सनम हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेलाई थप १० वर्ष कैद
विराटनगर : उर्लाबारीका सनम शाक्य हत्या तथा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई १० वर्ष कैद सजाय सुनाइएको छ । उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसला आंशिक रुपमा उल्टाउँदै गोरेलाई थप १० वर्ष जेल हुने फैसला गरेको हो । यसअघि जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गोरेलाई जन्मकैद (२० वर्ष)को सजाय सुनाएको थियो । उच्चले अपहरण तथा शरीर बन्धक मुद्दामा थप सजाय हुने फैसला गरेको हो ।
शाक्य हत्या र सुन तस्करीसँग जोडिएको मुद्दा मुलुककै आपराधिक र न्यायिक इतिहासमा सबैभन्दा चर्चित,जटिल र विवादास्पद मानिएको थियो । उच्च अदालतले मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा थप १० वर्ष कैद सजाय सुनाउँदै जिल्लाको फैसलामा संशोधन गरेको हो भने केही अभियुक्तको हकमा सजाय घटाइएको छ । अधिकांश अभियुक्तको हकमा भने जिल्ला अदालतको फैसला सदर भएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि नियमित सुनुवाइ गर्दै आइतबार राति अन्तिम फैसला सुनाएको हो । उच्च अदालतका उपरजिष्ट्रार सन्तोष पोखरेलका अनुसार यस मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीतर्फ ६ जनासहित दुवै पक्षबाट परेको पुनरावेदनलाई एकैसाथ लगाउमा राखेर मुद्दाको सुनुवाइ गरिएको थियो ।
उच्च अदालतले गोरेसहित लाक्पा शेर्पा र भविन राई भनिने भविन तामाङले दायर गरेको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको छ । उनीहरूलाई जिल्ला अदालत मोरङले सुनाएको सजाय यथावत् राखिएको छ । गोरेको हकमा मात्रै थप १० वर्ष कैद सुनाइएको हो । तर,कृष्ण भनिने नरेन्द्र कार्की, मोहन काफ्ले र भोजे मामा भनिने भोजराज भण्डारीको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालतले १०–१० वर्ष कैद सजाय मात्र कायम गरेको छ ।
यी तीनै जना गोरेका नजिकका सहयोगी तथा सवारी चालकसमेत हुन् । उनीहरू सनम शाक्यको शव २०७४ फागुन १९ गते विराटनगरबाट बरामद हुँदा पक्राउ परेका अभियुक्त हुन् । नेपाल सरकारको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले कर्तव्य ज्यान मुद्दाका मतियार ठहर भएका मदनप्रसाद घिमिरेको हकमा जिल्लाको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय सुनाएको छ । संगठित अपराध निवारण ऐन र भन्सार चोरी पैठारी तथा निकासीसम्बन्धी अभियोगमा भने उच्च अदालतले सबै प्रतिवादीको हकमा ‘दाबी नपुग्ने’ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरेको छ ।
यो मुद्दामा मूल र पूरक अभियोग गरी ७७ जनालाई प्रतिवादी बनाइएको थियो । पक्राउ परेका र अदालतमा स्वयं उपस्थित भएका ५६ जनाको हकमा जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश भरत लम्सालको इजलासले २०७८ असोज १९ गते पहिलोपटक फैसला सुनाएको थियो । बाँकी २१ जना फरार रहेकाले उनीहरूको मुद्दा मुल्तबीमा राखिएको थियो । पछि फरार अभियुक्तहरू विभिन्न समयमा अदालतमा उपस्थित भएपछि न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले मुल्तबी जगाएर २०८१ पुस २३ गते दोस्रोपटक मुद्दाको फैसला गरेको थियो ।
दोस्रो फैसलामा कालु, काले भनिने कृष्णगोपाल अग्रवाल,एमके मामा भनिने मोहनकुमार अग्रवाल, बाले भनिने सुनीलकुमार अग्रवाल, रमेश उप्रेती, प्रयास पराजुली, सन्दीप खड्का, अर्जुनप्रसाद पोखरेल र आरबी भनिने रक्षा भण्डारीले भन्सार ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गतको अभियोगबाट सफाइ पाएका थिए । यसै अभियोगबाट भविन राई भनिने भविन तामाङ पनि सफाइ पाए । तर, तामाङलाई कर्तव्य ज्यान मुद्दामा भने जिल्ला अदालतले दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । उनले सजाय फैसलाअघि नै भुक्तान गरिसकेका थिए ।
पहिलोपटक मुद्दाको फैसला हुँदा गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैद सजाय सुनाइएको थियो । त्यतिबेला भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको थियो । यी दुईबाहेक दोषी ठहर भएका अन्य अभियुक्तहरूले जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए । सरकारी वकिल कार्यालयले सफाइ पाएका अभियुक्तहरूको हकमा पुनरावेदन दायर गरेको थियो ।
यो प्रकरण २०७४ माघ ९ गते दुबईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएपछि सतहमा आएको हो । उक्त सुन निकाल्न दबाब दिँदै गोरेको समूहले सुनका भरिया रहेका उर्लाबारीका सनम शाक्यलाई अपहरण गरेको थियो । २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लगाएर यातना दिँदै सनमको हत्या गरिएको थियो । यातनाको भिडियो सार्वजनिक भएपछि देशभर आक्रोश र त्रास फैलिएको थियो ।
हत्या भएपछि सनमको शव धरानस्थित निर्वाणा कन्ट्री क्लबमा एक रात राखी विराटनगर ल्याइएको थियो । बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको थियो । शव विराटनगरबाटै बरामद भएको थियो । अनुसन्धानका क्रममा गोरेको योजनामा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म दुबईबाट नेपाल हुँदै भारततर्फ करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको थियो । यसमा ठूला व्यापारीको लगानी, संगठित समूहको संलग्नता र उच्च प्रहरी अधिकारीको संरक्षण रहेको दाबी गरिएको थियो ।
तर, तस्करी गरिएको भनिएको सुन हालसम्म बरामद हुन नसक्दा संगठित अपराध र भन्सारसम्बन्धी अभियोग कमजोर बन्न पुग्यो । यही कारण पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापामगर, विष्णुबहादुर खड्का, गोरेकी पत्नी नीरु भनिने नर्बदा खरेल, भुजुङ गुरुङ, डेबिट छिरिङ वाङ्गेल घले, हरिशरण खड्का, बेनु श्रेष्ठ, चेतन भनिने चेतनाथ भण्डारी, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ, आरके भनिने राजेन्द्रकुमार शाक्य, शैयद अकबर साह, तक्लु भनिने पुण्यप्रसाद लामा, एलबी भनिने लालबहादुर मगर, बाला दाइ भनिने बालकृष्ण खड्का, मोतीराम श्रेष्ठ, प्रमोदकुमार श्रेष्ठ, चाचा जी भनिने महावीरप्रसाद गोल्यान, विनोद अधिकारी, प्रभातकुमार अग्रवाल, विमल पोद्धार, आरडी राजु भनिने राजकुमार दारुका, डब्लु भनिने इम्तियाज उद्धिम, ठाकुरप्रसाद ढुंगाना, रोशन भनिने गुप्तलाल भुसाल, कपिलराज पुरी,बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अम्मरमान ढंगोल, राजन थापा, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, सम्वीरप्रसाद तोलांगे, हेमन्त गौतम र तुलाराम थारुले सफाइ पाए ।
देशको सुरक्षा संयन्त्र र राज्य क्षमतामाथि गम्भीर प्रश्न उठाएको यो प्रकरणमा उच्च अदालतको पछिल्लो फैसलाले केही कानुनी टुंगो लगाए पनि हराएको सुन अझै फेला परेको छैन । सुन नभेटिएकै कारण अधिकांश अभियुक्तले सफाइ पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस !