हेर आँगनमा भदौ रसायो
चोखो लोकतन्त्रमाथि बिटुला मनहरू
सत्तान्ध अक्कड र ढिपीहरू
कुर्लिरहने दम्भी अभिमानहरू
ढसमस्स निस्फिक्री हप्कीहरूलाई
अनायास भदौले प्रश्न गर्यो– ‘अझै कति दिनसम्म ?’
हेर आँगनमा भदौ उदायो
नयाँ युगको बदल्दो धड्कन
उज्यालोतर्फ बढ्दै पाइला
थिचाइबाट उन्मुक्तितिर
चुप्पीबाट चेतनातिर
नयाँ सोचको आलोक फैलायो
झरीको शीतल छिटा सरी
युगबोधको पुनर्रचना
हेर आँगनमा भदौ आयो
स्वतन्त्र आवाजले दस्तक दियो
समयको नयाँ स्वरसँगै
आशाको बीज धरती फुटाल्दै
हरिया तीन पातमा सगौरव उदायो
डराई अभिमान निकै थरथरायो
झरे दर्पका पङ्खहरू
हेर आँगनमा भदौ रसायो
समयको पत्थरमा चेतना उत्कीर्ण गर्दै
इतिहासको धड्कनमा नयाँ अध्याय थप्दै
चारै चौरस जनचेतनाको सन्देश छर्दै
अन्धकारको कोखबाट प्रकाश फुट्यो
नयाँ किरण निर्दम्भ फिँजियो
कम्पित भए सेखीका पर्खालहरू
हेर आँगनमा भदौ रमायो।
प्रतिक्रिया दिनुहोस !