अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँबराबरको निक्षेप संकलनका लागि बोलकबोल गरेको छ। मौद्रिक व्यवस्थापन विभागमार्फत बैंकले माघ २५ गतेका लागि निक्षेप संकलन उपकरणको प्रयोग गरी बोलकबोल गरिएको हो।
केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन ४२ दिन अवधिका लागि हुनेछ। राष्ट्र बैंकले यसअघि माघ महिनामै करिब १ खर्ब १० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको (तरलता संकलन) थियो। पुसमा भने राष्ट्र बैंकले ऋणपत्र निष्कासन गरेकोे थियो।
बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस)मार्फत आइतबार दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको हो। निक्षेपको निष्कासन माघ २५ गते नै गरिएको छ। निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८२ चैत ८ गते तोकिएको छ। बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका दरले ३६ लटसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बहु–ब्याजदरमा समेत बोल गर्न सकिने व्यवस्था गरिएको छ।
- राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ ४२ दिनका लागि निक्षेप संकलन गरेको हो।
- केन्द्रीय बैंकले करिब ८ खर्ब ६१ अर्ब तरलता प्रशोचन गरिसकेको छ।
- बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने उल्लेख गरिएको छन्। संकलित निक्षेप रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा लिक्विडिटी रेसियोमा भने गणना हुने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नियमित रूपमा यस्ता निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। संरचनागत तरलताको ढाँचा पनि संरचनातात्मक रूपमा रहेको भएर तरलता प्रशोचनको उपकरण पनि संरचनागत ढाँचाको नै लिएको राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बताए। ‘मौद्रिक नीतिको ढाँचाले ब्याजदरलाई अपरेटिङ इन्स्ट्रमेन्टका रूपमा लिन्छ। राष्ट्र बैंकले सर्टटर्म इन्टरेस्ट रेट २.७५ भन्दा तल जान नदिने भनेर करिडोर तोकिएको छ। त्यो करिडर भित्र राख्नका लागि तरलताको प्रशोचन हुन्छ। त्यसलाई अलिक लामो समयका लागि तान्यो भने छोटो अवधिको ब्याजदरलाई तल जान दिँदैन भन्ने मान्यता हो,’ उनले अन्नपूर्णसँग भने।
लामो समयसम्म तरलता अधिक हुने अवस्था आउँदा लामो समयसम्मको उपकरण प्रयोग गरिँदै आएको केन्द्रीय बैंक बताउँछ। मौद्रिक नीतिले आन्तरिक उपकरणका रूपमा ब्याजदर सन्तुलनलाई केन्द्रमा राखेको हुन्छ।
माघ २४ गतेसम्मको राष्ट्र बैंकको तथ्यांक हेर्दा करिब ५५ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। बैंकहरूले नगद मौज्दात अनुपात (सिआरआर) छुट्टाएर र अनिवार्य मौज्दात घटाएपछि पनि अधिक भएको तरलता करिब ५५ अर्ब रुपैयाँ रहेको सूचना अधिकारी न्यौपाने बताउँछन्। बैंकको अनिवार्य मौज्दात (ओडीसीज) करिब २ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ।
अहिलेसम्म केन्द्रीय बैंकले करिब ८ खर्ब ६१ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ, यसमा निक्षेप संकलन बोलकबोलमार्फत् करिब ४ खर्ब ७४ अर्ब रुपैयाँ, राष्ट्र बैंकको ऋणपत्रबाट करिब २ खर्ब र १ खर्ब ८६ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ)मार्फत प्रशोचन गरिएको छ।
तरलता प्रवाह र प्रशोचन
नेपाल राष्ट्र बैंकले बजारको तरलता व्यवस्थापन गर्न नियमित रूपमा उपकरण प्रयोग गरिरहेको हुन्छ। नेपाल राष्ट्र बैंकद्वारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहका निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ। तरलता प्रशोचनको लागि भने रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ।
प्रतिक्रिया दिनुहोस !