पूर्वी नेपालको दौडाहामा बालेनः मौन तर शक्तिशाली सन्देशका साथ खुवालुङसम्मको यात्रा
विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूवमेयर बालेन्द्र साह (बालेन) पूर्वी नेपालको दौडाहामा व्यस्त देखिएका छन्। मोरङ, सुनसरी र उदयपुर समेटेर आयोजना गरिएको एकदिने दौडाहामा बालेनले बुधबार स्थानीय तहका कार्यकर्ता, समर्थक र उम्मेदवारसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक सन्देशलाई मौन तर सशक्त रूपमा प्रवाहित गरेका छन्। मोरङको उर्लाबारीबाट बुधबार बिहान सुरु भएको दौडाहा पथरीशनिश्चरे, लेटाङ, रंगेली हुँदै विराटनगरसम्म पुगेको थियो। रंगेलीबाट विराटनगर प्रवेश गरेका बालेन पार्टी कार्यकर्ता र समर्थकसँग गाडीबाट हात हल्लाउँदै र घण्टी बजाउँदै सुनसरीतर्फ अघि बढे। विराटनगरमा लामो समय नरहेका उनी सुनसरी हुँदै उदयपुर पुगे।
उर्लाबारीमा आयोजित भेटघाट कार्यक्रममा बालेनले सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई विकासको आधारका रूपमा अघि राखेका थिए। उनले राज्य संयन्त्रभित्र व्याप्त बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावप्रति कडा टिप्पणी गर्दै नागरिक स्वयं सचेत नभएसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे। उनका अनुसार स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुन्छ।
इटहरीमा आयोजित स्वागत समारोहमा भने अप्रत्याशित दृश्य देखियो। आफ्नै पार्टीका उम्मेदवार लालविक्रम थापाले बालेनलाई माला लगाइदिने प्रयास गर्दा बालेनले त्यसलाई हातले हुत्याए। थापा रास्वपाबाट सुनसरी-२ का उम्मेदवार हुन्। यो घटनाले उपस्थित कार्यकर्ता र नेताहरूलाई चकित बनायो र स्थानीय राजनीतिक वृत्तमा चर्चा बटुल्यो। बालेनको दौडाहा पार्टी संगठन सुदृढीकरण, मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार, स्थानीय राजनीतिक अवस्था मूल्यांकन र आगामी निर्वाचनको तयारीमा केन्द्रित छ। उनी प्रायः मौन रहन्छन्। तर, उनको व्यवहारिक र नागरिक केन्द्रित दृष्टिकोणले परम्परागत राजनीतिमा नयाँ बहस सुरु गरेको छ।
विशेषगरी बुधबार बालेन ‘खुवालुङ’ पुगेका थिए। त्यही खुवालुङलाई विकासको लागि बाधक बनेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा फुटाउने अभिव्यक्ति दिएका थिए। तर, विरोध सुरु भएपछि खुवालुङ फुटाइएन। बालेनले खुवालुङलाई किराँती र नेपाली समुदायको पवित्र स्थल र सभ्यताको प्रतीकको रूपमा प्रस्तुत गर्दै सांस्कृतिक-आध्यात्मिक मूल्यलाई जोड दिए। राजनीतिक विश्लेषकहरूले यसलाई बालेनको ‘सांस्कृतिक प्रहार’ र पूर्वी नेपालको भावनात्मक मनोविज्ञान बुझ्ने रणनीति रूपमा व्याख्या गरेका छन्।
उनको दौडाहा धार्मिक र सांस्कृतिक तीर्थस्थलहरूमा समेत केन्द्रित छ। ताप्लेजुङको पाथीभरा मन्दिरदेखि तेह्रथुमका स्थानीय मन्दिर, झापाको दुर्गा मन्दिर र सुनसरीको बराहक्षेत्रसम्म पुग्दा बालेनले आफूलाई ‘आधुनिक तर आध्यात्मिक’ नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। राजनीतिक विश्लेषक गिरिश भट्टराईका अनुसार यो बालेनको ‘सेन्टिमेन्टल मार्केटिङ’ हो, जसले युवासँगै परिपक्व मतदातालाई पनि आकर्षित गर्ने रणनीति हो।
रास्वपाका नेता गणेश कार्कीका अनुसार बालेन मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने बाध्यता र छोटो उपस्थितिका कारण द्रुत गतिमा दौडिएका छन्। उनको संक्षिप्त उपस्थितिले पनि मतदातामा कौतूहल र उत्साह उत्पन्न गरेको छ। झापा-५ मा ओलीको वाक्पटुता र बालेनको सांकेतिक शैलीबीच रोचक द्वन्द्व बनेको छ। आगामी निर्वाचनमा झापा-५ मा ओली र बालेन प्रतिस्पर्धामा उत्रिएपछि सर्वत्र चासो बढेको छ।
बालेनको चुनावी शैली भाषणमा केन्द्रित छैन। उपत्यकाबाहिर पुगेर मतदातासँग प्रत्यक्ष जोडिनुले रास्वपाका उम्मेदवारहरूको आत्मविश्वास बढाएको छ। राजनीतिशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलका अनुसार बालेनले सेल्फी र भेटघाटमार्फत नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गरिरहेका छन्। यसअघि पूर्वी नेपालको दौडाहापछि बालेन माघ १० गते काठमाडौं फर्किएका थिए। सोमबार साँझ झापा झरेका उनी फेरि मतदाता र कार्यकर्तासँग प्रत्यक्ष संवादका लागि पूर्वी नेपाल भ्रमणमा जुटेका छन्। यसअघि मधेश प्रदेशको राजधानी जनकपुरबाट यात्रा सुरु गरेर इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटासम्म पुगेका उनले ‘धेरै नबोल्ने तर धेरै भेट्ने’ रणनीति अपनाएका छन्।
बालेनको मौन, तर सन्देशमूलक राजनीतिक शैली, धार्मिक–सांस्कृतिक स्थलको भ्रमण, र प्रत्यक्ष भेटघाटले पूर्वी नेपालको चुनावी वातावरणमा उत्साह र राजनीतिक चर्चा उत्पन्न गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनले बालेनको यो ‘साइलेन्स’ र सांकेतिक रणनीतिको प्रभाव देखाउने निश्चित छ।
प्रतिक्रिया दिनुहोस !