प्रतिनिधिसभा सदस्य निर्वाचन : नवलपरासीमा कांग्रेस नै ‘मुख्य प्रतिस्पर्धी शक्ति’

प्रतिनिधिसभा सदस्य निर्वाचन : नवलपरासीमा कांग्रेस नै ‘मुख्य प्रतिस्पर्धी शक्ति’

परासी : बहुदलीय व्यवस्था पुनःस्थापनापछि नवलपरासीमा बितेको ३५ वर्षको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेस सधैं अन्य दलको मुख्य प्रतिस्पर्धीको रुपमा रहँदै आएको छ । २०४८ देखि २०७९ सालसम्म सम्पन्न सातवटा संसदीय तथा संविधान सभा निर्वाचनमा कांग्रेसलाई केन्द्रमा राखेर अन्य दलहरूले आफ्नो चुनावी रणनीति बनाउँदै आएका छन् । यही क्रममा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आठौं हो । 

साविकको नवलपरासी होस् वा हालको पश्चिम नवलपरासी सधैं कांग्रेस नै प्रमुख प्रतिस्पर्धी शक्तिका रुपमा रहँदै आएको चुनावी परिणामले देखाएको छ । आसन्न आसन्न निर्वाचनमा पनि अन्य दल र उम्मेदवारले कांग्रेसलाई नै लक्ष्य बनाएर चुनावी तयारी गरिरहेका छन्।

जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । यसपटक नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी(नेकपा),जसपालगायतका प्रमुख दलसहित नयाँ दल तथा स्वतन्त्र उम्मदेवार गरी विभिन्न राजनीतिक शक्तिहरू चुनावी मैदानमा छन् । यसपाली पनि सबै दलले कांग्रेसलाई प्रमुख प्रतिस्पर्धीका रुपमा लिँदै चुनावी रणनीति बनाएका छन्।

क्षेत्र नम्बर १ र २ मा नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट उम्मेदवार बनेका दुई नेताहरूले कांग्रेसको मत काट्ने आकल गरिए पनि त्यो सहज नभएको मतदाताहरूको बुझाइ छ ।

कांग्रेसभित्र विगतमा देखिँदै आएको अन्तरघात दोहोरिने हो कि भन्ने संशय कामयै रहे पनि अन्तिम समयमा पार्टीका कार्यकर्ता एकतावद्ध हुने र पार्टी छाडेका उम्मेदवारले अपेक्षित मत काट्न नसक्ने चर्चा समेत चल्न थालेको छ । 

विगतका सबै निर्वाचनमा पराजित भएका क्षेत्रमा समेत कांग्रेस सधैं दोस्रो स्थानमा रहँदै आएको छ । यी सबै नतिजाले नवलपरासीको चुनावी राजनीतिमा दल फेरिए,गठबन्धन बदलिए तर कांग्रेस सधैं केन्द्रमा रहँदै आएको छ ।

२०४८ को निर्वाचन

बहुदलीय व्यवस्था पुनः स्थापनापछि २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसताका साविक नवलपरासीमा चारवटा निर्वाचन क्षेत्र रहेका थिए । जसमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सूर्यभक्त अधिकारी,२ बाट एमालेका मझिलाल थारु थनेत,३ बाट तत्कालीन नेपाल सद्भावना पार्टीका हृदयेश त्रिपाठी र क्षेत्र नम्बर ४ बाट नेपाल सद्भावनाकै त्रियुगी नारायण चौधरी निर्वाचित भए । त्यसबेला परासी क्षेत्र ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा रहेको थियो । जसमा क्षेत्र नम्बर ३ बाट हृदयेश त्रिपाठीले चुनाव जित्दा नेपाली कांग्रेसका नन्दलाल मिश्रा पराजित भए । क्षेत्र नम्बर ४ बाट त्रियुगी नारायणले चुनाव जित्दा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले दोस्रो स्थानसहित पराजित हुनुपर्‍यो ।  

२०५१ को निर्वाचन

२०५१ सालमा भएको निर्वाचनमा पनि साविक नवलपरासीमा चार निर्वाचन क्षेत्र थिए । जसमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका दामोदर बस्ताकोटी, २ बाट एमालेका मझिलाल थारु थनेत, ३ बाट नेपाल सद्भावना पार्टीबाट हृदयेश त्रिपाठी र क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भए । त्यसताका परासी क्षेत्रको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल सद्भावना पार्टीबाटै अघिल्लो निर्वाचनमा निर्वाचित त्रियुगी नारायण चौधरी कांग्रेसबाट उम्मेदवार बनेका थिए ।  हृदयेश त्रिपाठीसँग चौधरी झन्डै २ हजार मतले पराजित भए । यस्तै क्षेत्र नम्बर ४ बाट नेपाल सद्भावना पार्टीका दुर्गाप्रसाद चौधरीलाई कांग्रेसका कँडेलले झन्डै ४ हजार मतले पराजित गरेर निर्वाचित भए ।   

२०५६ को निर्वाचन 

२०५६ सालमा पनि साविक नवलपरासीमा चार निर्वाचन क्षेत्र कायम थियो । जसमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी र क्षेत्र नम्बर २ बाट एमालेका चन्द्रमणि खराल निर्वाचित भए । परासी क्षेत्रको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका त्रियुगी नारायण चौधरीलाई नेपाल सद्भावना पार्टीका हृदयेश त्रिपाठीले झन्डै ८ सय मतले पराजित गर्दै निर्वाचित भए । क्षेत्र नम्बर ४ बाट  नेपाल सद्भावना पार्टीका दुर्गाप्रसाद चौधरीलाई झन्डै १६ सय मतले पराजित गर्दै नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भए ।   

२०६४ को पहिलो संविधान सभा निर्वाचन

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा साविक जिल्लालाई ६ वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । जसअनुसार परासी क्षेत्रमा ३ वटा निर्वाचन क्षेत्र (केही क्षेत्र हालको पूर्वी नवलपरासी दुम्किवास) कायम थिए । क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई पराजित गर्दै माओवादीकी सीता बौडेल निर्वाचित भइन् । क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सञ्जय यादवलाई पराजित गर्दै माओवादीका चिनक कुर्मी निर्वाचित भए ।  त्यस्तै क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै तत्काली मधेसी जनाधिकार फोरमका रामबच्चन यादव निर्वाचित बन्न पुगे । क्षेत्र नम्बर ६ बाट तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) बाट उम्मेदवार रहेका हृदयेश त्रिपाठीले  नेपाली कांग्रेसका देवकरण कलवारलाई १८० मतले पराजित गर्दै निर्वाचित भए । 

२०७० को निर्वाचन 

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि नवलपरासी ६ वटा निर्वाचन क्षेत्र रहेको थियो । जसमा परासीतर्फको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई पराजित गर्दै एमालेका कृष्ण पौडेल निर्वाचित भए । क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै एमालेका बैजनाथ चौधरी निर्वाचित बन्न पुगे ।  क्षेत्र नम्बर ५ बाट एमालेका दीपेन्द्रकुमार अधिकारीलाई पराजित गर्दै नेपाली कांग्रेसका विक्रम खनाल निर्वाचित भए । क्षेत्र नम्बर ६ बाट तमलोपाका हृदयेश त्रिपाठीलाई ५ हजार बढी मतले पराजित नेपाली कांग्रेसका देवकरण कलवार निर्वाचित भए ।  

२०७४ को निर्वाचन

संविधान जारीसँगै नवलपरासी दुई जिल्लामा विभाजन भयो । पश्चिम नवलपरासी नामाकरण गर्दै जिल्लालाई दुई निर्वाचन क्षेत्र कायम गरियो । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र राजनीतिक समूह गठन गरेका हृदयेश त्रिपाठी एमालेको चुनाव चिन्हबाट निर्वाचन लडे । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका देवकरण कलवार उम्मेदवार रहेका थिए । त्रिपाठीले ५ हजार १ मतान्तरले कलवारलाई पराजित गर्दै निर्वाचित भए । क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भए । एमाले र माओवादी एकतापछि बनेको नेकपाबाट उम्मेदवार बनेका घनश्याम यादवलाई १० हजार २३२ मतले पराजित गर्दै कँडेल निर्वाचित भए । कँडेलले ३४ हजार १३० मत पाउँदा यादवले २३ हजार ८९८ मत पाएका थिए । तेस्रोमा राष्ट्रिय जनता पार्टी (राजपा)का गोबिन्दप्रसाद चौधरीले १६ हजार ९२८ मत पाएका थिए । 

२०७९ को निर्वाचन

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बिनोदकुमार चौधरी निर्वाचित भए । जनता प्रगतिशील पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठीलाई ३ हजार १९१ मतले पराजित गर्दै चौधरी निर्वाचित भएका थिए । चौधरीले २९ हजार ५१९ मत पाउँदा त्रिपाठी २२ हजार ३२८ मा सीमित भए । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाएका थिए । त्यस्तै क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भए । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजार १७० मतले पराजित गर्दै प्रधान निर्वाचित भएका थिए । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कँडेल १९ हजार ५९४ मा सीमित हुन पुगे तेस्रोमा एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ५०९ मत पाएका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.