमा खतिवडाले जग्गा बेचेर चुनाव लडेको कुरा सुनाएका थिए ।
राजनीतिमा लागेर कति सम्पत्ति जोड्नु भयो भन्ने प्रश्नमा खतिवडाको उत्तर सधैँ झस्काउने खालको हुन्छ । ‘मैले कमाइनँ, उल्टै बुवाले दिएको पुर्ख्यौली सम्पत्ति पनि गुमाएँ,’उनी भन्छन् । उनका अनुसार २०७० को निर्वाचनमा ७ कट्ठा र २०७४ को निर्वाचनमा १० कट्ठा जग्गा बेचेर चुनावी खर्च जुटाइएको थियो । २०७४ को चुनावअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विराटनगरको होटल ह्यारिसनमा भएको भेटमा खतिवडाले जग्गा बेचेर चुनाव लडेको कुरा सुनाएका थिए ।
ओलीले पत्नी दिलकुमारी खतिवडातिर फर्केर ‘कति जग्गा बेचियो ?’ भनेर सोध्दा ‘१७ कट्ठा’ भन्ने जवाफले ओलीसमेत अचम्मित भएको किस्सा खतिवडाले आफैं सुनाउने गरेका छन् । त्यही भेटपछि बाँकी सम्पत्ति पत्नीको नाममा नामसारी गरिएको र चुनाव जितेर संसद् पुगेको उनी सम्झन्छन् ।
खतिवडाको राजनीतिक यात्रा शिक्षक पेसाबाट सुरू भएको हो । २०३८ देखि २०४२ सालसम्म मोरङकै बुद्ध माध्यमिक विद्यालयमा पढाउँदा मासिक ५ सय रुपैयाँ तलब पाउने उनी जननेता मदन भण्डारी र गुरु बरालको आग्रहपछि पूर्णकालीन राजनीतिमा होमिएका थिए । जागिर छाड्न हिच्किचाएका खतिवडालाई मदन भण्डारीले ‘जागिर ठूलो कि पार्टीको निर्देशन ?’ भनेर सोधेपछि निर्णय बदलिएको थियो । अन्ततः पूर्वएमाले नेता अशोक राईले राजीनामा लेखिदिएपछि खतिवडा राजनीतिमा पूर्णकालीन बने ।
नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाका सफल मेयरको छवि बनाएका खड्ग फागो प्रतिनिधिसभा प्रवेशको दाबीका साथ मैदानमा छन् । स्थानीय तहमा ५ वर्ष कार्यकारी नेतृत्व सम्हालेका फागो विकासप्रेमी, हक्की र संकट व्यवस्थापनमा खारिएको नेताका रूपमा चिनिन्छन् ।
तर, यसपटक खतिवडाको बाटो सजिलो छैन । नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाका सफल मेयरको छवि बनाएका खड्ग फागो प्रतिनिधिसभा प्रवेशको दाबीका साथ मैदानमा छन् । स्थानीय तहमा ५ वर्ष कार्यकारी नेतृत्व सम्हालेका फागो विकासप्रेमी, हक्की र संकट व्यवस्थापनमा खारिएको नेताका रूपमा चिनिन्छन् । कोरोना महामारीको कठिन समयमा नगरका टोलटोलमा पुगेर राहत वितरणदेखि व्यवस्थापनसम्म आफैं सक्रिय भएको स्थानीयहरू सम्झन्छन् । करिब ३ हजार ३ सय घरधुरीलाई राहत वितरण गरिएको तथ्य फागोले गर्वका साथ प्रस्तुत गर्छन् ।
उर्लाबारी नगरपालिकामा रहँदा ५४ वटा ऐन,नियमावली र कार्यविधि निर्माण,प्रशासनिक संरचना सुदृढीकरण,सार्वजनिक प्रयोजनका लागि जग्गा व्यवस्थापन,विश्व बैंकको सहयोगका परियोजना सञ्चालन र इलाका प्रशासन कार्यालय स्थापनालाई फागोले आफ्नो मुख्य उपलब्धि मान्छन् । उनी भन्छन्, ‘स्थानीय तहमा देखिएका कानुनी र व्यवहारिक समस्या संघीय तहबाट समाधान गर्न अब संसद् जान जरुरी छ ।’ कांग्रेस कोशी प्रदेशका सहमहामन्त्रीसमेत रहेका फागो पार्टी एकताबद्ध रहेको र व्यक्तिगत भन्दा सामूहिक प्रयासका रूपमा चुनाव लडिरहेको दाबी गर्छन् ।
वामपन्थी मत विभाजन भए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कुलप्रसाद साम्बाको उपस्थितिले परिणामलाई असर गर्ने आँकलन गरिएको छ । त्यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी शान्ति पाख्रिन लामाको उम्मेदवारीले पनि चर्चा कमाइरहेको छ ।
मोरङ–१ मा नयाँ राजनीतिक शक्तिको उपस्थिति पनि कमजोर छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अधिवक्ता यज्ञमणि न्यौपाने ‘घण्टी’ चुनाव चिन्हको लोकप्रियताका कारण स्थापित दललाई चुनौती बनेका छन् । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चामा रहेका न्यौपाने मोरङ–१ छिर्दै वैकल्पिक राजनीतिको सन्देश लिएर घरदैलोमा पुगेका छन् । भ्रष्टाचारविरोधी,पारदर्शिता र पुरानो राजनीतिक संस्कृतिको आलोचनालाई मुख्य एजेन्डा बनाएका उनी विशेष गरी युवा र निराश मतदातालाई आकर्षित गर्न खोजिरहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कुलप्रसाद साम्बा पनि कमजोर प्रतिस्पर्धी होइनन् । कोशी प्रदेशका पूर्वप्रदेश सांसद तथा जनयुद्धका कमान्डर साम्बाको आफ्नै बलियो आधार इलाका छ । वामपन्थी मत विभाजन भए पनि साम्बाको उपस्थितिले परिणामलाई असर गर्ने आँकलन गरिएको छ । त्यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी शान्ति पाख्रिन लामाको उम्मेदवारीले पनि चर्चा कमाइरहेको छ । लेटाङमा भएको पहिलो आमसभामा हजारौंको उपस्थिति देखिएपछि यो पार्टीको प्रभावलाई हल्का रूपमा लिन नसकिने विश्लेषण भइरहेको छ ।
अनुभवी र नथाकेको राजनीतिक शैली,कार्यकारी अनुभव बोकेको स्थानीय नेतृत्व र पुराना दलबाट आजित मतदातालाई आकर्षित गर्न खोज्ने नयाँ शक्ति सबैको टकरावले मोरङ–१ को सम्भावित नतिजालाई एक सिटका लागि मात्रै नभएर एउटा राजनीतिक सन्देशका रूपमा हेर्न थालिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्णबहादुर वाईबा तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीले पनि उल्लेख्य मत काट्ने सम्भावना रहेको स्थानीय विश्लेषकहरू बताउँछन् । यिनका अतिरिक्त विभिन्न साना दल र स्वतन्त्रसहित मोरङ–१ मा कुल १७ जना उम्मेदवार मैदानमा छन् । जसले चुनावी समीकरणलाई झन् जटिल बनाएको छ ।
इतिहास हेर्दा मोरङ–१ सधैँ प्रतिस्पर्धात्मक रहँदै आएको छ । २०४९ सालमा खतिवडा तत्कालीन लेटाङ गाविसको अध्यक्ष निर्वाचित हुँदा कांग्रेसका डिगबहादुर लिम्बू पराजित भएका थिए । २०७० मा लिम्बू विजयी भए भने २०७४ मा वामगठबन्धनको लहरमा खतिवडाले लिम्बूलाई हराए । २०७९ मा भने लिम्बूले २७,२९७ मत ल्याएर खतिवडालाई ४३० मतको झिनो अन्तरले पराजित गरेका थिए ।
यही विगत,वर्तमान प्रतिस्पर्धा र भविष्यको राजनीतिक दिशाबीच मोरङ–१ को चुनाव निर्णायक मोडमा पुगेको छ । अनुभवी र नथाकेको राजनीतिक शैली,कार्यकारी अनुभव बोकेको स्थानीय नेतृत्व र पुराना दलबाट आजित मतदातालाई आकर्षित गर्न खोज्ने नयाँ शक्ति सबैको टकरावले मोरङ–१ को सम्भावित नतिजालाई एक सिटका लागि मात्रै नभएर एउटा राजनीतिक सन्देशका रूपमा हेर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस !