निर्वाचन लक्षित सुरक्षा सक्रियता तीव्र, मतदानस्थलको नियमित अनुगमन

निर्वाचन लक्षित सुरक्षा सक्रियता तीव्र, मतदानस्थलको नियमित अनुगमन

विराटनगर :  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा सुरक्षा सक्रियता बढाइएको छ। मतदानस्थल तथा मतदान केन्द्रहरूको नियमित अनुगमनलाई पनि तीव्र बनाइएको छ।

निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको हो। मतदान मिति नजिकिँदै जाँदा मोरङका ३०६ मतदानस्थल र ८८८ मतदान केन्द्रमा संयुक्त स्थलगत अनुगमन भइरहेको छ।

सुरक्षा, प्रशासनिक समन्वय, आचारसंहिता कार्यान्वयन, पूर्वाधार सुदृढीकरण तथा मतदाता शिक्षालाई समानान्तर रूपमा अघि बढाइएको छ। मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाली सेनाका प्रमुख सेनानी अनिल बस्नेत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एसपी राजन शर्मा सहभागी संयुक्त टोलीले विभिन्न निर्वाचन क्षेत्रका मतदानस्थलको प्रत्यक्ष अनुगमन गरिरहेको छ।

एसपी कटवालका अनुसार अनुगमनका क्रममा अतिसंवेदनशील तथा संवेदनशील मतदान केन्द्रहरूको सुरक्षा अवस्था, भौतिक पूर्वाधार, पहुँचमार्ग, सञ्चार सुविधा, आकस्मिक अवस्थामा उद्धार तथा नियन्त्रणको तयारी र सुरक्षाकर्मी परिचालनको अवस्थाको विस्तृत मूल्यांकन भइरहेको छ।

विगतका निर्वाचन अनुभव, राजनीतिक गतिविधि, जनघनत्व, सामाजिक संरचना तथा भौगोलिक जटिलतालाई आधार मानेर मतदान केन्द्रहरूको वर्गीकरण गरिएको र सोहीअनुसार सुरक्षा रणनीति तयार गरिएको उनले बताए।

‘फागुन २१ नजिकिँदै जाँदा मोरङमा सुरक्षा, अनुगमन र व्यवस्थापनको तयारी बहुआयामिक रूपमा अघि बढेको छ,’ एसपी कटवालले भने, ‘निर्वाचनलाई विश्वसनीय र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिँदैछ।’

मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन्। पाँच क्षेत्रको पहिलो चरणको अनुगमन सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर १ अन्तर्गतका मतदान केन्द्रको अनुगमन जारी छ। उत्तरी मोरङका दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रका मतदान केन्द्रसम्म पुग्ने सडक अवस्था, मौसमको प्रभाव, सञ्चार पहुँच तथा आपत्कालीन अवस्थामा सुरक्षा संयन्त्रको प्रभावकारिता प्राथमिकताका साथ मूल्यांकन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कटेलका अनुसार मतदान अवधिभर सम्भावित भीड व्यवस्थापन, मतदान सामग्रीको सुरक्षित ढुवानी तथा भण्डारण, मतपेटिकाको सुरक्षा, संवेदनशील क्षेत्रमा निरन्तर गस्ती तथा आकस्मिक अवस्थाको व्यवस्थापनका लागि विस्तृत योजना तयार गरिएको छ। निर्वाचनको दिन द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा रहने र कुनै अप्रिय घटना भए तत्काल नियन्त्रण गरिने उनले बताए।

अनुगमनका क्रममा मतदान केन्द्रमा आवश्यक न्यूनतम पूर्वाधारको अवस्थासमेत परीक्षण गरिएको छ। सुरक्षित भवन, शौचालय, स्वच्छ खानेपानी, अपांगतामैत्री पहुँच, मतदान कक्षको गोपनीयता, सुरक्षाकर्मीको प्रभावकारी तैनाथी तथा भीड व्यवस्थापन तयारीजस्ता विषयमा विशेष ध्यान दिइएको छ। केही स्थानमा देखिएका साना कमजोरी सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रशासनले उच्च प्राथमिकतामा राखेको छ। आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि, सरकारी कर्मचारी र सुरक्षाकर्मी सबैलाई जिम्मेवार र सजग हुन आग्रह गरेका छन्।

आचारसंहिताविपरीत सार्वजनिक सम्पत्तिको दुरुपयोग, धार्मिक वा जातीय भावना भड्काउने अभिव्यक्ति, बालबालिकाको प्रयोग, सरकारी स्रोतसाधनको दुरुपयोग तथा अवैध प्रचार सामग्री प्रयोगजस्ता गतिविधिमा विशेष निगरानी बढाइएको छ। उल्लंघन भए तत्काल कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

सुरक्षा निकायले निर्वाचन अवधिभर मदिरा बिक्री वितरण नियन्त्रण, अवैध हतियार ओसारपसार रोकथाम, नगद वा अन्य प्रलोभन वितरण नियन्त्रण तथा अनधिकृत भेला–जुलुसमा निगरानी बढाएको जनाएको छ। भारतसँगको सीमावर्ती नाकामा संयुक्त गस्ती, चेकजाँच र खुफिया निगरानी कडा पारिएको छ। यता, निर्वाचन कार्यालयले मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखेको छ। मतपत्र प्रयोग विधि, मतदान कक्षभित्र पालना गर्नुपर्ने नियम, निषेधित सामग्री तथा मतदान प्रक्रियाबारे जानकारी स्थानीय तह, स्वयंसेवक र सञ्चार माध्यममार्फत प्रवाह भइरहेको छ।

अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि विशेष व्यवस्था मिलाइने तयारी गरिएको छ। आवश्यक परे सहयोगीको व्यवस्था तथा प्राथमिकताका आधारमा मतदान सुविधा प्रदान गरिनेछ। कोशी प्रदेशकै राजनीतिक रूपमा महत्वपूर्ण जिल्ला मोरङमा प्रतिस्पर्धा तीव्र रहेकाले सुरक्षा तथा प्रशासनिक तयारीमा कुनै कमजोरी हुन नदिने नीति लिइएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.