दुर्गमका मतदाताका पीडा भोट हाल्न ४ घण्टा पैदल
भोजपुर : भोजपुरको उत्तरी दोभाने भौगोलिक रूपमा जिल्लाकै विकट बस्तीमध्ये एक हो। सदा झैं यतिबेला पनि चुनाव मिति नजिकिँदै छ।
हरेक निर्वाचन नजिकिँदै जाँदा यहाँका मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्नै सास्ती खेप्नुपर्छ। साल्पासिलिछो गाउँपालिका–५, दोभाने चिलिमधापका पासाङ तामाङलाई मतदान भनेको उत्सव होइन, दिनभरको कठोर यात्रा जस्तै हो। उनको मतदान केन्द्र स्थानीय इन्द्रावती माध्यमिक विद्यालय, साल्पाफेदी दोभानेमा पर्छ। घरदेखि झन्डै सवा चार घण्टाको उकालोओरालो, खोलाखोल्सी पार गरेपछि मात्रै मतदान केन्द्र पुग्न सक्छन्। मतदान गरेर घर फर्किंदा साँझ परिसक्छ।
‘मतदाता त हो नि तर के गर्नु मताधिकार प्रयोग गर्नै पनि हैरान छ, घरदेखि दिनै माया मारेर धाउनुपर्छ’ पासाङ भन्छन्, ‘घरपायक स्थानमा मतदान केन्द्र नहुँदा हरेक चुनावमा दिनभरि सास्ती खेप्नुपर्छ। अधिकारभन्दा बढी भारी बाध्यता जस्तो भइसक्या छ, यो मतदान।’
पासाङ मात्र होइन, चिलिमधापका करिब डेढ दर्जन घरपरिवारका मतदाताको अवस्था उस्तै छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दुर्गम भेगका मतदाताले भोग्नुपरेको यो पीडा फेरि त्यही पुरानो अवस्थामा आएको हो।
साल्पासिलिछो गाउँपालिका–५ कै दोभाने ओखरबोटेका राजकुमार राईको समस्या पनि पासाङको भन्दा कम छैन। मतदान स्थल पुग्न उनलाई करिब पौने तीन घण्टा पैदल हिँड्नुपर्छ। ‘यहाँ भौगोलिक विकटता त छँदैछ, त्यसमा पनि सहज मतदान केन्द्रको व्यवस्था नहुँदा भोट हाल्न धाउनै गाह्रो हुन्छ,’ उनी सुनाउँछन्।
यस्तै, पूर्वी पौवादुङमा गाउँपालिका, ठुलोदुम्मा मात्ताङका ६७ वर्षीय मानप्रसाद राईलाई मतदान केन्द्र सूर्योदय माध्यमिक विद्यालय, फान्टाङथर्पुसम्म पुग्न झन्डै तीन घण्टा उकालो चढ्नुपर्छ। ‘बुढेसकालले छोइसक्यो तर भोट खसाल्न नजिक कहिल्यै ल्याइएन,’ उनी गुनासो गर्छन्, ‘ढाड दुख्ने गरी उकालो चढ्नुपर्ने बाध्यता अझै हटेको छैन।’
भोजपुरलगायत पहाडी तथा उच्च पहाडी भेगका विकट स्थानहरूमा सुलभ मतदना केन्द्र र स्थल नहुँदा नागरिकलाई समस्या हुने गरेको छ। विशेष गरी ती क्षेत्रका वृद्धावस्था नागरिकलाई मतदान स्थलसम्म पुग्नै हैरान हुनेगरेको छ।
मतदानकेन्द्र निर्धारणमा पुरानै परिपाटी दोहोरिँदा दुर्गम बस्तीका मतदाता सधैं मारमा परिरहेका छन्। कानुन व्यवसायी तीर्थकुमार राई भन्छन्, ‘पुराना स्थलगत विवरणकै आधारमा मतदान केन्द्र तोकिँदा वास्तविक भौगोलिक अवस्था बेवास्ता भएको छ। दुर्गम क्षेत्रमा मतदान केन्द्रको पुनरावलोकन अत्यावश्यक छ।’
यता जिल्ला प्रशासनले भने मतदाताको सहजताका लागि प्रयास भइरहेको बताएको छ। निर्वाचन अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार दुर्गम क्षेत्रको अनुगमन गरेर मतदान केन्द्र र स्थल निर्धारण गरिएको छ। उनका अनुसार भोजपुरमा यसपटक पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुरानै ९ स्थानीय तहका ८१ वडामा ८७ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएका छन्।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश नारायणप्रसाद दाहालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाई सकिएको जानकारी दिए। उनले भने, ‘सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली खटाइने तयारीमा छौं, मतदानलाई सहज र सुलभ बनाउनु नै हाम्रो पहिलो दायित्व हो’ तर, कागजमा देखिने व्यवस्था र दुर्गम बस्तीका मतदाताले भोग्ने यथार्थबीचको दूरी अझै घट्न सकेको छैन। लोकतन्त्रको मूल आधार मानिने मतदान अधिकार प्रयोग गर्न चार घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता अन्त्य नगरेसम्म ‘सहज निर्वाचन’ को दाबी खोक्रो नारा मात्र बन्ने स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !