प्रतिनिधिसभा सदस्य निर्वाचन : नवलपरासीमा कांग्रेस नै ‘मुख्य प्रतिस्पर्धी शक्ति’
परासी : बहुदलीय व्यवस्था पुनःस्थापनापछि नवलपरासीमा बितेको ३५ वर्षको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेस सधैं अन्य दलको मुख्य प्रतिस्पर्धीको रुपमा रहँदै आएको छ । २०४८ देखि २०७९ सालसम्म सम्पन्न सातवटा संसदीय तथा संविधान सभा निर्वाचनमा कांग्रेसलाई केन्द्रमा राखेर अन्य दलहरूले आफ्नो चुनावी रणनीति बनाउँदै आएका छन् । यही क्रममा आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आठौं हो ।
साविकको नवलपरासी होस् वा हालको पश्चिम नवलपरासी सधैं कांग्रेस नै प्रमुख प्रतिस्पर्धी शक्तिका रुपमा रहँदै आएको चुनावी परिणामले देखाएको छ । आसन्न आसन्न निर्वाचनमा पनि अन्य दल र उम्मेदवारले कांग्रेसलाई नै लक्ष्य बनाएर चुनावी तयारी गरिरहेका छन्।
जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । यसपटक नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी(नेकपा),जसपालगायतका प्रमुख दलसहित नयाँ दल तथा स्वतन्त्र उम्मदेवार गरी विभिन्न राजनीतिक शक्तिहरू चुनावी मैदानमा छन् । यसपाली पनि सबै दलले कांग्रेसलाई प्रमुख प्रतिस्पर्धीका रुपमा लिँदै चुनावी रणनीति बनाएका छन्।
क्षेत्र नम्बर १ र २ मा नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट उम्मेदवार बनेका दुई नेताहरूले कांग्रेसको मत काट्ने आकल गरिए पनि त्यो सहज नभएको मतदाताहरूको बुझाइ छ ।
कांग्रेसभित्र विगतमा देखिँदै आएको अन्तरघात दोहोरिने हो कि भन्ने संशय कामयै रहे पनि अन्तिम समयमा पार्टीका कार्यकर्ता एकतावद्ध हुने र पार्टी छाडेका उम्मेदवारले अपेक्षित मत काट्न नसक्ने चर्चा समेत चल्न थालेको छ ।
विगतका सबै निर्वाचनमा पराजित भएका क्षेत्रमा समेत कांग्रेस सधैं दोस्रो स्थानमा रहँदै आएको छ । यी सबै नतिजाले नवलपरासीको चुनावी राजनीतिमा दल फेरिए,गठबन्धन बदलिए तर कांग्रेस सधैं केन्द्रमा रहँदै आएको छ ।
२०४८ को निर्वाचन
बहुदलीय व्यवस्था पुनः स्थापनापछि २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसताका साविक नवलपरासीमा चारवटा निर्वाचन क्षेत्र रहेका थिए । जसमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सूर्यभक्त अधिकारी,२ बाट एमालेका मझिलाल थारु थनेत,३ बाट तत्कालीन नेपाल सद्भावना पार्टीका हृदयेश त्रिपाठी र क्षेत्र नम्बर ४ बाट नेपाल सद्भावनाकै त्रियुगी नारायण चौधरी निर्वाचित भए । त्यसबेला परासी क्षेत्र ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा रहेको थियो । जसमा क्षेत्र नम्बर ३ बाट हृदयेश त्रिपाठीले चुनाव जित्दा नेपाली कांग्रेसका नन्दलाल मिश्रा पराजित भए । क्षेत्र नम्बर ४ बाट त्रियुगी नारायणले चुनाव जित्दा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले दोस्रो स्थानसहित पराजित हुनुपर्यो ।
२०५१ को निर्वाचन
२०५१ सालमा भएको निर्वाचनमा पनि साविक नवलपरासीमा चार निर्वाचन क्षेत्र थिए । जसमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका दामोदर बस्ताकोटी, २ बाट एमालेका मझिलाल थारु थनेत, ३ बाट नेपाल सद्भावना पार्टीबाट हृदयेश त्रिपाठी र क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भए । त्यसताका परासी क्षेत्रको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल सद्भावना पार्टीबाटै अघिल्लो निर्वाचनमा निर्वाचित त्रियुगी नारायण चौधरी कांग्रेसबाट उम्मेदवार बनेका थिए । हृदयेश त्रिपाठीसँग चौधरी झन्डै २ हजार मतले पराजित भए । यस्तै क्षेत्र नम्बर ४ बाट नेपाल सद्भावना पार्टीका दुर्गाप्रसाद चौधरीलाई कांग्रेसका कँडेलले झन्डै ४ हजार मतले पराजित गरेर निर्वाचित भए ।
२०५६ को निर्वाचन
२०५६ सालमा पनि साविक नवलपरासीमा चार निर्वाचन क्षेत्र कायम थियो । जसमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी र क्षेत्र नम्बर २ बाट एमालेका चन्द्रमणि खराल निर्वाचित भए । परासी क्षेत्रको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका त्रियुगी नारायण चौधरीलाई नेपाल सद्भावना पार्टीका हृदयेश त्रिपाठीले झन्डै ८ सय मतले पराजित गर्दै निर्वाचित भए । क्षेत्र नम्बर ४ बाट नेपाल सद्भावना पार्टीका दुर्गाप्रसाद चौधरीलाई झन्डै १६ सय मतले पराजित गर्दै नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भए ।
२०६४ को पहिलो संविधान सभा निर्वाचन
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा साविक जिल्लालाई ६ वटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । जसअनुसार परासी क्षेत्रमा ३ वटा निर्वाचन क्षेत्र (केही क्षेत्र हालको पूर्वी नवलपरासी दुम्किवास) कायम थिए । क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई पराजित गर्दै माओवादीकी सीता बौडेल निर्वाचित भइन् । क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सञ्जय यादवलाई पराजित गर्दै माओवादीका चिनक कुर्मी निर्वाचित भए । त्यस्तै क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै तत्काली मधेसी जनाधिकार फोरमका रामबच्चन यादव निर्वाचित बन्न पुगे । क्षेत्र नम्बर ६ बाट तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) बाट उम्मेदवार रहेका हृदयेश त्रिपाठीले नेपाली कांग्रेसका देवकरण कलवारलाई १८० मतले पराजित गर्दै निर्वाचित भए ।
२०७० को निर्वाचन
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि नवलपरासी ६ वटा निर्वाचन क्षेत्र रहेको थियो । जसमा परासीतर्फको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई पराजित गर्दै एमालेका कृष्ण पौडेल निर्वाचित भए । क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै एमालेका बैजनाथ चौधरी निर्वाचित बन्न पुगे । क्षेत्र नम्बर ५ बाट एमालेका दीपेन्द्रकुमार अधिकारीलाई पराजित गर्दै नेपाली कांग्रेसका विक्रम खनाल निर्वाचित भए । क्षेत्र नम्बर ६ बाट तमलोपाका हृदयेश त्रिपाठीलाई ५ हजार बढी मतले पराजित नेपाली कांग्रेसका देवकरण कलवार निर्वाचित भए ।
२०७४ को निर्वाचन
संविधान जारीसँगै नवलपरासी दुई जिल्लामा विभाजन भयो । पश्चिम नवलपरासी नामाकरण गर्दै जिल्लालाई दुई निर्वाचन क्षेत्र कायम गरियो । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र राजनीतिक समूह गठन गरेका हृदयेश त्रिपाठी एमालेको चुनाव चिन्हबाट निर्वाचन लडे । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका देवकरण कलवार उम्मेदवार रहेका थिए । त्रिपाठीले ५ हजार १ मतान्तरले कलवारलाई पराजित गर्दै निर्वाचित भए । क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल निर्वाचित भए । एमाले र माओवादी एकतापछि बनेको नेकपाबाट उम्मेदवार बनेका घनश्याम यादवलाई १० हजार २३२ मतले पराजित गर्दै कँडेल निर्वाचित भए । कँडेलले ३४ हजार १३० मत पाउँदा यादवले २३ हजार ८९८ मत पाएका थिए । तेस्रोमा राष्ट्रिय जनता पार्टी (राजपा)का गोबिन्दप्रसाद चौधरीले १६ हजार ९२८ मत पाएका थिए ।
२०७९ को निर्वाचन
२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बिनोदकुमार चौधरी निर्वाचित भए । जनता प्रगतिशील पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठीलाई ३ हजार १९१ मतले पराजित गर्दै चौधरी निर्वाचित भएका थिए । चौधरीले २९ हजार ५१९ मत पाउँदा त्रिपाठी २२ हजार ३२८ मा सीमित भए । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाएका थिए । त्यस्तै क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भए । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजार १७० मतले पराजित गर्दै प्रधान निर्वाचित भएका थिए । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कँडेल १९ हजार ५९४ मा सीमित हुन पुगे तेस्रोमा एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ५०९ मत पाएका थिए ।
प्रतिक्रिया दिनुहोस !