नीति छ, तर त्यसलाई सघाउने कानुन छैन। लक्ष्यहरू ठूला छन्, तर बजेट छैन। जिम्मेवारी तोकिएको छ, तर जवाफदेहिता छैन। यो नेपालको एउटा ठूलो पुरानो रोग हो। खर्कको सन्दर्भमा पनि यही भएको छ।
नयाँ दिल्ली, भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल निकै भव्य छ । जहाँको टर्मिनल–३ मा विलासी सामानहरू बिक्री हुन्छन् । एउटा स्टलमा पश्मिना सल अर्थात् पछ्यौरी सजाएर राखिएको थियो । त्यो पछ्यौरी प्रिमियम गुणस्तरको देखिन्छ । स्टलकी कर्मचारीले त्यसको मूल्य सुनाइन्, हातले बुनेको पछ्यौरीलाई नेपाली रकम ५० हजार रुपैयाँ पर्छ अनि मेसिनले बुनेको पछ्यौरी करिब २० हजार पर्छ । यो पश्मिना कश्मिरका गोठहरूबाट आउँछ । त्यहाँका च्यांग्राहरू खर्क (गाईबस्तुको गोठ राख्न र तिनलाई चराउनका लागि राखिएको बाँझो रैकर जग्गा)मा चरिचरन गर्छन् । तिनै च्यांग्राको भुवाबाट यो पश्मिनाको पछ्यौरा तयार हुन्छ । यसको प्रशोधन राजस्थानका कारखानाहरूमा गरिन्छ ।
गोठालो : ७ लाखको स्विटर बुन्ने ‘अशिक्षित इन्जिनियर !’
यस्तै अर्को दृश्य भारतको अहमदाबादमा देखियो । त्यहाँ एसियाली खर्कमा काम गर्ने महिला गोठालाहरूको सम्मेलन थियो । पंक्तिकार स्वयं उक्त सम्मेलनमा सहभागी थियो । त्यहाँ मंगोलियाकी एक उद्यमी महिला थिइन् । उनले पश्मिनाको एउटा स्विटर प्रदर्शन गरिन् । त्यसको मूल्य ७ लाख २० हजार टुग्रिक (मंगोलियन टुग्रिक) थियो । नेपाली मुद्रामा यो करिब ३० हजार हुन्छ । उनले पछ्यौरासँगै जोडेर एउटा प्रविधिबारे बताइन्, पश्मिनामा क्यूआर कोड राख्न सकिन्छ जसमा सामानको उत्पत्ति र शुद्धता देखाउँछ । यदि यसो गर्न सकियो भने पश्मिनाको मूल्य दोब्बर हुन सक्छ भनेर उनले सुनाइन् ।
अहिले पश्मिनाको माग युरोपमा धेरै छ । फ्रान्स, इटाली र बेलायतमा यसको ठूलो बजार छ ।माथि प्रस्तुत दुई दृश्यले गहिरो सन्देश दिन्छन् । हिमाली खर्कका उत्पादनको मूल्य उच्च छ । विश्व बजारमा यस्ता वस्तुको माग बढ्दो छ ।
पश्मिना निर्यातबाटै वार्षिक ३ अर्ब !
नेपाल राष्ट्र बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक गर्छ । सन् २०२३/२४ को तथ्यांक रोचक छ । नेपालको मुख्य निर्यातयोग्य वस्तु भनेकै पश्मिना हो । उक्त वर्ष चीनमा ३ करोडको पश्मिना निर्यात भयो । भारतमा १० करोड ८० लाखको निर्यात भयो । अन्य मुलुकमा २ अर्ब ८८ करोडको व्यापार भयो । वार्षिक कुल निर्यात ३ अर्ब नेपाली रुपैयाँ नाघेको छ । च्यांग्राको भित्री भुवा निकै नरम हुन्छ । यो हलुका र निकै आरामदायी पनि छ । त्यसैले यसको बजार मूल्य सधैं उच्च रहन्छ । नेपालको पश्मिनाको आफ्नै सामूहिक चिह्न छ । यसलाई ‘कलेक्टिभ ट्रेडमार्क’ भनिन्छ । यो चिह्न विश्वका ४७ देशमा दर्ता छ ।
- संघीयतापछि तीन तहका सरकार बने। तर खर्कको विकास कसैको प्राथमिकतामा परेन। राष्ट्रिय खर्क नीति २०६८ मा बनेको थियो। यसको लक्ष्य राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु हो। तर यो नीति प्रभावकारी रूपमा लागू भएन। गजबको यथार्थ त के छ भने नेपालमा योजना बन्छन्, तर कार्यान्वयन हुँदैनन्।
- जवाफदेहिता नहुँदा खर्क नीति अलपत्र पर्यो। नीति बनेको १४ वर्ष बितिसकेको छ। खर्क व्यवस्थापनका लागि ऐन नियम बनेनन्। कृषि, पशु र वन मन्त्रालयबीच अन्योल छ। खर्कको विषय यी निकायबीच गिजोलिएको छ। प्रयोग गर्ने कृषक छन्, नियन्त्रण वनको छ। यसले गर्दा कृषक र सरकारबीच द्वन्द्व छ।
- गोठालाहरू परम्परागत सीप भएका दक्ष जनशक्ति (‘पास्टोरालिस्ट’–विशेष दक्षता) हुन्। यो पेसा धेरै देशमा निकै सम्मानित छ। राज्यले उनीहरूलाई विभिन्न सहुलियत दिने गर्छ। मंगोलियामा गोठालाहरूलाई पेन्सनको व्यवस्था छ। प्रकृतिको अंग मानिने यो पेसा नेपालमा महत्वहीन छ। अवस्था निकै फरक र दुःखद छ। यहाँ गोठालालाई अशिक्षित र सीपहीन मानिन्छ, जहाँ श्रमिकको रूपमा अपहेलना गर्ने गरिन्छ।
यसैगरी, ऊनी गलैंचाको निर्यात पनि राम्रो छ । नेपाली याक चीजको माग पनि धेरै छ । विदेशी पर्यटकहरूले यसलाई निकै मन पराउँछन् । तर हिमाली क्षेत्रमा एउटा समस्या छ । त्यहाँ पशुहरूको संख्या घट्दै गएको छ । भेडा, याक र च्यांग्रा पाल्नेहरू कम छन् । पशुपालक कृषकहरू पलायन भइरहेका देखिन्छन् । नेपालमा पश्मिनासम्बन्धी अनुसन्धान भएको थियो । यहाँको उत्पादनले मागको ४ प्रतिशतमात्र धान्छ । बाँकी ९६ प्रतिशत पश्मिना विदेशबाट आउँछ । मंगोलिया र चीनबाट यसको आयात हुन्छ । जसले गर्दा नेपाली च्यांग्रापालक कृषकहरू पछाडि परेका छन् । उनीहरू पश्मिनाको मूल्य शृंखलाबाट बाहिर छन् । यो अवस्था निकै चिन्ताजनक देखिन्छ ।
आधुनिक उपभोक्तावादमा पिल्सिएको मानव इतिहासकै सबैभन्दा पुरानो पेसा गोठालो
नेपालका लागि पश्मिना एक तुलनात्मक लाभको विषय पनि हो । ऊनी गलैंचा र याक चीज पनि महत्त्वपूर्ण छन् । छुर्पी उत्पादनको सम्भावना पनि उत्तिकै विशाल छ । यी सबै उत्पादन हिमाली खर्कमा आधारित छन् । दुर्गम खर्कहरूमा गोठालाहरू काम गर्छन् । उनीहरूको जीवनयापन निकै कष्टकर छ । भौगोलिक विकटताले उनीहरूलाई सधैं पिरोल्छ । समाजले उनीहरूप्रति विभेदपूर्ण व्यवहार गर्छ । त्यसैले धेरै गोठालाहरू पलायन हुँदैछन् । गोठालो पेसा मानव इतिहासकै सबैभन्दा पुरानो हो । तर आधुनिक उपभोक्तावादले यसलाई थिचेको छ । यस्तै, पुँजीवादी अर्थतन्त्रले यो पेसालाई संकटमा पार्यो ।
अहिले विश्वभरि नै गोठालो पेसा विस्थापित छ । गोठालाहरूको पहिचान कतै हराउन थालेको छ । उनीहरूको अधिकारका लागि पैरवी हुन आवश्यक छ । यही सन्दर्भमा संयुक्त राष्ट्रसंघ अगाडि आयो । उसले सन् २०२६ लाई यही गोठाला र खर्कलाई समेट्दै विशेष घोषणा गर्यो । यो वर्षलाई ‘खर्क तथा गोठालाहरूको अन्तर्राष्ट्रिय वर्ष’ भनेको छ । यसले विश्वभरि एउटा नयाँ आशा जगाएको छ । खर्कमा आधारित समुदायको हक खोज्न थालिएको छ । गोठालाहरूको पहिचान स्थापित गर्ने अवसर पनि हो यो ।
खर्कको तथ्यांक र नीतिगत अभाव
नेपालको कुल भूभागमा खर्कको हिस्सा ठूलो छ । कुल क्षेत्रफलको २२.६ प्रतिशत खर्कले ओगटेको छ । नेपालमा करिब ३३ लाख हेक्टरमा खर्क छन् । यसको ८० प्रतिशत भाग हिमाली र उच्च पहाडी भेगमा खर्कहरू फैलिएका छन् । संरक्षित क्षेत्रभित्र २७ प्रतिशत खर्क पर्छन् । खर्कमा धेरै घाँस
उत्पादन हुने गर्छ । तर पशुहरूले ३७ प्रतिशतमात्र खान पाउँछन् । यो तथ्यांक २०६८ सालको नीतिमा छ । तर अहिलेको वास्तविक अवस्था अर्कै हुन सक्छ ।
नेपालमा खर्कसम्बन्धी तथ्यांकको ठूलो अभाव छ । गोठालाहरूको अवस्था विश्लेषण गर्न निकै गाह्रो छ । हिमाली क्षेत्रबाट पलायन हुने दर बढेको छ । यसलाई निरन्तरता दिने जनशक्तिको अध्ययन छैन । पशुपालन र जीविकोपार्जन एकअर्कासँग जोडिएका छन् । विस्थापनको दर किन बढ्यो भन्ने खोजी आवश्यक देखिएको छ । आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरू गहिरिएर केलाउन नितान्त आवश्यक छ । यो विषयमा गहिरो अनुसन्धान नितान्त आवश्यक छ भने यो बिना सही योजना बनाउन सकिँदैन । योजना सही नबनुञ्जेल कार्यान्वयन सही हुने कुरै भएन ।
साझा स्रोतको द्वन्द्व र व्यवस्थापनका चुनौती
नेपालका खर्कहरू पशुपालनका मेरुदण्ड हुन् । याक, चौरी र भेडाका लागि यो अनिवार्य छ । पशुपालनको भविष्य खर्कको विकासमा निर्भर छ । खर्कहरू साझा स्रोतको रूपमा रहेका छन् । यसलाई ‘कमन रिसोर्स पुल’ भनिन्छ । तर अहिले खर्कको क्षेत्र खुम्चिँदै गएको छ । पशु चरिचरनका लागि प्रतिस्पर्धा बढ्दो छ । स्रोतको माग र आपूर्तिबीच तालमेल छैन । यसले गर्दा समुदायहरूबीच द्वन्द्व हुने गर्छ । स्थानीय समुदाय र सरकारी निकायबीच विवाद छ । सिमाना जोडिएका गाउँहरू पनि आपसमा लड्छन् ।
खर्कको व्यवस्थापन सामुदायिक निर्णयबाट हुन्छ । स्थानीयहरूले आफ्नै परम्परागत नियम बनाएका छन् । ती नियमअनुसार खर्कको उपभोग गरिन्छ । समुदायले नै चरन कर निर्धारण गर्छ । खर्क खोल्ने र बन्द गर्ने समय तोकिन्छ । चरिचरन गर्ने पशुको संख्या पनि सीमित हुन्छ । तर यी समुदायलाई कानुनी मान्यता छैन । उनीहरूका समितिले कानुनी वैधता पाएका छैनन् । यसले व्यवस्थापनमा थप जटिलता थपेको छ ।
खर्कको कानुनी हैसियत स्पष्ट हुन जरुरी छ ।
जैविक विविधता र वैज्ञानिक चरनको महत्त्व
नेपालका खर्कहरू जैविक विविधताका दृष्टिले निकै महत्त्वपूर्ण छन् । यहाँ बहुमूल्य जडीबुटीहरू पाइने गर्छन् । रैथाने वनस्पति र वन्यजन्तुको यो भण्डार हो । तर केही वर्षदेखि खर्कहरू बिग्रिँदै गएका छन् । खर्कको उत्पादकत्व र गुणस्तर निकै घटेको छ । यस क्षेत्रमा पर्याप्त अनुसन्धान हुन सकेको छैन । मिचाहा प्रजातिका वनस्पतिहरू फैलिएका छन् । झारपात र मरुभूमीकरणले खर्कलाई असर गरेको छ । जैविक विविधतामा यसले गम्भीर खतरा पुर्याएको छ । धेरै स्थानीय घाँसहरू लोप हुने अवस्थामा छन् ।
जलवायु परिवर्तनको असर झन् भयावह छ । मौसमी प्रतिकूलताले मानिस झैं खर्कको स्वास्थ्य बिगारेको छ । जंगली जनावर र कृषकबीच द्वन्द्व बढेको छ । यसले पारिस्थितिक सन्तुलनमा असर पारेको छ । युवा जनशक्ति यो पेसाबाट टाढा भाग्दैछन् । खर्कको स्वामित्वमा पनि ठूलो विवाद देखिन्छ । यी समस्याहरूले जीविकोपार्जनमा बाधा पुर्याएका छन् । खर्कको वैज्ञानिक व्यवस्थापन अब अनिवार्य छ ।
यस बिना पशुपालनको भविष्य सम्भव छैन ।
नीति कार्यान्वयनमा जवाफदेहिताको खडेरी
संघीयतापछि तीन तहका सरकार बने । तर खर्कको विकास कसैको प्राथमिकतामा परेन । राष्ट्रिय खर्क नीति २०६८ मा बनेको थियो । यसको लक्ष्य राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु हो । तर यो नीति प्रभावकारी रूपमा लागू भएन । नीति छ, तर त्यसलाई सघाउने कानुन छैन । लक्ष्यहरू ठूला छन्,
तर बजेट छैन । जिम्मेवारी तोकिएको छ, तर जवाफदेहिता छैन । यो नेपालको एउटा ठूलो पुरानो रोग हो । योजना बन्छन्, तर कार्यान्वयन हुँदैनन् ।
कानुन कार्यान्वयन गर्न बाध्यकारी व्यवस्था हुन्छ । तर नीति कार्यान्वयनमा त्यस्तो बाध्यता हुँदैन । जवाफदेहिता नहुँदा खर्क नीति अलपत्र पर्यो । नीति बनेको १४ वर्ष बितिसकेको छ । खर्क व्यवस्थापनका लागि ऐन, नियम बनेनन् । हालसम्म नेपालमा यससम्बन्धी चासो कसैले लिएन भन्दा फरक पर्दैन । कृषि, पशु र वन मन्त्रालयबीच अन्योल छ । खर्कको विषय यी निकायबीच गिजोलिएको छ । प्रयोग गर्ने कृषक छन्, नियन्त्रण वनको छ । यसले गर्दा कृषक र सरकारबीच द्वन्द्व छ ।
जलवायु परिवर्तन र अनुकूलनका प्रयास
हिमाली क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा छ । यहाँका सिमान्तकृत समुदायहरू निकै समस्यामा छन् । उनीहरूको अनुकूलन क्षमता बढाउनु पर्नेछ तर कसले ? सरकारले ‘नेसनल एडाप्टेसन प्लान’ जारी गरेको छ । यो सन् २०२१ देखि २०५० सम्मका लागि हो । यसका लागि ठूलो रकम आवश्यक पर्ने देखिन्छ । १००० मिलियन अमेरिकी डलरको खाँचो छ । सन् २०१७ पछि कुनै ठूलो आयोजना आएन । खर्कलक्षित सघन कार्यक्रमहरूको अभाव छ ।
अन्य देशहरूले खर्क व्यवस्थापनमा धेरै राम्रो काम गरेका छन् । भारत, मंगोलिया र कीर्गिस्तान यसमा अगाडि छन् । उनीहरूले खर्कको छुट्टै जनगणना गर्ने गर्छन् । त्यही तथ्यांकका आधारमा कार्यक्रमहरू चल्छन् । तर नेपालमा तथ्यांकको निकै ठूलो खडेरी छ । आर्थिक र सामाजिक विश्लेषण गर्न जनगणना चाहिन्छ । यसले भविष्यको बाटो स्पष्ट पार्नेछ । सरोकारवाला निकायलाई यसले सही दिशा दिनेछ । नेपालले पनि अब ढिला गर्नु हुँदैन ।
गोठालो पेसाको पहिचान र युवा आकर्षण
‘पास्टोरालिस्ट’ शब्दले एउटा विशेष दक्षता बुझाउँछ । गोठालाहरू परम्परागत सीप भएका जनशक्ति हुन् । यो पेसा धेरै देशमा निकै सम्मानित छ । राज्यले उनीहरूलाई विभिन्न सहुलियत दिने गर्छ । मंगोलियामा गोठालाहरूलाई पेन्सनको व्यवस्था छ । त्यहाँ यो पेसालाई प्रकृतिको अंग मानिन्छ । तर नेपालमा अवस्था निकै फरक र दुःखद् छ । यहाँ गोठालालाई अशिक्षित र सीपहीन मानिन्छ । उनीहरूलाई श्रमिकको रूपमा अपहेलना गर्ने गरिन्छ ।
पशुपालन केवल आर्थिक गतिविधिमात्र होइन । यो एउटा पेसा र सांस्कृतिक अभ्यास हो । अहमदाबादमा भुटानकी एक शिक्षित युवती भेटिइन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । तर उनी गर्वका साथ गोठालो पेसा गर्छिन् । यो उनको पुर्खाको पेसा भएको उनी बताउँछिन् । यसले उनलाई प्रकृति र संस्कृतिसँग जोड्छ । तर नेपालका युवाहरू वैदेशिक रोजगारीमा छन् । उनीहरू सहरी जीवनप्रति निकै आकर्षित छन् । पेसाप्रतिको अपहेलनाले युवाहरू टाढा भागेका छन् ।
घुम्ती पशुपालन : संस्कृति र जीविकोपार्जन
घुम्ती पशुपालन नेपालको एउटा प्राचीन पद्धति हो । यसलाई ‘ट्रान्सह्युमेन्ट पास्टोरालिज्म’ भनिन्छ । गोठालाहरू मौसमअनुसार ठाउँ सर्ने गर्छन् । गर्मीमा पशुहरू लेकाली खर्कमा पुर्याइन्छ । जाडो सुरु भएपछि बेंसीतिर झारिन्छ । यो प्रणाली जीविकोपार्जनको मुख्य माध्यम हो । यो हाम्रो सामाजिक र सांस्कृतिक पहिचान पनि हो । किराँत समुदायको उभौली र उधौली यसैमा आधारित छन् । उधौलीले बेसी झर्ने समयको संकेत गर्छ । उभौलीले लेक चढ्ने बेला भएको जनाउँछ । यो प्रणालीले मानव र प्रकृतिलाई जोड्छ । तर पछिल्ला वर्षमा ठूला चुनौती आएका छन् । यो परम्परागत अभ्यास अहिले लोप हुँदैछ । सुरक्षित आश्रयस्थल र पिउने पानीको अभाव छ । पदमार्गहरू अहिले सुरक्षित छैनन् । ऊर्जाका लागि सोलार वा विद्युत्को व्यवस्था छैन । सञ्चारको पहुँच पनि खर्कहरूमा पुगेको छैन । चरिचरनमा धेरै अवरोध सिर्जना भएका÷गरिएका छन् । यसले हिमाली पहिचान नै संकटमा परेको छ ।
पर्यटन र अनुकूलनको सम्भावना
घुम्ती पशुपालन जलवायु अनुकूलनको राम्रो प्रविधि हो । यसले हिमाली समुदायको क्षमता बढाउन सक्छ । गोठालाका मार्गहरूलाई पदमार्गसँग जोड्न सकिन्छ । यसले आन्तरिक र बाह्य पर्यटनलाई सघाउँछ । खर्कमा चरिरहेका याक र चौरी आकर्षक देखिन्छन् । पर्यटकहरू यस्ता दृश्यले निकै लोभिन्छन् । यसबाट स्थानीय उत्पादनको प्रचार पनि हुन्छ । हिमाली क्षेत्रमा आर्थिक गतिविधिहरू बढ्नेछन् । गोठालाहरूको
आम्दानीमा पनि वृद्धि हुने देखिन्छ ।
यसका लागि सरोकारवालाले ध्यान दिनुपर्छ । खर्कको संरक्षण र व्यवस्थापन अनिवार्य छ । युवाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छ । तिनलाई ‘स्टार्ट अप’ कर्जा दिनुपर्छ । सहुलियतपूर्ण ऋणले उनीहरूलाई प्रोत्साहन मिल्छ । खर्कजन्य उत्पादनमा प्रविधि विस्तार गर्नुपर्छ । गोठालो पेसालाई औपचारिक रूप दिन आवश्यक छ । यसले सीप विकास र पहिचान दिलाउनेछ । परम्परागत ज्ञानको अभिलेख राख्नु पनि जरुरी छ ।
जीविकोपार्जन र संरक्षणबीचको सह–अस्तित्व
नेपालका धेरै खर्कहरू संरक्षित क्षेत्रमा छन् । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चरन छ । वनसम्बन्धी कानुनहरू अलि अस्पष्ट छन् । खर्कको प्रयोगबारे स्पष्ट व्यवस्था गरिएको छैन । कतिपय ठाउँमा चरिचरन पूर्ण बन्द छ । यसले गर्दा कृषकहरू निकै मारमा परेका छन् । उनीहरू पुख्र्यौली पेसा
छाड्न बाध्य छन् । खर्क व्यवस्थापनलाई जैविक विविधता विरोधी मानिन्छ । तर यो एउटा ठूलो भ्रम मात्र हो ।
अनुसन्धानले अर्कै तथ्य बाहिर ल्याएको छ । चरनमा पूर्ण रोक लगाउनु पनि हानिकारक छ । यसले खर्कको पारिस्थितिक सन्तुलन बिगार्छ । प्रयोग नभएका खर्कमा मिचाहा झार बढ्छ । वैज्ञानिक चरनले भने उत्पादनशीलता बढाउँछ । खर्कको वहन क्षमता यकिन गर्नुपर्छ । सोही आधारमा पशुहरूको संख्या तोकिनुपर्छ । घुम्ती चरनले खर्कको स्वास्थ्य सुधार्छ । संरक्षण र जीविकोपार्जनलाई सँगै लैजानुपर्छ । यी दुई कुरा आपसमा विरोधी होइनन् ।
खर्कको समृद्धि, नेपालको समृद्धि
नेपालको पशुपालन सामुदायिक सहकार्यमा आधारित छ । खर्कको उपयोग सामूहिक रूपमा हुने गर्छ । यसले सिमान्तकृत समुदायको अधिकारलाई जोड्छ । यति ठूलो महत्त्व हुँदाहुँदै यो क्षेत्र ओझेलमा छ । राज्यको नीति र योजनामा खर्क परेनन् । सही नीति भएमा यो दिगो विकासको नमुना बन्छ ।
खर्कहरूले समाजवाद उन्मुख अर्थतन्त्रलाई सघाउन सक्छन् । अब यो क्षेत्रलाई पुनरुत्थान गर्नुपर्ने बेला आयो ।
सन् २०२६ नेपालका लागि अवसर हो । यसलाई ‘गेम चेन्जिङ’ वर्षको रूपमा प्रयोग गरौं । खर्कको पहिचान र विकासका लागि काम गरौं । गोठालाहरूको अधिकार संरक्षण गर्न कानुन बनाऔं । हिमाली भेगको आर्थिक रूपान्तरण यसैबाट सम्भव छ । प्रकृतिको संरक्षण र मानवको प्रगति सँगै हिँड्नुपर्छ । खर्कको समृद्धि नै हिमाली समृद्धिको आधार हो । अझ भनौं, नेपालकै समृद्धि हो ।
प्रतिक्रिया दिनुहोस !