दोलखामा निर्वाचन सुरक्षा तयारी तीव्र

दोलखामा निर्वाचन सुरक्षा तयारी तीव्र
सुन्नुहोस्

दोलखा : आसन्न निर्वाचनलाई लक्षित गर्दै दोलखामा सुरक्षा तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ। जिल्लामा ९५ वटा मतदानस्थल रहेका छन् भने २०७ वटा मतदान केन्द्र रहेका छन्। 

९५ वटा मतदान स्थलमध्ये अतिसंवेदनशील ५२ वटा २८ वटा संवेदनशील र १५ वटा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए। भौगोलिक अवस्था, विगतका निर्वाचन अनुभव र सम्भावित जोखिमका आधारमा ती मतदान स्थललाई वर्गीकरण गरिएको उनले बताए।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालनको तयारी गरिएको छ। अतिसंवेदनशील तथा संवेदनशील मतदान स्थलमा थप सुरक्षाकर्मी परिचालन, गस्ती र निगरानी बढाइने पनि उनले बताए।

मतदाताले कुनै किसिमको डर, धम्की वा दबाब बिना आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण तयारीको लागि फिल्डमै रहेको उनको भनाइ छ। सुरक्षा संयन्त्रलाई चौबीसै घण्टा सक्रिय बनाइने र कुनै पनि अप्रिय घटना हुन नदिन विशेष योजना कार्यान्वयनका लागि तीव्र तयारी भइरहेको उनले बताए।

जिल्लामा कुल १ लाख ७० हजार ३० जना मतदाता रहेका छन्। ती मतदातालाई सुरक्षित वातावरणमा मतदान गराउने लक्ष्यसहित प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच समन्वय बढाइएको छ। मतदान केन्द्र आसपास अनावश्यक भीडभाड नियन्त्रण, अवाञ्छित गतिविधि निगरानी, मदिरा तथा हतियार ओसारपसारमा कडाइ गर्ने लगायतका तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा १ हजार ३ सय ५० जना निर्वाचन प्रहरी आवश्यक पर्ने भए पनि हालसम्म जनशक्ति अपुग देखिएको छ। अपुग जनशक्ति व्यवस्थापनका लागि छिमेकी जिल्ला सिन्धुपाल्चोक र काभ्रेबाट प्रहरी मगाउँदा पनि अझै करिब १ सय जना सुरक्षाकर्मी अपुग रहेको प्रशासनले जनाएको छ। यद्यपि उपलब्ध जनशक्तिको अधिकतम उपयोग, मोबाइल गस्ती र संयुक्त सुरक्षा टोली परिचालन गरेर सुरक्षा व्यवस्थामा कमजोरी नआउने गरी तयारी गरिएको बताइएको छ। 

प्रशासनले निर्वाचनको समयमा कुनै किसिमको अवाञ्छित गतिविधि, हिंसा, धम्की वा आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही गरिने चेतावनीसमेत दिएको छ। साथै, निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा सर्वसाधारण नागरिकको सहकार्य अपरिहार्य रहेको भन्दै सबैलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले दोलखामा निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै, मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध समेत गरेको  छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.