भैरे ग्याङ

कथा

भैरे ग्याङ

ग्याङका कुनै भैरेलाई अंग्रेजी नआउने, पढे पो ! एकदिन फुच्चेले ‘मिनिङ’ पढेपछि काम लाग्ने सबैलाई बतायो। त्यसदिनदेखि टाक्कटुक्क सबैले मिनिङ कण्ठ गर्न थाले। जानेर वा नजानेर पढ्ने बानीको सुरुवात भैरे ग्याङमा यही हिज्जे कण्ठबाट थालनी भयो।

भैरे ग्याङमा फुच्चे, औवा, भुन्टे र म थियौं। स्कुलमा अंग्रेजीमात्र नपढ्ने, नआउने। अरूमा खप्पिस। म दोस्रो थिए। गोले केटो फस्ट। फुच्चे, औवा र भुन्टे भने अक्षरका गरिब सन्तान थिए। म दिनहुँ यिनीहरूको संगतमा पिटाइ भेट्थे। प्रायः हातमा सिर्कनाका डाम हुन्थे। कहिलेकाहीँ 
कन्सिरीका भुत्ला उखालिन्थे।

क्रिकेट मैदानजस्तो गोलो चौरीमा अंग्रेजी अक्षरको एल आकारमा स्कुल थियो। कक्षा ५ सम्म पढाइ हुन्थ्यो। स्कुल अगाडि ठूलो भैंसी आहाल। आहालको पूर्व र उत्तरपट्टि ठूला वरपीपलका रुख। दक्षिणमा फुटबल र भलिबल खेल्ने चौरी।
मजाको फुटबल खेल्न केही भैरे पेलेभन्दा कम थिएनन्। बाउका नयाँपुराना सबै मोजा चोरेर ल्याउथे, कागज–प्लास्टिक भर्थे। अनि, सुरु हुन्थ्यो— फुटबल। सबैभन्दा बढी फुच्चेले हात्तीछाप चप्पलका धेरै लोती चुँडाल्यो। तर, खुट्टाबाट फुटबल खेल्ने शैली कहिल्यै चुँडाल्न सकेन। 

एकदिन फुटबल खेल्दै गर्दा अर्को भैरे उर्फ भुन्टेले हात भाँच्यो। तर, मजाको फुटबल खेलेर कसैको मन भाँच्न सकेन। त्यसदिन भुन्टेले रुँदै फुटबलबाट सन्न्यास लिन धुलिखेलको हस्पिटल पुग्नुपर्‍यो। 
केही दिनपछि हेडसरले थाहा पाउनु भएछ— ‘मजाको फुटबल खेल्न प्रतिबन्ध लगाइदिनुभयो।’ त्यसदिनदेखि भैरेहरूले बाउको मजा चोर्न छाडे। यता मजाको फुटबल इतिहास टुंगियो। त्यसैदिनदेखि नयाँ इतिहास सुरु भो, बाउका मोजा नहराउने।

ooo

म रुख चढ्न डराउँथे। आहालमा डाइभ हान्न खप्पिस। केटाहरू बादरभन्दा कम थेनन्। वरपीपलका जति हाँगा भाचिन्थे। ती सब भैरे ग्याङ झुन्डेर भाचिन्थे।
औवा हाँगामा पिङ झैं मचिन्थ्यो। म भुइँबाट कतापट्टि खस्ला ? आकलन मार्थे। केटो किन खस्थ्यो ? झन् ! अर्को हाँगामा 
बाँदर झैं जम्प माथ्र्यो।
पाकेका वरपीपलका गेडा औधी मीठा हुन्थे। स्कुलका खाजा हुन्थे सिजनमा। झन्डै, भैरे ग्याङका केटाहरूले स्कुले जीवनभर आधा ट्रकभन्दा बढी खाए होलान्। रुखबाट टिपेर ल्याएका सप्पै मेरा लागि हुन्थे। फेदमा झोला रुग्ने काम मेरो जिम्मामा हुन्थ्यो।   
एकदिन फुच्चेले पल्लो हाँगाबाट औवालाई भनेछ— 
‘हाम्रा हजुरबाका बाले रोपेका रे ! यी वरपीपल।’ 
औवाका कन्सिरी तातेछ। झोक्किँदै— ‘मरे नि 
होइन।’ भन्दिएछ।
पल्लो हाँगाबाट फुच्चेले फ्लाइङ किक हान्ने भाथ्यो— 
‘तुन्द्रुङ हाँगा मुन्तिर झुन्डियो।’
औवाले तु फिल्मी स्टाइलमा फुच्चेलाई बचायो।
वास्तवमा ग्याङका कुनै भैरेलाई थाहा थिएन कसका हजुरबाउले रोपेका थिए ती वरपीपल।
ooo

भोलिपल्ट रुख चढ्दै गर्दा अचानक फुच्चे झोक्कियो— हैट ! ल्याइदिन्न। हिजो लड्याभा ? ‘मरिमरी हास्थिस्।’ अझै ! कुरा लगाउथिस् होला बालाई। पर्दैन झोला रुङ्न, बोकेरै चढ्छु। खाने भए आफैं चढ। ‘हाम्ले चै आमाको पेटमा सिकेर आ हो र !’ बाले चढ्नुहुन्न भन्दै गाली गर्थे। बा’को आँखा 
छल्दै आँटका हाँगा मच्याउथ्यौं। खुरुक्क चढ। 
‘फुच्चेका कुरा सुनेर एकछिन ट्वा भए।’
‘थुइँक्क ! मुला, सानो कुरामा रिसाम्छस्।’ हिजो त्यही पनि तलाई केही भएन। म रुन्चे स्वरमा बोले।
‘फुच्चेको मन के पग्लिन्थ्यो ?’ डरले शरीरमा भरर 
काँडामात्र उम्रिए।
तत्क्षण सबै फुच्चेका साइडतिर पन्छिए। फुच्चेका कुरामा सहमत भए। कसैले नल्याइदिने भए। म एक्लो परें।
त्यही दिन मैले रुख चढ्न सिके। कालान्तरमा तिनीहरूभन्दा खप्पिस निस्के। कतै रुखका हाँगा लुछिए भैरे 
ग्याङमा नाम जोडिएर आउन थाल्यो।

ooo

प्रायः सधैंजसो औवा र म टिफिन टाइममा घर भाग्थ्यौं। फुच्चे र भुन्टे त्यति भाग्दैनथे। बारीका कान्ला उक्लिँदै गरेको देखेपछि आश्विनी सरले डिलबाट बोलाउँथे। हामी कान्लामा लुक्थ्यौं, फर्केर जाँदैनथ्यौं। फुच्चे र भुन्टे भने जान्थे।  
भोलिपल्ट वनमारा सिर्कनाको चुटाइ भेटिन्थ्यो। उल्का दुख्थ्यो। वनमारा सिर्कनादेखि उल्का डराउथ्यौं तर पनि भाग्न छाडेनौं। सम्भवतः वनमाराका सिर्कना जत्ति 
आमाले पनि शरीर चुमिनन् होला ? 
‘एकदिन फुच्चेले आश्विनी सरलाई कन्सिरीका भुत्ला उखाल्दिए, भाग्दैन्’, बताइदिएछ। वास्तवमा कन्सिरीका भुत्ला उखाल्ने बडबादेखि हामी दुवै खुब डराउथ्यौं।

गाउँमा ७४ वर्षका एक बडाबा थे। भुराभुरीका कन्सिरीका भुत्ला उखालेर थुरथुर बनाउथे। ती बुढालाई देख्नासाथ हामी टाप कस्थ्यौं। छेउमा कहिल्यै पर्दैनथ्यौं। फुच्चे एकदिन बुढाको ट्र्यापमा फस्यो। केहीबेरपछि रुँदै आइपुगेथ्यो। हामी मज्जाले हाँसेथ्यौं। माइली काकीको पसलमा बूढालाई चाउचाउ किनेर खुवाएपछि फुच्चे बूढाको जिग्री भयो। हेर्दाहेर्दै बूढाका मर्न लागेका गफ हामीसँग उराल्न थाल्यो। तर, हामी भने बूढाको छेउ कहिल्य परेनौं। बूढालाई देख्नासाथ परैबाट कुलेलम ठोक्थ्यौं। फुच्चे हाम्रा कन्सिरीका भुत्ला उख्लिएको हेर्न चाहन्थ्यो। ईख पालेथ्यो त्यसले। र त भन्दियो आश्विनी सरलाई।

अर्को दिन स्कुल पुग्नासाथ आश्विनी सरले बोलाए। थाहा थियोे— ‘बूढाले बोलाउँछन् भन्ने किनकि हिजो टिफिनपछि भागेकै थियौं।’
अफिस कोठामा सुटुक्क पस्यौं। आश्विनी सर झ्याल छेउ कुर्चीमा अडेस लागेर उङ्दै थिए। सरको हातमा वनमाराको सिर्कना थिएन। हामी अचम्ममा पर्‍र्यौं।  
मैले औवाको कानमा खुसुक्क भने— ‘बूढालाई पिट्दापिट्दा अल्छी लागेछ। अब सम्झाउँछन्।’ त्यसदिन काला दाँत देखाउँदै ऊ फिस्स मुस्कुराएथ्यो। बूढाले दुवैलाई नजिकै बोलाए। सरासर गयौं। बूढाका बढो अरमठ्ठेको हात रहेछ— ‘नमज्जाले कन्सिरीका भुत्ला उखाले।’ दुवै क्वा ! क्वा ! रुँदै कक्षाकोठामा फर्कियौं। सबैले निकैबेर जिस्काइरहे। त्यसदिनदेखि कन्सिरीको भुत्ला सम्झेर भाग्न छाड्यौं र टिफिनपछिका 
कक्षा नियमित पढ्न थाल्यौं।
ooo

​​​​​​​चन्द्रकला मिस हुनुहुन्थ्यो। काली थिइन् तर राम्री। हामी भैरेलाई के काली, के राम्री ? तर, उनका शरीरका प्रत्येक अंग ठूला थिए। हामीलाई ठूला लाग्थे। जब मिसलाई देख्थ्यौं, लजाउँदै हास्थ्यौं। 
‘नाइटो झर्‍या छैन जिस्काउँछौं।’ मिस हाम्रो ग्याङलाई सधैं हपार्थिन्। किन हपार्थिन् ? ऐल्यसम्म था’छैन। मिस औधी बाठी थिइन्। एकदिन मेरो नयाँ कपी हरायो। म रुँदै आश्विनी सरका पुगे। बूढाले उल्टै दुई सिर्कना लगाइदे। म छिनमै चुप भए। 
अचानक झरिरहेका आँसु थामिए।

एकछिनपछि चन्द्रकला मिस कक्षाभित्र छिर्नुभयो। थाहा पायौं— ‘आश्विनी सरले कपी पत्ता लगाउन पठाएका रहेछन्।’  
कक्षामा २० जना थियौं। धेरै केटी थिए। सबै छिप्पेका। थोरै केटा थियौं। सबै भुन्टे। 
मिसका हातमा उत्रैउत्रा २० वटा सतिबेरका काँटी जत्रा सिन्का थिए। सबैका हातमा थमाउँदै मिस बोल्नुभो— ‘जसले कपी चोरेको छ। भोलि आउँदा त्यसको एक इन्च सिन्को बढेको हुन्छ। पहिलो घण्टीमै सिन्का लिन आउछु। भोलि पत्ता लाग्छ चोर। मिस यति भनेर फुत्त बाहिर निस्किनुभयो। 
त्यतिनै बेला अनुहारमा खुसी बेतोडले दौडिएथ्यो मेरो अनुहारमा। म फिस्स हाँसेथे। भोलि कपी भेटिने पक्का भएथ्यो र बच्ने भएथे बाउको पञ्जा झाप्पडबाट।    

ooo

भुन्टे, औवा, फुच्चे र म औधी मिल्थ्यौं। स्कुल छुट्टी भएपछि बाटामा सधैं सँगै हुन्थ्यौं। आज पनि सधैझैं सँगै घर जाँदै थियौं।
दसजानी बाटाको गायोको बोट मुन्तिर अचानक फुच्चे रोकियो। हामी पनि टक्क उभियौं। घाम महाभारत डाँडाबाट हाम्लाई शंकालु आँखाले एकोहोरो गरी नियाल्दै थियो। हामी गायोको बोटमा छेलिएर शीतल भएको ठाउँमा थ्याच्च बस्यौं।
सन्नाटा चिर्दै फुच्चे बोल्यो— ‘कालीले भाच्या सिन्को 
बढ्छ भनी, के खाएर बढ्छ ?’
अत्तालिँदै भुन्टे बोल्यो— ‘बढ्यो भने ?’ 
‘कसम बढ्दैन।’ औवा गर्जियो।
‘काली बाठी छे। के गर्न आँटी ?’ चोरे पनि नचोरे पनि सिन्को बढ्दै बढ्दैन। भाच्या सिन्को घण्टा बढ्छ। एक बढ्दैन। दुई बढ्दैन। बढ्दै बढ्दैन।
फुच्चे र औवाले कपी चोरेकै थिएनन्। किन डराउँथे ?
 सिन्को किन बढ्थ्यो ?

भोलिपल्ट पहिलो घण्टीमै चन्द्रकला मिस कक्षाकोठामा पस्नुभयो। सबैले आ–आफ्नो सिन्को दिए। मिस बटुल्दै जानुभयो। भुन्टेले पनि दियो तर अरूको भन्दा १ इन्च छोटो। अन्ततः चोर पक्रियो। भुन्टेले कपी चोरेको रहेछ।
चन्द्रकला मिसले कन्सिरी मुन्तिर दुई झापड लगाइदिनुभयो। राता गाला बोकेर भुन्टे फुत्त कक्षाबाट निस्केर बेतोडले दौडिएथ्यो। केही सेकेन्डमै कपी लिएर कक्षामा झुल्कियो।
‘स्कुल पछाडि सतिबेरको बुट्टामा ढुंगाले थिचेर 
कपी राखेको रहेछ।’
‘मा साले चोर।’ फुच्चे कड्कियो। 
‘हुन्देस् ऐल्ये ! छुट्टी भएसी कुरा गरौंला।’ औवा बोल्यो। 
हामी चुपचाप भयौं। 
ooo

चारजना मात्र बाटामा थियौं। सबै घर गइसकेका थिए। स्कुल सुनसान भइसकेको थियो। सरमिस घरतिर झरिसकेका थिए। बाटामा हिँड्दै थियौं। यतिबेलासम्म कोही बोलेका थिएनौं।

अचानक भुन्टे रुँदै बोल्यो— ‘हिजो तिमीहरूसँग छुट्टिएपछि घरमा पुगेर मिसले भनेको सम्झिए। चोरको सिन्को एक इन्च बढ्छ। कपी त मैले चोरेको थिए। विद्या नष्ट, तिमीहरूले थाहा पायौं भने के भनौला भनेर बेलुका सुत्नै सकिनँ। बँच्ने उपाय अबेरसम्म सोचें तर फुर्दै फुरेन। सुत्नै लाग्दा आइडिया फुर्‍यो। मिसले दिएको सिन्को बराबरको अर्को सिन्को बनाए र सँगै सिरानीमुनि राखे। अनि, सुते।

बिहान उठ्दा दुवै सिन्का जत्रातत्रै। ल बढेन। कालीले था नपाउने भई भनेर खुसीले उफ्रिएँ। स्कुल आउँदै थिएँ। बीच बाटामा आइपुगेपछि मन कुँडियो। केहीगरी एकैचोटी ह्वात्तै बढ्यो भने... ‘हुन्देस् जे होला सोही पर्ला। एक इन्च भाच्दिएँ।’ 
हामी गलल्ल हाँस्यौं। ऊ पनि हाँस्यो। फुच्चेले सम्झायो— ‘मुला, सबथोक गर, चोर्ने काम नगर। चाहे अर्काको चाहे हाम्रो।’ 

भुन्टेले कान समात्दै कहिल्यै नचोर्ने कसम खायो। सबै मुस्कुरायौं अनि एकअर्कामा अँगालियौं। त्यसदिनदेखि भुन्टेले कहिल्यै चोरी गरेन। कक्षा कोठाबाट कसैको सामान पनि हराएन।

ooo

ग्याङमा भुन्टे सामान चोर्न सिपालु थियो। फुच्चे फाइट खेल्न। औवा सन्काहा, निहुँ खोज्न। तुलनात्मक तिनीहरूभन्दा म सोझो थिएँ तर पढन्ते। ती जता जान्थे पछि लाग्ने मै हुन्थें। तर, परीक्षाका समयमा मात्र ती मेरा पछि लाग्थे। 

गाउँमा ‘भैरे ग्याङ’ फेमस थियो। केटाहरू के गर्दैनथे ? राम्रो–नराम्रो सबै सबै। एकदिन आश्विनी सरले २० सम्मको दुनोट २ एकान २, २० सम्म भन्नेलाई २० रुप्पे दिने घोषणा गरे।

एकछिनसम्म कसैले हात उठाएनन्। सबै चुपचाप रहे। रवि जुरुक्क उठेर भन्न तयार भयो। ग्याङका सबै भैरे ट्वाल्ल भयौं। अस्ति भर्खर चन्द्रकला मिसले ३ एकान सोध्दा ठसठस कन्दै थियो। कति चाँडो कण्ठ गरेछ। फुच्चे हाँस्दै बोल्यो।
‘आम्मा कसम यल्लाई आउँदैन। बाजी ठोक्दिन्छु।’ फुच्चे फेरि कड्कियो।

हामी खितखितायौं। आश्विनी सर बम्किए। नपढ्ने ल्वादहरू। खिसी गर्छौं। दुई, तीन सिर्कना ढाडमा बज्रिए। कन्सिरीका रौं ठाडा भए। कान राता। श्वास एकछिन रोक्केला रोक्केला जस्तो भो !
आश्विनी सर बोले— ‘सुरु गर रवि।’  

रवि— ‘२ एकान २’, ‘२ दुना ४...’, भन्दै २ दशन २०/२० सम्मको दुनोट सकियो सर।
फुच्चे हाँस्दै बोल्यो— ‘भोलि कण्ठ गरेर भन्दे त सन्तोष।’ 
आश्विनी सरले ठुल्ठूला आँखाले निकैबेर मलाई हेरिरहें।​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.